आठ पसलबाट ३० हजार मूल्यबराबरको प्लास्टिकजन्य फूलका माला र गुच्छा बरामद
पर्यटकीय सहर पोखरामा प्लास्टिकजन्य फूल–माला बिक्री गर्न निषेध गरिए पनि अटेर गर्ने पसललाई कारबाही सुरु गरिएको छ । पोखरा महानगरपालिकाले १२ साउन ०७९ मा राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि लागू हुने गरी प्लास्टिकजन्य फूल–माला, गुच्छाको उत्पादन, आयात र बिक्री–वितरणमा रोक लगाएको थियो । तैपनि, अटेर गर्ने बेच्ने पसलबाट मंगलबार फूल–माला जफत गरेको हो । ती पसल सञ्चालकलाई एक साताभित्र महानगरमा उपस्थित हुन भनिएको छ ।
उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा गएको अनुगमन टोलीले आठ पसलबाट ३० हजार मूल्यबराबरको फूल–माला जफत गरेको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कँडरियाले जानकारी दिए । तिहारमा प्लास्टिकका फूल–माला बढी आयात हुने र बिक्री–वितरण हुने गरेको भन्ने गुनासोपछि अनुगमन गरिएको सहकारी तथा उद्योग शाखा प्रमुख एवं अनुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए ।
अनुगमनका क्रममा पोखरा– ९ मा रहेका पुष्पराज फ्लावर एन्ड ब्याडिङ सप, सृष्टि फ्लावर, गढीमाई टेन्ट हाउस, पोखरा–४ मा रहेका एनएस फोटो फ्रेम एन्ड गिफ्ट कलेक्सन, गणेश पूजा सामग्री भण्डार, महाकाली पूजा सामग्री भण्डार र पोखरा– ८ मा रहेको एभरग्रिन फ्लावर सपबाट ३० हजार मूल्यबराबरको प्लास्टिकजन्य फूलका गुच्छा र माला जफत गरिएको कँडरियाले जानकारी दिए ।
आठौँ गोदावरी पुष्पमेला सुरु दुई करोड कारोबारको लक्ष्य
तिहार र छठ पर्वलाई लक्षित गर्दै पोखरामा सोमबारदेखि आठौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक पुष्पमेला ०८१ सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) जिल्ला समिति कास्कीको आयोजनामा सुरु भएको मेला १६ कात्तिकसम्म चल्नेछ ।
पोखरा प्रदर्शनी केन्द्रमा सुरु मेलाको उद्घाटन गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले गरिन् । ‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवद्र्धनमा गोदावारीको सान’ भन्ने नारासहित सुरु मेलामा २३ वटा प्रदर्शनी कक्ष रहेका छन् । २३ मध्ये व्यावसायिक २०, कृषि सामग्रीका दुई र सूचनामूलक एक स्टल रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल जिल्ला समिति कास्कीका अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए ।