यस वर्ष डेंगु संक्रमणबाट प्रभावित हुनेको संख्या २८ हजार नाघेको छ । मंगलबारसम्म देशभर २८ हजार २१२ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । जसमध्ये आधा प्रभावित गण्डकी प्रदेशमा मात्र छन् ।
डा. शेरबहादुर पुन (वरिष्ठ सरुवारोग विशेषज्ञ)
अस्पतालमा समेत डेंगुको उपचार पारासिटामोलको सेवन गरेर गर्ने भएकाले बिरामीले जाँच गर्दैनन् र लक्षण देखिएसमेत अस्पताल पुग्दैनन् । तर, दीर्घरोगी वा अन्य रोगले कमजोर भएका व्यक्तिमा यसले गम्भीर समस्या निम्त्याउन सक्छ । यस्तो अवस्थामा बिरामी अस्पताल ल्याउन निकै जरुरी हुन्छ ।
पछिल्लो १० महिनामा लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण भएकामध्ये १३ हजार ८९८ जना गण्डकी प्रदेशमा छन्, जुन कुल प्रभावितको ४९.२६ प्रतिशत हो । जसमध्ये सबैभन्दा बढी कास्कीमा सात हजार १६१, तनहुँमा दुई हजार २२६, पर्वतमा एक हजार ६७७, बागलुङमा ९५५ र गोरखामा ८२७ जनामा संक्रमण देखिएको छ । स्याङ्जामा ३८२, म्याग्दीमा ३३५, नवलपरासी पूर्वमा १८७, लमजुङमा १२७, मुस्ताङमा १६ र मनाङमा पाँचजनामा संक्रमण देखिएको छ ।
बागमती प्रदेशमा नौ हजार १३२ जना डेंगुबाट प्रभावित भएका छन् । उच्च संक्रमण देखिएका काठमाडौं, भक्तपुर र ललितपुरमा हालसम्मै संक्रमण फैलिइरहेको इडिसिडीले जनाएको छ । काठमाडौंमा चार हजार ३१३, ललितपुरमा एक हजार १११ र भक्तपुरमा ८२४ जनामा संक्रमण देखिएको छ ।
पोस्ट मनसुनमा संक्रमण झन् बढिरहेकाले लामखुट्टे हुर्किन नदिन सतर्कता अपनाउन इडिसिडीले आग्रह गर्दै आएको छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन र व्यक्तिगत सुरक्षाका उपाय अपनाउन सुझाव दिइएको छ ।
लामखुट्टे हुर्किन नदिन पानी जम्मा गरी राखिएका पानीको ट्यांकी, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घरवरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फालिएका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिनका भाँडा, प्लास्टिकजन्य वस्तु तथा पानी जम्न सक्ने अन्य भाँडा तथा साम्रगीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्नुपर्छ ।
पछिल्लो समय ज्वरोसहितका लक्षण देखिए पनि मेडिकलबाट सिटोमोल किनेर खाने, तर जाँच नगराउनेको संख्या अत्यधिक रहेकाले सजग रहन चिकित्सकहरूले सुझाएका छन् । खासगरी घरमै औषधि सेवन गरेर बस्दा स्वास्थ्य अवस्था गम्भीर हुँदै जाने जोखिम रहेकाले सकेसम्म डेंगुका लक्षण देखिएमा चिकित्सकको सल्लाह लिन वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । उनका अनुसार करिब २० प्रतिशतमा मात्रै सुरुमा लक्षण देखिने र लक्षण देखिएकामा समेत पारासिटामोलको सेवनबाट निको हुने गरेको छ । ‘अस्पतालमा समेत डेंगुको उपचार पारासिटामोलको सेवन गरेर गर्ने भएकाले बिरामीको जाँच गर्दैनन् र लक्षण देखिएमासमेत अस्पताल पुग्दैनन् । तर, दीर्घरोगी वा अन्य रोगले कमजोर भएका व्यक्तिमा यसले गम्भीर समस्या निम्त्याउन सक्छ । यस्तो अवस्थामा बिरामी अस्पताल ल्याउन निकै जरुरी हुन्छ,’ डा. पुनले भने ।
सामान्यतया एक्कासि उच्च ज्वरो आउने, आँखाको गेडी दुख्ने, ढाड–जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, शरीरमा रातोरातो बिमिरा देखापर्नेजस्ता लक्षण सामान्य हुन् । तर, अत्यधिक पेट दुख्ने, लगातार बान्ता आउनु, श्वास फेर्न गाह्रो हुनु, गिजा वा नाकबाट रगत बग्नु, थकान, बान्ता वा दिसामा रगत देखिनु, मुख सुक्खा हुनु, छालाको रङ पहेँलो हुनेजस्ता समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।