सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलीहरूको हत्या गरेदेखि मध्यपूर्वमा हिंसा फैलिरहेको छ । मध्यपूर्व इजरायल र इरानबिचको सर्वत्र युद्धबाट एक इन्च टाढा छ । इरानले समर्थन गरेको लेबनानी सशस्त्र लडाकु समूह हिजबुल्लाहले अक्टोबर १ मा इजरायलमा मिसाइलको वर्षा गरिदियो । यहुदी राज्यलाई तेहरानले खडा गरेको खतरा समाप्त हुने आशामा इजरायलले सम्भवतः इरानको औद्योगिक, सैन्य वा आणविक सुविधामा प्रहार गरेर बदला लिन सक्छ ।
इरान पक्कै पनि एक खतरा हो । इजरायल वा अमेरिकाले उसका विरुद्ध सावधानीपूर्वक बल प्रयोग गरेमा बुद्धिमानी हुनेछ । तर, इरानमाथिको एउटै निर्णायक आक्रमणले मध्यपूर्वलाई परिवर्तन गर्न सक्छ भन्ने धारणा कल्पना मात्र हो । इरानी शासनलाई घेराबन्दी गर्न दिगो प्रतिरोध र कूटनीति चाहिन्छ । दीर्घकालीन रूपमा इजरायलको सुरक्षा प्यालेस्टिनीहरूमाथिको दमन अन्त्य गर्नमा पनि भर पर्छ ।
इरानले इजरायलमा गरेको पछिल्लो प्रत्यक्ष आक्रमणमा दर्जनौँ ब्यालिस्टिक मिसाइल प्रयोग गरिएका थिए । अप्रिलमा गरिएको अघिल्लो हमलाविपरीत यसपटक इरानले सानो चेतावनी दियो । तर, पहिलेजस्तै इरानका अधिकांश प्रोजेक्टाइललाई आकाशमा रोकिएका थिए । तीन साताअघिसम्म हिजबुल्लाह यस क्षेत्रमा सबैभन्दा डरलाग्दो लडाकु समूह थियो । लेबनानलाई असफल राष्ट्रमा परिणत गर्न मद्दत गर्ने आतंकवादी संगठनका लागि कसैले आसु बगाउनुहुँदैन । विगत एक वर्षदेखि हिजबुल्लाहले इजरायलमा बमबारी गरेको छ । आक्रमणका कारण उत्तरी इजरायलबाट सर्वसाधारणलाई सुरक्षित क्षेत्रमा सर्न बाध्य पारेको छ ।
गाजामा गरेको आक्रमणविपरीत इजरायलको प्रतिआक्रमण लामो र योजनाबद्ध छ । इजरायलले प्रविधि र वायुशक्तिको विनाशकारी प्रयोग गरेको छ । उसले हिजबुल्लाह समूहका प्रमुख हसन नसरल्लाहलगायत मिलिसिया मारेको छ, लडाकुहरूलाई विस्फोटक पेजरद्वारा विकलांग बनाएको छ र समूहका एक लाख २० हजारभन्दा बढी मिसाइल र रकेटमध्ये आधालाई नष्ट गरेको छ । त्यस्तै, इजरायलले हमास समूहका प्रमुख नेताहरूको हत्या गरिदिएको छ ।
हिजबुल्लाहमा देखिएको यो दयनीय अवस्थाले उसको प्रायोजकका लागि विश्वासको संकट खडा गरेको छ । इरानले तीन दशकदेखि इजरायल, अरब राष्ट्र र पश्चिमलाई आणविक बमको धम्की दिने र हमास, हिजबुल्लाह र हुथीलगायतका मिलिसियाको सञ्जाल ‘प्रतिरोधको अक्ष’लाई संगठित गर्ने प्रयास गरेको छ । इरानको शासन आफ्ना साझेधारहरूलाई मद्दत गर्न र सायद आफ्नो रक्षा गर्न निकै कमजोर देखिन्छ । इजरायलको वायु रक्षासँग इरानको ब्यालिस्टिक मिसाइल पनि प्रतिस्पर्धामा रहन सक्दैन ।
इजरायलका लागि अहिलेको खतरा भनेको उसको आफ्नै अहंकार हो । लेबनानमा अहिले प्रमुख स्थानमा इजरायलले हमला गरेको छ । तर, इजरायली कदममा परिवर्तन हुन सक्छ । सीमितस्थल सेनाको घुसपैठ कुनै पनि वेला पूर्ण आक्रमणमा परिणत हुन सक्छ । यस्तै, गल्ती इजरायलले सन् १९८२ र फेरि सन् २००६ मा गरेको थियो । इरानविरुद्ध इजरायलको आसन्न प्रतिशोधले अझ ठुलो जोखिम खडा गर्छ । इजरायलको एउटा विकल्प भनेको इरानको तेल निर्यात केन्द्र ध्वस्त पार्नु, देशको आर्थिक तथा वित्तीय क्षेत्रलाई कष्टप्रद बनाउनु र ऊर्जा बजारमा कम्पन ल्याउनु हो । अर्को भनेको तेहरानको आणविक केन्द्र आक्रमण गर्नु हो । इजरायलका केही समूह भने आणविक आक्रमणका लागि अहिले उपर्यक्त अवसर देख्छन् । हिजबुल्लाहमार्फत इजरायलमा आक्रमण गर्ने इरानको क्षमता अहिले भने कुण्ठित बनेको छ । तर, आगामी दुई वर्षमा उसको पहिलो आणविक हतियार निर्माण गर्न र प्रतिरोध पुनस्र्थापना गर्न उसलाई प्रोत्साहन मिलेको छ । इजरायलको सत्तारूढ गठबन्धन र प्रधानमन्त्री बेन्जामिन नेतान्याहु इरानमा एकल, विनाशकारी आक्रमणले निकट भविष्यमा इजरायलको सुरक्षामा देखिने ठुलो जोखिम समाप्त गर्न सक्छ भन्ने सपना देख्छन् । यो दृश्य आकर्षक तर खतरनाक छ ।
यो सत्य हो कि पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आणविक कार्यक्रमलाई रोक्ने सम्झौता त्यागेपछि इरानको व्यवहार झनै खराब देखिन्छ । विगत एक वर्षमा इरानले युरेनियम संवद्र्धनको गति बढाएको छ, हुथीहरूलाई सशस्त्र बनाएको छ, सयौँ असन्तुष्टहरूलाई देशभित्रै मारेको छ र रुसलाई युक्रेनीहरूलाई मार्न मद्दत गर्न ठुलो संख्यामा ड्रोन आपूर्ति गरेको छ । इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियान कथित सुधारक देखिए पनि उनी वास्तवमा रूढीवादीका बन्धक हुन् ।
यद्यपि, ती सबैका लागि इरान अप्रत्याशित छ । इरानले जुनसुकै वेला जस्तोसुकै निर्णय लिन्छ । तेहरानले ८५ वर्षीय सर्वोच्च नेता अली खामेनीको मृत्यु हुँदा आर्थिक क्षय र उत्तराधिकार प्रक्रियामा संकटको सामना गरेको छ । यसको आणविक क्षेत्रहरूमा एकपटकको आक्रमणले इरानी शासनलाई अस्थिर बनाउन सक्छ । तर, आक्रमणले इरानी सुविधा नष्ट नगर्न सक्छ र रुसी सहयोगमा कट्टरपन्थीहरूलाई प्रोत्साहित गर्न सक्छ ।
इरानलाई रोक्नका लागि अझ प्रभावकारी तरिका देखिन्छ । अमेरिकी समर्थनमा रहेको इजरायलले वर्षौँसम्म इरानको आणविक क्षेत्रमा बारम्बार सैन्य हमला गर्ने विश्वासयोग्य धम्की दिनुपर्छ ताकि उसले बम प्राप्त गर्न नसकोस् । यदि इरानले आफ्नो छद्म लडाकुहरूलाई पुनः हतियार दिन खोजेमा अमेरिका र उसका साझेदारहरूले तेहरानको तेल निर्यातमा कडा प्रतिबन्ध लगाउन सक्छ । थप रूपमा इरानका सुधारकलाई मद्दत गर्न प्रोत्साहन गर्नुपर्छ । यदि इरानले आणविक हतियारको मोह त्याग्छ र आफ्ना छद्म लडाकु र रुसलाई हतियार दिँदैन भने ऊमाथि लाग्दै आएका प्रतिबन्धलाई खुकुलो पारेर उसलाई एकप्रकारको राहत प्रदान गर्न सकिन्छ भनेर कूटनीतिज्ञहरूले तेहरानलाई विश्वस्त पार्नुपर्छ ।
राष्ट्रपति जो बाइडेनले इरानको आणविक क्षेत्रमा हतारमा आक्रमणलाई समर्थन नगर्ने संकेत दिए पनि ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएमा उनले अझ डरलाग्दो दृष्टिकोणलाई समर्थन गर्ने नेतन्याहु आशा गर्न सक्छन् । तथापि, इजरायललाई चाहिएको भनेको अमेरिकाबाट दीर्घकालीन द्विपक्षीय समर्थन र सल्लाह हो । अमेरिकी समर्थन र इजरायली संयम इजरायलको अन्य ठुला सुरक्षा समस्याको सामना गर्न पनि महŒवपूर्ण हुनेछ ।
नेतन्याहु र उनका कट्टरपन्थी इजरायली र विश्वले इरानलाई मात्र हेर्न चाहन्छन्, तर त्यही इजरायलले हमला गरेको गाजा, हमास र वेस्ट बैंकमा तुलनात्मक रूपमा थोरै चासो देखाउँछन् ।
शान्तिको साँघुरो मार्ग : तैपनि, इरान प्रत्याक्रमणका दिनमा मिसाइलभन्दा तेल अभिवमा बन्दुक र चक्कु आक्रमणबाट धेरै इजरायलीको मृत्यु भयो । युद्धको एक वर्षमा इजरायतर्फ ठुलो क्षति हमासका घरेलु हत्याराबाट भएको छ । ४० हजारभन्दा बढी गाजावासीको मृत्युपछिको कहिल्यै अन्त्य नहुने दमनले विद्रोहीको नयाँ पुस्तालाई जन्म दिनेछ । इजरायलमा आप्रवासीको आन्दोलन र यसको विषाक्त राजनीतिले देशको उच्च प्रविधियुक्त अर्थतन्त्रलाई कमजोर बनाउने जोखिम छ ।
साउदी अरेबियासँगको कुनै पनि सम्बन्ध (जसले इरानलाई नियन्त्रण गर्न मद्दत गर्न सक्छ) प्यालेस्टिनीहरूलाई राम्रोसँग व्यवहार गर्नमा निर्भर गर्दछ । यसको विपरीत अनन्त अतिक्रमणले इजरायली समाजलाई कुण्ठित गर्ने मानव अधिकार उल्लंघन गर्ने र सम्भवतः अमेरिकासँगको गठबन्धन टुट्न सक्छ । मध्यपूर्वमा युद्ध बढ्दै जाँदा इजरायल सरकारले आफूलाई फाइदा भएको विश्वास गर्छ । सायद यसले फाइदा लिन्छ पनि । तर, चुनौती भनेको सैन्य क्षमतालाई दिगो रणनीतिक लाभ र अन्ततः शान्तिमा रूपान्तरण गर्नु हो । त्योविना वर्षौँसम्म रगत बगिरहनेछ ।
– द इकोनोमिस्टबाट