मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Thursday, 19 December, 2024
२o८१ कार्तिक १० शनिबार o६:१o:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रोजगारीमा भारत जानेको लर्कोले रित्तिँदै बैतडीका गाउँ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार o६:१o:oo

दशरथचन्द नगरपालिका– ४ तिरगाउँका ३३ वर्षीय मनोज तिरुवा दक्ष कामदार हुन् । डकर्मी काम गर्दै आएका उनले प्रतिदिन खाना खाएर ११ सय रुपैयाँसम्म कमाउँथे । छरछिमेक र नजिकका बजारमा घर निर्माणदेखि काठ मिस्त्रीको काम गर्थे । मजदुरी गरेरै उनले सदरमुकामको चक्रपथमा चारकोठे पक्की घर बनाएका थिए । तर, अघिल्लो मंगलबार साँझ त्यही चारकोठे पक्की घरमा उनले ताला ठोके । श्रीमती र तीन छोरासहित झोलाभिम्टी बोकेर शाहिलेक बजार हिँडे । त्यहाँबाट गाडी चढेर तिरुवा परिवारले २४० किलोमिटर टाढा कञ्चनपुरको महेन्द्रनगरसम्मको रात्रिकालीन यात्रा तय गर्‍यो । रोजगारीका लागि हिँडेको यो परिवारले गड्डाचौकी नाका भएर ४२ घण्टासम्मको यात्रा गरी २ हजार २६० किलोमिटरको दूरी पार गरेर भारतको बेंंग्लोर पुग्नेछ ।

सदरमुकाम बैतडीबाट रोजगारीका लागि भारतको बेंग्लोर हिँड्ने मनोजको एक्लो परिवार मात्र होइन, छिमेकी मोते तिरुवा श्रीमती र एक छोरासहितै हिँडे । घरमा भएका गाईवस्तु सबै बेचेर चार कोठाको घरमा ताला ठोकेर मोते परिवारले पनि मनोजकै पाइला पछ्यायो । यो गाउँबाट सात परिवारका ३१ जनाले एकसाथ गाउँ छाडेको स्थानीय प्रेम बोगटीले जानकारी दिए । ‘एकाध घरमा अशक्त बुढापाकाबाहेक प्रायः सबैले घरमा ताला लगाएर थातथलो छोडे,’ उनले भने, ‘तिहारको मुखमा गाउँ छाडेर परदेश हिँड्नुपर्दा अधिकांश डाको छोडेर रुँदै बिदा भए ।’ 

सदरमुकामको तिरगाउँ मात्रै होइन, १२० किलोमिटर उत्तरपूर्वको पुरचौँडी नगरपालिका– ८ नयाँ बस्ती जोशीगाउँको अवस्था पनि उस्तै छ । ०६६ मा जोशीगाउँ माथिबाट पहिरो आएर बस्ती नै बगाएको थियो । त्यसपछि सार्वजनिक जमिनमा बस्दै आएका डेढ दर्जन परिवारमध्ये अधिकांशले आरनको काम गरेर जीविका चलाउँथे । कतिपयले गाउँघरमा काम गर्दा आएको ज्यालाबापतको अन्न तथा नगदले परिवार पाल्थे । स्थानीय ४९ वर्षीय केशव लुहारले जीवनका चार दशकभन्दा बढी समय गाउँमै बिताए । तर, पाँच वर्षअघि उनले स–परिवार गाउँ छाडे । ७० वर्ष टेक्न लागेकी आमासहित लुहारदम्पतीका दुई छोरा, दुई बुहारी र एक नाति तथा भाइ र उनका तीन छोराछोरी गरी १२ जनाको परिवार भारतको बैंंग्लोरतिर लाग्यो । ‘घरमा ताला लगाएर हिँडेका केशव त्यसपछि फर्किएका छैनन्,’ वडाध्यक्ष वीरबहादुर बोहराले भने, ‘चाडपर्वमा परिवारका एकाध सदस्य गाउँ आउँछन्, केही दिन बसेर फेरि उतै जान्छन् ।’ वीरबहादुरका सौतेनी आमा र भाइ दसैँमा घर आएको र लगत्तै फर्किएको उनले सुनाए । 

जोशीगाउँका ४२ वर्षीय प्रेम लुहार श्रीमती र तीन छोराछोरीसहित केशवसँगै बैंग्लोर गएका थिए । उनीहरू हाल उतै छन । जोशीगाउँ नयाँबस्तीका ११ परिवारका ६५ जना रोजगारीका लागि भारतको बैंंग्लोर सहरमा काम गर्न गएको वडाध्यक्ष बोहराले बताए । ‘अहिले आठ परिवारका केही सदस्य मात्र गाउँमा छन्, ११ परिवारका ६५ जना बैंंग्लोर गएका छन् । गाउँ नै रित्तिएको छ,’ उनले भने । 

कृषिमा नयाँ यन्त्र तथा उपकरण भित्रिएर आरनको आवश्यकता कम हुँदै गएर आम्दानी घट्दा दलित समुदायबाट परिवार नै भारत जाने गरेको स्थानीय बताउँछन् । दलित मात्र होइन, जिल्लाका हरेक गाउँबाट आफ्नो खेतबारी नभएका र दैनिक ज्यालादारीमा काम गरेर परिवार चलाउनेहरू प्रायः भारत पसेका छन् । ‘जसको जमिन छैन, उनीहरू घरै छाडेर सपरिवारै जाने गरेका छन्,’ दुई दशकदेखि गैरसरकारी क्षेत्रमा काम गर्दै आएका भरत विष्टले भने, ‘गाउँमा काम गर्न पनि पाइएन । निर्माणका काम ठप्प भएर रोजगारी छैन, भारत पस्नुको विकल्प नै छैन ।’ 

नेपालीको संख्या बढेपछि गुल्जार बन्दै भारतको बैंंग्लोर सहर
भारतको बैंंग्लोर सहरमा पारिवारिक वातावरणमा काम गर्न सजिलो हुने र हावापानी राम्रो भएकाले नोपली दक्ष कामदार लामो दूरी पार गरेर त्यहाँ पुग्ने गरेको देखिन्छ । बैंग्लोरमा मासिक ८–१० हजार भारुदेखि ३०–३५ हजारसम्म आम्दानी हुने पुरचौँडी नगरपालिका– २ का ध्वज धानुकले बताए । ‘श्रीमान्ले सेक्युरिटी गार्डको काम गर्ने, श्रीमतीले घरेलु कामदारका रूपमा काम गरेर छोराछोरी यतै पढाउने बढी छन्,’ प्रवासी नेपाली जनउत्थान समाज, भारत ट्रस्ट बैंंग्लोरका महासचिवसमेत रहेका धानुकले भने, ‘कतिपयले व्यापार, व्यवसायसमेत गरेर राम्रो कमाइ गरिरहेका छन् ।’ उनका अनुसार सुरक्षागार्ड, गाडी धुने, घरेलु कामदार, ट्राभल एजेन्सी, सुपर मार्केटलगायत ठाउँमा नेपालीहरूले रोजगारी पाउँदै आएका छन् । कतिपयले होटेल, रेस्टुरेन्टदेखि विभिन्न व्यवसाय सञ्चालन गरेर घरसमेत किनेका छन् ।

गाउँ छाड्नेमा युवादेखि सबै उमेर समूहका छन् । प्रवासमा गएर आकर्षक आम्दानी गर्ने, व्यवसाय गर्ने, संगठित हुने, उतै चाडपर्व मनाउनेलगायत क्रियाकलापमा नेपाली युवाहरू सक्रिय देखिन्छन् । पुरचौँडीका युवा धानुकको अगुवाइमा बैंंग्लोरमा करिब ५० जना मिलेर सहकारी संस्था खोलेका छन् । अहिले सहकारीमा २० लाख रुपैयाँ बचत गरेका छन् । सस्तो ब्याजमा ऋण दिने, बचत रकमको ब्याज दिने काम सहकारीले गर्दै आएको छ । 

प्रवासमा संगठित भएर काम गर्ने संस्थाहरूले समास्यामा परेकाहरूलाई सहयोग गर्ने, चाडपर्व मनाउने, सांस्कृतिक कार्यक्रम गर्नेजस्ता गतिविधि गर्दै आएको नेपाली जनउत्थान समाजका अध्यक्ष मनोज धामीले बताए । ‘कहिलेकाहीँ झै–झगडा हुन्छ, पुलिस केस पर्छ । यस्तो अवस्थामा हामीले सहयोग गर्छौँ,’ उनले भने, ‘पछिल्ला चार–पाँच वर्षमा ३०–३५ वटा यस्ता केसमा सहयोग गरिएको छ ।’ ८३ जना नेपाली युवा मिलेर गठन भएको यो संस्थाले गत ८ सेप्टेम्बरमा नेपाली कलाकार बोलाएर सांस्कृतिक कार्यक्रम गरेको थियो । जसमा तीन हजार नेपालीको उपस्थिति रहेको उनले बताए । बैंग्लोरमा नेपालीका थुप्रै संस्था रहेको उनको भनाइ छ । ‘चाडपर्वका वेला दिनमै पाँच–सातवटा कार्यक्रम हुन्छन् । सबैमा नेपाली समुदायको भिडभाड हुने गर्छ,’ धामीले भने । पछिल्लो समय काम गर्ने ठाउँमा चोरी गरेर भाग्ने घटना बढ्दै गएको र यसले अन्य नेपाली कामदारलाई पनि समस्या हुने गरेको उनको भनाइ छ ।