Skip This
श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता, भारतसँग सेमिफाइनल खेल्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ८ बिहीबार
  • Thursday, 24 October, 2024
२o८१ कार्तिक ८ बिहीबार १९:३५:oo
Read Time : > 1 मिनेट
खेलकुद

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता, भारतसँग सेमिफाइनल खेल्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ८ बिहीबार १९:३५:oo

समूह ‘बी’बाट विजेता बन्दै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  समूहको अन्तिम खेलमा श्रीलंकालाई ६–० ले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे । 

बिहीबार दशरथ रंगशालामा रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारी, अमिषा कार्की र रश्मीकुमारी घिसिङले समान एक गोल गरेका थिए । तीन खेलबाट समान सात अंक भए पनि भुटान गोलअन्तरमा उपविजेता बनेकाे छ ।

यसअघि नेपाल र भुटान पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ११–० ले हराएको थियो । अब, नेपालले सेमिफाइलनमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’बाट भारत उपविजेता र बंगलादेश विजेता भएका थिए । सेमिफाइनल आइतबार हुनेछ । प्रशिक्षक राजेन्द्र तामाङले तेस्रो खेलमा कप्तान अञ्जिला तुम्बप्पो सुब्बासहित अमृता जैसी, सावित्रा भण्डारीलाई पहिलो ११ मा खेलाएका थिए । तीनै खेलाडी दोस्रो खेलमा माल्दिभ्सविरुद्ध विश्राममा थिए । खेलको आठौँ मिनेटमा सविताले नेपाललाई अग्रता दिलाइन् । फ्रान्सबाट व्यावसायिक फुटबल खेलेर फर्किएकी सावित्रा भण्डारीले मिलाएको सुन्दर पासमा उनले गोल गरेकी हुन् ।  दोस्रो गोल १२औँ मिनेटमा सम्भव भयो । सावित्राले २५ यार्ड नजिकैबाट हानेको शक्तिशाली प्रहारले सीधै जाली चुमेको थियो । विमला विकले मिलाएको बलमा सावित्राले गोल गरेकी हुन् । उनी तीन दिनअघि मात्रै नेपाल आएर पहिलो खेल खेलेकी हुन् ।  यो साफमा उनको पहिलो गोल हो ।

खेलको १३औँ मिनेटमै रेखा पौडेलले तेस्रो गोल गरिन् । अमिषाको क्रसमा बक्सभित्र पुग्दै रेखाले भली गोल गरेकी हुन् । ३६औँ मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गरेकी हुन् । सावित्राले बक्सबाहिरबाट हानेको प्रहार रेखालाई लाग्दै गोल हुन पुगेपछि पहिलो हाफमै नेपालले ४–० को अग्रता बनायो । दोस्रो हाफमा भने नेपालले दुई गोल मात्रै गर्‍याे । ४७औँ मिनेटमा अमिषा कार्कीले हेडरमा पाँचौँ गोल गरिन् । खेलको इन्जुरी समयमा रश्मीकुमारी घिसिङले छैटौँ गोल गरिन् । उनले कर्नरमा हेडर गोल गरेकी हुन् ।