Skip This
सरकारको सय दिन भ्रष्टचारीको संरक्षण र सुशासनमाथि निरन्तर प्रहार गरेर बित्यो : माओवादी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ८ बिहीबार
  • Thursday, 24 October, 2024
२o८१ कार्तिक ८ बिहीबार २२:५७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

सरकारको सय दिन भ्रष्टचारीको संरक्षण र सुशासनमाथि निरन्तर प्रहार गरेर बित्यो : माओवादी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ८ बिहीबार २२:५७:oo

प्रमुख प्रतिपक्ष माओवादीले सरकारको सय दिन भ्रष्टचारीको संरक्षण र सुशासनमाथि निरन्तर प्रहार गरेर बितेको निष्कर्ष निकालेको छ । अपारदर्शी, अस्वाभाविक र रहस्यमय तरिकाले संवैधानिक मर्म, भावना र नैतिकताविपरीत बनेको कांग्रेस–एमाले गठबन्धन सरकारका कारण राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवाल झन्झन् गम्भीर र संवेदनशील भएको माओवादीको ठहर छ । 

‘सरकारका तर्फबाट भ्रष्टाचारीहरू जोगाउन तथा बिचौलियाहरूको पक्षमा एकपछि अर्को निर्णय गर्दै जाने घटनाक्रमको निरन्तरताले सरकारको उद्देश्य जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने नभई निहित स्वार्थ समूहको हित रक्षा गर्ने रहेको कुरा प्रस्ट भएको छ,’ बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने । 

सरकार गठन भएलगत्तै भुटानी शरणार्थी काण्ड र सुनकाण्डको छानबिन गरिरहेका प्रहरी अधिकारीलाई नियतवश सरुवा गर्ने, त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम प्रधानमन्त्रीको ठाडो निर्देशनमा प्रस्तुत गर्नबाट रोक्ने, २० अर्ब राजस्व तिर्न बाँकी रहेको निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनीको नवीकरण गर्ने, सामान्य जनताले मासिक विद्युत् महसुल तिर्न नसक्दा तुरुन्तै लाइन काटिने, तर करोडौँको विद्युत् महसुल नतिर्ने उद्योगहरूको बिजुली लाइन जोड्न प्रधानमन्त्रीबाटै ठाडो आदेश दिने, प्राधिकरणको नेतृत्व सम्हालेर नेपाल राज्यभर विद्युतीकरण गर्दै विदेशमा बिजुली बेच्ने अवस्थामा पु¥याउने विद्युत् प्राधिकरणको नेतृत्व फेर्ने षड्यन्त्रमा सरकार लागेको सापकोटाले बताए । 

सहकारी ठगीमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा दोहोरो मापदण्ड लागू गर्ने र भ्रष्टाचारमा मुछिएका आफ्ना नेताहरूलाई संरक्षण गर्ने, तर विपक्षीहरूलाई खोजीखोजी दण्डित गर्ने कार्यमा सरकार खुला रूपमा लागेको उनले बताए । सार्वजनिक ऋण बढेर २४ खर्ब ३४ अर्ब पुगेको, पछिल्लो तीन महिनामा मात्रै एक खर्ब चार अर्ब सार्वजनिक ऋण थुपारेको, ऋण उत्पादनमूलक क्षेत्रमा लाग्न नसकेको, बजेटमा उल्लेखित दीर्घकालीन प्रभाव पार्ने कतिपय कार्यक्रम प्रतिशोधका आधारमा रोकिएको सापकोटाले बताए । 

‘सय दिनमा यो सिलसिला कहाँसम्म पुग्यो भने विशेष अदालतबाट ललितानिवास जग्गा प्रकरणमा दोषी ठहर भएको र प्रधानमन्त्रीमातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरिरहेको व्यापारीबाट प्रधानमन्त्रीकै दलको भवन बनाउन अर्बौँको जग्गा सम्पूर्ण मूल्य–मान्यता लत्याएर कानुनको उपहास गर्दै चन्दा लिइएको छ,’ विज्ञप्तिमा भनिएको छ । यसअघि, एमालेलाई विवादित व्यवसायीले जग्गा दिन दिएको विषयमा विज्ञप्ति जारी गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले प्रतिवादीसँगको लेनदेनका कारण स्वार्थको द्वन्द हुन गई सुशासनमा गम्भीर असर पर्ने र भ्रष्टाचारको पक्षपोषण हुने उल्लेख गरेको थियो । अतिभारी वर्षाका कारणले देशमा ठूलो जनधनको क्षति हुँदासमेत सरकार कतै नदेखिएको तर, प्रधानमन्त्री केपी ओलीले अत्यन्तै असंवेदनशील र गैरजिम्मेवार अभिव्यक्ति दिएर जनताको चह¥याइरहेको घाउमा नुनचुक छर्कने काम गरेको सापकोटाले बताए । 

सरकार बेलगाम बनेकाले जनउत्तरदायी बनाउन प्रतिपक्षको हैसियतले खबरदारी गर्न आगामी शनिबार काठमाडौंमा खबरदारी सभाको तयारीमा माओवादी लागेको छ । ‘जिम्मेवार प्रतिपक्षको हैसियतले सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महसुस गर्दै हामीले खबरदारी सभाको आयोजना गरेका हौँ । हजारौँ नेपाल आमाका छोराछोरीले बलिदान गरेर प्राप्त गरेको उपलब्धि उल्ट्याउने कुचेष्टा सरकारले गरिरहेको छ । त्यसैले देशलाई प्रतिगमनबाट रोक्न, दुई दलीय तानासाहीकरणको प्रक्रियालाई रोक्न, देशमा व्याप्त बेथिति र कुशासन रोक्न तथा प्राप्त उपलब्धिको रक्षा गर्न यो खबरदारी सभाको ऐतिहासिक महŒव छ,’ माओवादीले भनेको छ ।