१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३ शनिबार
  • Saturday, 19 October, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ कार्तिक ३ शनिबार १८:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकले अब नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने

सवारी चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ कार्तिक ३ शनिबार १८:४४:oo

पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिटकाे व्यवस्था कार्यान्वयनमा ल्याइने

ट्राफिक नियम उल्लंघन गरेबापत सवारी चालकले अब ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लंघन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुँदै आएको झन्झट अब अन्त्य हुने विश्वास गरिएको छ । सवारी चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था समेत गरिएको छ । यसबाट सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ ।

प्रहरी नायब महानिरीक्षक बोहराका अनुसार पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा ल्याइनेछ । डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब सवारी चालकले चालक अनुमतिपत्र बोक्नु नपर्ने र ट्राफिक प्रहरीलाई नागरिक एपमार्फत चालक अनुमतिपत्र देखाउन सक्नेछन् । नागरिक एपमा चालक अनुमतिपत्र रहेको क्युआर कोड देखाउने व्यवस्था गरिएको छ ।

ट्राफिक प्रहरीले ‘इचलान डिजिटल’ एपमार्फत सडक नियम उल्लंघन गर्ने चालकको मोबाइलमा देखिने उक्त क्युआर कोड स्क्यान गरेर कारबाहीको विवरण प्रविष्ट गर्नेछन् । लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लंघन कोलममा कसुर र जरिवाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिवाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ । यसबाट सवारी चालकले तत्कालै ‘डिजिटल वालेट’मार्फत जरिवाना रकम भुक्तानी गर्न सक्नेछन् ।