१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३ शनिबार
  • Saturday, 19 October, 2024
फ्रन्ट पेज प्रिन्ट संस्करण

गुरुङ र पोखरेलपत्नीविरुद्ध कहिले हुन्छ पक्राउ पुर्जी जारी ?

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ३ शनिबार o६:२o:oo

- ललितपुरस्थित मितेरी सहकारीको झन्डै १५ करोड हिनामिनामा सत्तारूढ कांग्रेसका उपसभापति धनराज गुरुङ प्रत्यक्ष जोडिएका छन् । संसदीय छानबिन समितिले पनि दोषी ठहर गरेर कारबाही सिफारिस गरेको छ । तर, सरकारको प्रभावमा राज्यसंयन्त्रहरूले नै उनलाई संरक्षण गरिरहेका छन् । 

- मोरङको उमागौरी कृषि सहकारीको १४ करोड ५६ लाख हिनामिनामा मुछिएकी एमाले सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई पनि सरकारकै प्रभावमा उन्मुक्ति दिने गरी फाइल अगाडि बढाइएको छ । कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले अञ्जलाको नाम काटेर प्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेको छ, जब कि उनी ६ वर्ष सहकारीको सञ्चालक थिइन् । त्यस अवधिसहितको १० वर्षका कागजपत्र नै गायब पारिएका छन् । 

ललितपुरस्थित मितेरी सहकारीको झन्डै १५ करोड हिनामिना प्रकरणमा प्रत्यक्ष जोडिएका सत्तारूढ कांग्रेसका उपसभापति धनराज गुरुङ राजनीतिक पहुँचले जोगिँदै आएका छन् । सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले पनि उनलाई दोषी ठहर गर्दै कानुनी कारबाहीका लागि सिफारिस गरेको थियो । तर, अहिलेसम्म प्रहरीले उनलाई पक्राउ गरेको छैन । कांग्रेसकै गृहमन्त्री भएकाले राज्यसंयन्त्र उल्टै धनराजको संरक्षणमा लागेको छ । 

सहकारीको रकम हिनामिनाको अपराधबाट जोगिन धनराजले पत्नी ज्योति गुरुङसँग ‘कागजी सम्बन्धविच्छेद’ गरेर अर्को अपराध पनि गरेका थिए । जुन पुष्टि भइसकेको छ । 

२९ फागुन ०७६ मै सम्बन्धविच्छेद गरेको सार्वजनिक रूपमा स्पष्टीकरण दिँदै आएका उनले ३ फागुन ०७७ मा मितेरी सहकारीबाटै थप १२ लाख ऋण लिएका थिए, जसमा ज्योतिलाई ‘हकवाला’का रूपमा श्रीमती उल्लेख गर्दै ल्याप्चे लगाएका छन् । संसदीय छानबिन समितिसँगको बयानमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पनि उनीहरूको सम्बन्धविच्छेद ‘नाम मात्रको’ भएको बताएका छन् । 

धनराज र उनकी पत्नी ज्योतिसहित पाँचजनाले करिब १४ करोड ८१ लाख हिनामिना गरेको भन्दै सहकारीले बागमती प्रदेश सहकारी रजिस्ट्रार र प्रहरीमा पनि उजुरी दिएको थियो । तर, राजनीतिक दबाबमा रजिस्ट्रार कार्यालयले धनराजको नाम काटेर प्रहरीमा सिफारिस गरेको सहकारीका अध्यक्ष कुम्भराज गुरुङको भनाइ छ । प्रहरीले अहिले सहकारीबारे अनुसन्धान गरिरहेको जनाएको छ । तर, संसदीय छानबिन विषेश समितिले नै दोषी ठहर गरेका गुरुङलाई उन्मुक्ति दिने गरी काम भइरहेको स्रोतको दाबी छ । 

कांग्रेस उपसभापति धनराज गुरुङले पत्नी ज्योति गुरुङसँग २९ फागुन ०७६ मै सम्बन्धविच्छेद गरिसकेको दाबी गर्दै आएका छन् । तर, त्यसपछि पनि ज्योतिको दायित्वको भागसहितको मितेरी सहकारीको ऋण तिरेका छन् । कानुनमन्त्री रहेका वेला ०८१ मा धनराजले एकैपटक ८४ लाख ऋण तिरेका थिए । त्यसको केही समयअघि मात्रै न्यायाधीशहरूको नियुक्ति गरिएको थियो, जसमा ‘आर्थिक कारोबार’ भएको त्यतिवेला सार्वजनिक भएको थियो । यस विषयमा पनि धनराजमाथि छुट्टै छानबिन हुनुपर्ने संसदीय छानबिन समितिकै सदस्यहरूको भनाइ थियो । ‘सहकारीमा १४ करोड ८१ लाख अपचलन त छुट्टै भइहाल्यो । त्यसबाहेक धनराजजी र ज्योतिजीले व्यक्तिगत रूपमा पनि ऋण लिनुभएको छ । पछिल्लोपटक धनराजजीले मन्त्री भएका वेला एकैपटक ८४ लाख तिरेको, त्यसमा ज्योतिजीको दायित्वको भाग पनि तिरेको देखियो । डिभोर्स भएपछि त आर्थिक दायित्व रहँदैन नि त,’ मितेरी सहकारीको स्थलगत अध्ययनपछि छानबिन समितिका सदस्यहरूको भनाइ थियो, ‘मन्त्री भएका वेला त्यत्रो पैसा कहाँबाट आयो भन्ने पनि प्रश्न छ । अर्काे, ०७६ मा डिभोर्स भएको भन्नुभएको छ, ०७७ मा श्रीमतीलाई नै हकवाला राखेर लोन लिनुभएको छ । यसरी प्रशस्तै अन्तर्विरोध छन् ।’

त्यस्तै, एमाले सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला पनि मोरङको उमागौरी कृषि सहकारीको १४ करोड ५६ लाख हिनामिना प्रकरणमा प्रत्यक्ष मुछिएकी छिन् । सरकारकै दबाबमा उनलाई पनि उन्मुक्ति दिने गरी फाइल अगाडि बढाइएको छ । कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले अञ्जलाको नाम काटेर प्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेको छ, जब कि उनी ६ वर्ष सहकारीको सञ्चालक थिइन् । त्यस अवधिसहितको १० वर्षका कागजपत्र नै सहकारीबाट गायब पारिएका छन् । 

१८ करोड ५१ लाख कुल पुँजी रहेकोे यो सहकारीमा ऋणी र सञ्चालक सदस्यको जग्गाको कागजपत्र धितो राखेर सञ्चालकहरूले विभिन्न व्यावसायिक बैंकबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालेका छन् । सहकारीले बचतकर्ताको दुई करोड तीन लाख ५४ हजार पनि फिर्ता गर्न बाँकी छ । कतिपय ऋणीलाई बैंकबाट ऋण लिन लागेको थाहै नदिई झुक्याएर हस्ताक्षर र ल्याप्चे लगाइएको छ । बचत र ऋण हिनामिनाबारे पीडितहरूले प्रश्न उठाउन थालेपछि करिब डेढ वर्षदेखि सहकारीमा ताला लगाइएको छ । सहकारीमा करिब पाँच हजार सेयर सदस्य छन् ।

लेखा समिति सभापति पोखरेलकै अगुवाइमा ०६८ मा स्थापना गरिएको उमागौरी सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार हुन् । उनी एमालेनिकट मानिन्छन् । सहकारीका पीडितले अध्यक्ष, पदाधिकारी र सञ्चालक सदस्यविरुद्ध प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए, जसमा पोखरेलकी पत्नी अञ्जलाको नाम पनि किटान गरिएको थियो । तर, राजनीतिक पहुँचका आधारमा रजिस्ट्रारको कार्यालयले उनको नाम हटाएको छ । करिब डेढ वर्षअघि नै पीडितहरूले दिएको उजुरीमा रजिस्ट्रार कार्यालयले बेवास्ता गर्दै आएको थियो । मुद्दा चर्किंदै गएपछि गत २४ भदौमा मात्रै अञ्जलाको नाम काटेर अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीलाई पत्र पठाइएको छ । सहकारीमा रकम हिनामिना हुँदाको बखत ०७२ देखि ०७८ सम्म पोखरेलपत्नी अञ्जला सञ्चालक थिइन् । ०६८ देखि ०७८ सम्मका सहकारीका कागजपत्र सबै गायब पारिएका छन् ।