१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३ शनिबार
  • Saturday, 19 October, 2024
२o८१ कार्तिक ३ शनिबार १९:१८:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार

रुख भएको ठाउँ छाडेर कालोपत्रे

मदन भण्डारी राजमार्गमा पर्ने १३ हजार रुख वन विभागले नहटाउँदा ठेक्काको म्याद सकिँदा पनि सडक बन्न सकेन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ३ शनिबार १९:१८:oo

दसैँ मनाउन गृहजिल्ला झापा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले २३ असोजमा मदन भण्डारी राजमार्गको अनुगमनका क्रममा नयाँ पत्रिकाको प्रश्नमा आनाकानी गर्दै जवाफ दिए, ‘सडकमा पर्ने रुख हट्छ, बाटो बन्छ ।’ तर, मदन भण्डारी राजमार्गमा पर्ने रुख नहटेकै कारण ठेक्काको म्याद सकिँदा पनि सडक बन्न सकेको छैन । 
सरकारी निकायबिचकै समन्वय अभावले मदन भण्डारी राजमार्गमा पर्ने करिब १३ हजार रुख नहट्दा निर्माणको काम समयमा सकिएको छैन । विभिन्न सातवटा प्याकेजमा लगाइएको ठेक्काको म्याद सकिँदा पनि रुख हटाउन सरकारले चासो दिएको छैन । सरकारी बेवास्तापछि सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनीले रुख हटाउनका लागि थोरै खाली ठाउँ छाडेर सडक कालोपत्रे गर्न सुरु गरेको छ । 

मदन भण्डारी राजमार्गको पहिलो खण्ड सर्दु–भलुवा खोलाको २४.८ किलोमिटर सडक, दोस्रो खण्ड भलुवा–बेलडाँगीको २८ किलोमिटर सडक र मेचीडाँगी–शान्तिपुरको दश किलोमिटर सडक रुखकै कारण समयमा सकिएका छैनन् । ठेक्काको म्याद सकिएपछि पनि रुख नहटाएपछि निर्माण कम्पनीले रुखका लागि केही मिटर खाली ठाउँ छाडेर कालोपत्रे गर्न सुरु गरेको छ । ‘हामी सडकको म्यादभित्रै काम सक्थ्यौँ, तर रुखकै कारण सकेनौँ । अहिलेसम्म पर्खिएको हो । रुख नहटाएपछि रुखका लागि बिचमा २० मिटर छाडेर कालोपत्रे सुरु गरेका छौँ,’ सडकको तीन प्याकेजको ठेक्का पाएको श्रेष्ठ–मोतीदान जेभीका इन्जिनियर प्रह्लाद ढुंगानाले भने, ‘हामीलाई राज्यकै कारण घाटा लाग्यो । अब त्यो २० मिटरमा कालोपत्रे गर्न त्यति नै उपकरण लैजानुपर्छ । डबल खर्च हुन्छ ।’ 

श्रेष्ठ–मोतीदान जेभीका इन्जिनियर ढुंगानाका अनुसार केही ठाउँमा रुखै कारण २० मिटर ठाउँ छाडिएको छ । कतै सात किलोमिटरसम्म ठाउँ छाडेर कालोपत्रे गरिएको उनले बताए । ‘रुखकै कारण कल्भर्टसमेत बनाउन पाएका छैनौँ । अहिले नदीजन्य सामग्रीको स्टक प्रमाणित नहुँदा काम रोकिएको छ । स्टक प्रमाणित नभएसम्म पर्खिने हो,’ उनले भने, ‘त्यसवेलासम्म पनि नभए हामी यसरी नै रुख छाड्दै कालोपत्रे गर्छौँ । समयमा काम नसकिँदा हाम्रो खर्च बढिरहेको छ ।’ यी तीनवटै सडकको ठेक्काको म्याद गत वर्ष नै सकिएको छ । पहिलोपटक थपिएको म्याद पनि आउँदो पुस मसान्तमै सकिँदै छ । 

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका सूचना अधिकारी इन्जिनियर सुवास दत्तका अनुसार ठेक्का लागेको ९५.८ किलोमिटर सडकमध्ये सातवटा प्याकेजमा रुखकै कारण करिब २४ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । उनका अनुसार सात प्याकेजमा १३ हजारहाराहारी रुख कटान गर्नुपर्नेछ । ‘सुनसरी र मोरङ खण्डमा पर्ने रुख हटाउने प्रक्रिया अहिले मन्त्रालयमा पुगेको छ । अब मन्त्रालयले मन्त्रिपरिषद्मा लगेपछि रुख काट्ने निर्णय हुन्छ । झापा र इलाम खण्डको फाइल वन विभागमा छ । विभाग हुँदै मन्त्रालयबाट मन्त्रिपरिषद्मा जान्छ,’ उनले भने, ‘दसैँअघि भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल आएर अनुगमन गर्नु भएको छ । उहाँले वनको समस्यालाई नै प्राथमिकतामा राखेको बताउनुभएको थियो । समन्वय गरेर चाँडै मन्त्रिपरिषद्बाट निर्णय गर्ने भन्नुभएको छ । यसले केही आशा जगाएको छ ।’

कुन प्याकेजको अवस्था कस्तो ?
सुनसरीदेखि झापाको मेचीनगरस्थित पाटापुरसम्मको मदन भण्डारी राजमार्गअन्तर्गतको चुलाचुलीस्थित कमलखोलाबाट साहदतस्थल (सुखानी)सम्म डिपिआर ढिला हुँदा काम करिब ३२ किलोमिटर सडक ठेक्का लाग्न सकेको छैन । ९५.८ किलोमिटर सडक सातवटा प्याकेजमा ठेक्का लागेर धमाधम काम भइरहेको छ । 

सुनसरीको सर्दु–भलुवाको २४.८ किलोमिटर सडक ९३ करोड ३३ लाखमा ठेक्का लागेको हो । भलुवा–बेलडाँगीको २८ किलोमिटर सडक एक अर्ब चार करोडमा ठेक्का लागेको छ । यी दुवै खण्ड २९ असार ०७८ मा ठेक्का सम्झौता भएको थियो । दुवै ठेक्काको म्याद २८ पुस ०८० मै सकिएको हो । दुवै खण्डको म्याद २७ पुस ०८१ सम्म थपिएको छ । दुवै खण्डको काम करिब ७५ प्रतिशत सकिएको मदन भण्डारी सडक आयोजना कार्यालय दमकले जनाएको छ । 

यस्तै, मेचीडाँगी–शान्तिपुरको दश किलोमिटर सडक ३७ करोड ९५ लाखमा ठेक्का लागेको छ । यो ठेक्काको म्याद २८ असार ०८० मा सकिएको हो । यसको म्याद पनि आउँदो पुस मसान्तसम्म थपिएको छ । यसको पनि करिब ७५ प्रतिशत काम सकिएको मदन भण्डारी सडक आयोजना कार्यालय दमकले जनाएको छ । यी तीनवटै खण्ड श्रेष्ठ–मोतीदान जेभीले ठेक्का लिएको छ । सडकमा परेको रुख समयमा नहटाउँदा काम ढिला भएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका सूचना अधिकारी इन्जिनियर सुवास दत्तले जानकारी दिए । 

मेचीडाँगीदेखि पाटापुरसम्मको करिब तीन किलोमिटर सडक निर्माणका लागि दुईवटा प्याकेजमा ठेक्का लगाइएको छ । दुवै प्याकेजको काम अन्तिम चरणमा पुगेको छ । मेचीडाँगीदेखि पाटापुरसम्मको एक किलोमिटर सडक २९ मंसिर ०७९ मा १२ करोड २० लाखमा आरकेआरवान जेभीले ठेक्का लिएको थियो । यसको दोस्रोपटक थपिएको म्याद आउँदो मंसिरमा सकिँदै छ । सोही खण्डको १.८ किलोमिटर सडक निर्माणको जिम्मा सिद्धकाली इन्टरनेसनल बिल्डर्स–लालप्रसाद शर्मा एन्ड सन जेभीले सात करोड ९१ लाखमा लिएको छ । २१ मंसिर ०७९ मा ठेक्का लिएको यो खण्डको काम सकिएको आयोजनाले जनाएको छ । 

यस्तै, रतुवादेखि कमल खोलासम्म १३ किलोमिटर सडक निर्माणका लागि ९ मंसिर ०७९ मा ठेक्का सम्झौता भएको थियो । ८ जेठ ०८२ मा सक्ने गरी देव एन्ड सायर–सक्षम जेभीले ५४ करोड ९७ लाखमा ठेक्का लिएको छ । यो सडक निर्माणको काम अहिले ३० प्रतिशत भएको छ ।

यस्तै, साहदतस्थलदेखि शान्तिनगरसम्मको १७ किलोमिटर निर्माणको जिम्मा भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवाले लिएको छ । २३ कात्तिक ०७९ मा ८६ करोड ८२ लाखमा ठेक्का लिएको यो खण्ड २२ वैशाख ०८२ मा निर्माण सम्पन्न गर्नुपर्नेछ । अहिले यो सडकको भौतिक प्रगति पनि ३० प्रतिशत रहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले जनाएको छ ।

रुखले नौवटा पुलको पहुँच मार्ग निर्माण हुन सकेन
मदन भण्डारी रानमार्गको पूर्वीखण्डअन्तर्गत झापादेखि सुनसरीसम्म ३७ वटा पुल निर्माणका लागि ठेक्का लागेको थियो । जसमध्ये २२ वटा पुलको पूर्ण रूपमा निर्माण सम्पन्न भइसकेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका सूचना अधिकारी इन्जिनियर सुवास दत्तले बताए । उनका अनुसार नौवटा पुल निर्माणको काम सकिए रुख हटाउन नसक्दा पनि पहुँच मार्ग निर्माण हुन सकेको छैन । बाँकी ६ वटा पुलको निर्माण कार्य सुरुवाती चरणमा रहेको दत्तको भनाइ छ ।