१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ कार्तिक २ शुक्रबार o९:१६:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

आर्थिक वृद्धिदर संकुचनमा : निर्माण, विद्युत् र सूचना प्रविधिको वृद्धिदर ऋणात्मक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार o९:१६:oo

आर्थिक वर्ष ०८०/८१ को अन्तिम त्रैमास (वैशाख–असार)मा आर्थिक वृद्धिदर २.१ प्रतिशत पुग्ने सरकारी अनुमान छ । यो राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान हो । अघिल्लो त्रैमास (माघ–चैत)मा ३.१ प्रतिशत रहेको वृद्धिदर अन्तिम त्रैमासमा संकुचित बन्ने भएको हो । त्यस्त, दोस्रो त्रैमास (कात्तिक–पुस)मा वृद्धिदर ४.६ प्रतिशत पुगेको थियो । यसरी हेर्दा गत आर्थिक वर्षको दोस्रो त्रैमासयता आर्थिक वृद्धिदर निरन्तर खुम्चिँदै गइरहेको देखिन्छ । 

गत आवमा सार्वजनिक वित्त असन्तुलित बनेपछि त्यसको असर आर्थिक वृद्धिदरमा देखिएको तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले बताए । उनले भने, ‘विगतमा अन्तिम महिनाहरूमा सरकारले खर्च गर्ने प्रवृत्ति थियो । सरकारले खर्च गर्दा निर्माण क्षेत्रले भुक्तानी पाउँथे । पैसा बजारमा आउँथ्यो । यसले अर्थतन्त्रलाई नै चलायमान बनाउन मद्दत पुग्थ्यो । तर, सरकारले राजस्व उठाउन नसकेपछि खर्च पनि गर्न सकेन । त्यसको परिणाम वृद्धिदरमा देखापरेको हो ।’

सरकारी निकायबाट कामको भुक्तानी रोकिएकाले निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएको छ । कार्यालयका अनुसार आव ०८०/८१ को माघदेखि चैतसम्मको निर्माण क्षेत्रको वृद्धिदर ६.६ प्रतिशत ऋणात्मक देखिएको थियो । तर, वैशाखदेखि असारसम्मको वृद्धिदर थप ऋणात्मक हुँदै १३.४ प्रतिशत पुगेको छ । 

दोस्रो ऋणात्मक वृद्धिदर जलविद्युत् क्षेत्रमा देखिएको छ । विद्युत् र ग्यास शीर्षकमा पर्ने यो क्षेत्र ३.५ प्रतिशतले ऋणात्मक बनेको छ । यो अवधिमा नयाँ जलविद्युत् उत्पादन नदेखिएकाले ऋणात्मक देखिएको रेग्मीको भनाइ छ । माघदेखि चैतसम्मको यो क्षेत्रको वृद्धिदर ४७.४ प्रतिशत थियो । सूचना तथा प्रविधि क्षेत्र पनि १.६ प्रतिशतले ऋणात्मक छ ।

 कृषि र पर्यटनको योगदानमा वृद्धि
वैशाखदेखि असारसम्मको वृद्धिदरमा कृषि र पर्यटनको बढी योगदान रहेको कार्यालयको विश्लेषण छ । कार्यालयले एक विज्ञप्तिमा भनेको छ, ‘कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटेल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक रहेका छन् । यसका अतिरिक्त व्यापार क्षेत्रमा भएको वृद्धि, यातायातमा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो ।’

कार्यालयका अनुसार १५ वटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक छ । जसमध्ये आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर १२.३ प्रतिशत छ । यातायात तथा गोदाम क्षेत्र १०.९ प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र छ । सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रले १०.८ प्रतिशत वृद्धिदर कायम गरेको छ ।

त्यसैगरी, निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बिमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ६.२ प्रतिशत र प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.८ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ३.२ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

हिउँदे बाली, तरकारी तथा पशुजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको हो । अर्कोतर्फ, अर्थतन्त्रको दोस्रो ठुलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको यो त्रैमासिकमा दुई प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादन र कृषि उत्पादनमा भएको सामान्य वृद्धिले गर्दा व्यापार क्षेत्रको वृद्धि धनात्मक दिशाउन्मुख भएको कार्यालयले जनाएको छ । यद्यपि, व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य गिरावटले गर्दा व्यापार क्षेत्रको वृद्धि अपेक्षित रूपमा हुन नसकेको अनुमान छ । यो त्रैमासिकमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर झिनो अंकले धनात्मक १.१ प्रतिशत रहेको उल्लेख छ ।

सरकारी खर्च घट्दा वृद्धिदर खुम्चियो
हेमराज रेग्मी, उपप्रमुख, तथ्यांक अधिकारी

समीक्षा अवधिमा नयाँ जलविद्युत् आयोजना आएनन् । त्यसैले पनि विद्युत् क्षेत्र ऋणात्मक देखियो । निर्माण क्षेत्रको त पहिलेदेखि नै समस्या हो । विगतमा अन्तिम त्रैमासमा सरकारी खर्च बढ्ने गरेकोमा पछिल्ला दुई आर्थिक वर्षका अन्तिम त्रैमासहरूमा सरकारी खर्च बढ्न छाडेका छन् । राजस्व पनि संकुचनमा गएकाले खर्च घटेको हो । सरकारी खर्च घट्नेबित्तिकै यसले सबै क्षेत्रलाई असर पार्ने गरेको छ ।