१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २ शुक्रबार १o:२५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

इजरायलको आक्रमणले लेबनानमा बढ्दै छ संकट, राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिक बंकरमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १o:२५:oo

इजरायलले सुरुमा लेबनानको हिजबुल्लाह समूहलक्षित हवाई हमला गरे पनि पछिल्लोपटक संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकलक्षित हमला थालेको छ । हालसम्म सुरक्षित रहे पनि नेपाली शान्ति सैनिक इजरायल र हिजबुल्लाहको दोहोरो हमलाबाट सिर्जित त्रासदीका कारण बंकरमा छन् । उत्तरी लेबनानमा रहेका करिब १२ सय नेपाली पनि हालसम्म सुरक्षित छन् । 

‘लेबनानमा खटिएका हाम्रा सैनिक बंकरभित्र छन् र सुरक्षित छन् । रसदपानीको बन्दोबस्तीका लागि छोटो समय उनीहरू बाहिर निस्के पनि अधिकांश समय बंकरमा बस्नुपरेको छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले नयाँ पत्रिकासँग भने । 

सहायक रथी गौरवकुमार केसी, प्रवक्ता, नेपाली सेना
लेबनानमा खटिएका हाम्रा सैनिक बंकरभित्र छन् र सुरक्षित छन् । रसदपानीको बन्दोबस्तीका लागि छोटो समय उनीहरू बाहिर निस्के पनि अधिकांश समय बंकरमा बस्नुपरेको छ । शान्ति स्थापक फौजलाई बाहिर निकाल्ने कुनै योजना छैन भन्ने बुझेका छौँ । 

लेबनान–इजरायल सीमा क्षेत्रको सबैभन्दा संकटग्रस्त क्षेत्रमा राष्ट्रसंघीय शान्ति मिसन (युनिफिल) अन्तर्गत करिब ८५० जनाको गणस्तरीय फौज कार्यरत छ । यसबाहेक सैन्य पर्यवेक्षक र स्टाफ अधिकृतसमेत जोड्दा हाल ८७७ जना नेपाली सैनिक लेबनानमा कार्यरत छन् । इजरायल र लेबनानको सिमाना (दक्षिणी लेबनान)मा सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा नेपाली र इन्डोनेसियन सैनिकको गणस्तरीय फौज तैनाथ छ । इजरायलले लेबनानको राष्ट्रसंघीय शान्ति सैनिक हिजबुल्लाह समूहका लागि मानव ढाल बनेको भन्दै हटाउनुपर्ने आवाज उठाएको छ । तर, राष्ट्रसंघले भने लेबनानबाट शान्ति स्थापक फौज नहट्ने स्पष्ट पारेको छ र उनीहरूमाथि लक्षित कुनै पनि आक्रमण नगर्न इजरायल र हिजबुल्लाह समूहलाई आह्वान गरेको छ । ‘शान्ति स्थापक फौजलाई बाहिर निकाल्ने कुनै योजना छैन भन्ने बुझेका छौँ,’ केसीले भने, ‘त्यसकारण हाम्रा फौज पनि अहिले त्यहाँबाट बाहिर जाने होइन, सुरक्षाका उपाय अपनाएर राष्ट्रसंघको म्यान्डेटअनुसार जिम्मेवारी निर्वाह गर्नेछ ।’ 

लेबनानमा नेपाली सुरक्षित, तर त्रासमा
लेबनानसँगको कूटनीतिक मामिला हेर्ने इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले लेबनानमा रहेका नेपालीसँग आफूहरू सम्पर्कमा रहेको बताए । ‘लेबनानमा रहेका नेपालीहरूसँग सम्पर्कमा छौँ । अधिकांश महिला हुनुहुन्छ र घरेलु कामदारका रूपमा विभिन्न ठाउँमा छरिएर बस्नुभएको छ । अहिलेसम्म सुरक्षित छौँ भन्नुभएको छ,’ राजदूत लम्सालले टेलिफोनमा भने । 

बेरुतको सुन्नी मुस्लिम बहुल क्षेत्र र इसाई बहुल क्षेत्रमा अधिकांश नेपाली घरेलु कामदारका रूपमा कार्यरत छन् भने सानो संख्याका नेपाली होटेल र कम्पनीमा कार्यरत छन् । ‘हामीलाई उद्धार गर्नुपर्‍यो भनेर कसैले पनि भन्नुभएको छैन । लेबनानमा कम्पनीमा कार्यरत नेपालीमध्ये कतिपय टिकट काटेर स्वदेश फर्किनुभएको सुनेका छौँ,’ लम्सालले भने, ‘हामीले सकभर स्वदेश फर्किनुस् भन्ने सन्देश दिएका छौँ ।’ उत्तर–पूर्वी बेरुतमा रहेका नेपाली कामदारलाई उनीहरूका मालिक स्वयंले नै उद्धार गरिदिने आश्वासन दिएको जानकारी नेपाली दूतावासलाई पुगेको छ । संकट गहिरिँदै गएमा उत्तरी लेबनानबाट साइप्रस जान सकिने विकल्प रहेको भन्दै घरमालिकले नेपालीलाई अहिले नै छाडेर नजान सल्लाह दिएका छन् । परराष्ट्र मन्त्रालयले इजरायल र लेबनानमा रहेका नेपालीसँग सम्पर्कमा रहन, परिस्थितिलाई नजिकबाट नियाल्न तथा नेपालीले चाहेमा उद्धारका लागि सहजीकरण गरिदिन इजरायल र इजिप्टस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको छ । राजदूत लम्सालका अनुसार बेरुतस्थित विमानस्थल सुचारु छ, यद्यपि उडानको संख्या कम छ । बेरुतबाट सिरिया र जोर्डन भएर विदेशी नागरिक बाहिरिएका छन् । 

इजरायली फौजले दक्षिण लेबनानबाट उत्तरी लेबनानतिर लक्षित आक्रमण गरेका छिटपुट घटनाका कारण नेपालीले असुरक्षित महसुस गरेका छन् । यद्यपि, घरेलु कामदारका रूपमा कार्यरत नेपाली स्वदेश फर्किने मुडमा नभएको रिपोर्ट परराष्ट्र मन्त्रालयले प्राप्त गरेका एक उच्च अधिकारीले बताए । ‘लेबनानमा अवैध रूपमा नेपाली घरेलु कामदारका रूपमा गएका छन् । मासिक कम्तीमा ६ देखि सात सय अमेरिकी डलर कमाइ हुने ठाउँबाट बाहिर जाँदा फेरि फर्केर आउन पाइएला कि नपाइएला भन्ने पनि नेपालीलाई रहेछ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘सुन्नी मुस्लिम र इसाई धर्मावलम्बीहरू इजरायलको लक्षित आक्रमणको निसानामा नपरेको हुनाले नेपालीहरू फर्किने नै मुडमा पुगेका रहेनछन् ।’