१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
जोस्टिन हौज
२o८१ कार्तिक २ शुक्रबार ११:oo:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नोबेल पुरस्कार, उपनिवेशवादलाई मान्यता

अर्थशास्त्रमा नोबेल पुरस्कार कहिल्यै पनि उपनिवेशवाद, साम्राज्यवाद वा पुँजीवाद र पश्चिमा संस्थाको सर्वाेच्चतालाई चुनौती दिने खोजलाई दिइँदैन

Read Time : > 2 मिनेट
जोस्टिन हौज
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार ११:oo:oo

संस्थाले आर्थिक विकासलाई कसरी आकार दिन्छ’ भन्ने खोजका लागि ड्यारोन एसिमोग्लु, साइमन जोन्सन र जेम्स रोबिन्सनलाई सन् २०२४ को अर्थशास्त्रतर्फको नोबेल मेमोरियल पुरस्कार प्रदान गरियो । कतिपयले यी विद्वान्लाई नोबेल पुरस्कार दिने निर्णय धेरै पहिले नै हुनुपथ्र्याे भनेर टिप्पणी गरेका छन् । यी विद्वान्त्रयले संयुक्त रूपमा लेखेको शोधपत्र अर्थशास्त्रमा सबैभन्दा धेरै उद्धृत हुने शोधपत्रमध्ये एक भएको छ । एसिमोग्लु र रोबिन्सनको पछिल्लो पुस्तक ‘ह्वाई नेसन्स फेल’लाई पनि एकदमै प्रभावशाली पुस्तकका रूपमा लिइन्छ ।

यी विद्वान्को कामले ‘सामाजिक संस्था र आर्थिक विकासबिचको सम्बन्ध’मा महत्पूर्ण बहस छेडेको छ । यो बहसका लागि पुरस्कार पाएकाले यी विद्वान् बधाईका योग्य छन् । तथापि, यी विद्वान्ले पर्याप्त आलोचनाको पनि सामना गर्दै आएका छन् ।

संस्थाको विभाजनलाई ‘समावेशी’ एवं ‘दोहानकारी’ दुई प्रकारमा केन्द्रित गर्दै यी देशको आर्थिक विकाससँग सम्बन्धित छन् भन्ने विश्लेषण आलोचनाको प्रमुख विषय बनेको छ । यी अध्येताका अनुसार समावेशी संस्थामा सम्पत्ति अधिकारको रक्षा गर्ने, लोकतन्त्रलाई समर्थन गर्ने र भ्रष्टाचार कम गर्ने संस्था पर्छन्, जसले आर्थिक वृद्धिलाई प्रोत्साहन गर्छ ।

यसविपरीत दोहनकारी संस्थाले शक्तिको केन्द्रीकरण गर्छ, राजनीतिक स्वतन्त्रतालाई बन्देज लगाउँछ, सम्पत्तिलाई सीमित अभिजात वर्गमा केन्द्रित गर्छ र विकासमा बाधा पु‍र्‍याउँछ । समावेशी संस्थाको स्थापनाले आर्थिक समृद्धिमा दिगो सकारात्मक प्रभाव पारेको र अहिले उच्च आय भएका पश्चिमी मुलुकमा त्यस्ता संस्था देखिएको पुरस्कार विजेताको तर्क छ ।

अर्थशास्त्रमा नोबेल पुरस्कार कहिल्यै पनि उपनिवेशवाद, साम्राज्यवाद वा पुँजीवाद र पश्चिमा संस्थाको सर्वाेच्चतालाई चुनौती दिने खोजलाई दिइँदैन 

यो विश्लेषणको प्रमुख आलोचना भनेकै आर्थिक विकासका लागि निश्चित संस्था आवश्यक छन् भन्ने दाबी हो । युनिभर्सिटी अफ लन्डनका अर्थशास्त्रका प्राध्यापक मुस्ताक खानले एसिमोग्लु, जोन्सन र रोबिन्सनको कामको आलोचना गरेका छन् । उनका अनुसार पुरस्कार विजेताको विश्लेषणले मुख्यतया आजका धनी राष्ट्रका अर्थात् पश्चिमजनित संस्था सूचकांकमा उच्च स्थानमा रहेको देखाउँछ । तर, यी राष्ट्रले पहिले समावेशी संस्था स्थापना गरेका कारणले आर्थिक समुन्नति हासिल गरेका हुन् भन्ने प्रमाणित हुँदैन । सिंगापुर, दक्षिण कोरिया र ताइबानजस्ता मुलुकले यस्ता संस्थाविना नै तीव्र आर्थिक वृद्धि साक्षात्कार गरेका छन् । चीनलाई पछिल्लो उदाहरणमा लिन सकिन्छ ।

चीनको विकासको क्रममा भ्रष्टाचार कति व्यापक थियो भनेर युएन आङका चर्चित पुस्तकले प्रकाश पार्छन् । नोबेल पुरस्कारको घोषणापछि आङले विजेतात्रयको सिद्धान्तले चीनको विकास मात्र नभई पश्चिमको वृद्धिलाई पनि व्याख्या गर्न असफल भएको टिप्पणी गरेकी छन् । उनी अमेरिकाको विकासको क्रममा पनि त्यहाँका संस्थाहरू भ्रष्टाचारले ग्रस्त थिए भन्छिन् ।

उपनिवेशवादको क्रूरतालाई अनदेखा गर्ने विश्लेषण :  एसिमोग्लु, जोन्सन र रोबिन्सनले जोड दिएका केही समावेशी संस्थालाई पछ्याउँदा राष्ट्रहरूको अहित हुँदैन, तर यी विद्वान्को विश्लेषणले पश्चिमा संस्थाको प्रभुत्वलाई नै मलजल गर्छ, अझ साम्राज्यवाद र उपनिवेशवादको औचित्यलाई नै पुष्टि गर्छ ।  उपनिवेशवादको क्रूरतालाई बेवास्ता गरेकोमा यी विद्वान्को कामको आलोचना गरिएको छ । यसलाई ठिकसँग बुझ्न हामीले यी विद्वान्को विधिलाई थप मिहिनसँग जाँच्नुपर्छ ।

विजेतात्रयले अमेरिका, क्यानडा र अस्ट्रेलियाजस्ता उपनिवेशकारी राज्यका मानिसले बस्ती बसालेका उपनिवेश अर्थात् ‘सेटलर कोलोनी’को दीर्घकालीन विकासलाई तर्कको मूल आधार बनाएका छन् । विजेताका अनुसार सेटलर कोलोनी उपनिवेशमा युरोपेलीले समावेशी संस्था स्थापना गरेका थिए भने अफ्रिका, एसिया, ल्याटिन अमेरिकालगायत गैरआवादी उपनिवेशमा दोहनकारी संस्था कायम थिए । सेटलर कोलोनीले समयक्रमसँगै गैरसेटलर उपनिवेशलाई पछाडि पारेका छन्, अर्थात् युरोपेली संस्था विकासका लागि अधिक अनुकूल छन् । औपनिवेशिकता नै यी विद्वान्को विश्लेषणको मुख्य तत्व हो । र, उदेकलाग्दो के भने यी विद्वान्ले औपनिवेशिकताका कारण चुकाउनुपरेको मूल्यलाई पूर्ण रूपमा उपेक्षा गरेका छन् । 

समावेशी संस्था रहेको भनिएका छन्, ती मुलुकमा वर्षाैं चलेको हिंसा र आदिवासी जनसंख्याको नरसंहारलाई ती मुलुकको विकासको प्रक्रियाकै हिस्सा मान्नुपर्ने होइन र ? पुरस्कार प्राप्त गरेपछि एसिमोग्लुले औपनिवेशिकताबारे सोधिएको प्रश्नलाई खारेज गर्दै ‘औपनिवेशिकता राम्रो वा नराम्रो हो भनेर प्रश्न सोध्नुको सट्टा हामीले विभिन्न औपनिवेशिक रणनीतिले निम्त्याएका विभिन्न संस्थागत ढाँचालाई हेर्नुपर्छ’ भनेका थिए । यो जवाफले केहीलाई हैरान पार्न सक्छ, तर अर्थशास्त्र विधासँग परिचित व्यक्तिहरू यो जवाफलाई अनौठो मान्दैनन् ।

मूलधारको अर्थशास्त्रमा गुणात्मकता वा भावनात्मक मूल्यविनाको आर्थिक विश्लेषणलाई सम्मानको सूचक मानिन्छ । यसले अर्थशास्त्र विधाभित्रको एउटा महत्वपूर्ण मुद्दा अर्थात् अर्थशास्त्र विधा समाज विज्ञानका अन्य विधाबाट टाढिएको अवस्थालाई बिम्बित गर्छ । अर्थशास्त्रको नोबेल पुरस्कार मूल पाँच नोबेल पुरस्कारको हिस्सा होइन र यो नै समस्याको मुख्य जरो हो । विगतका विजेता पनि प्रायः साँघुरो भौगोलिक र संस्थागत क्षेत्रका छन्, तिनले मूलतः प्रतिष्ठित अमेरिकी विश्वविद्यालयलाई नै प्रतिनिधित्व गर्छन् ।

हालैको एक अध्ययनले अर्थशास्त्रमा पुरस्कारको संस्थागत तथा भौगोलिक एकाग्रता अन्य क्षेत्रको तुलनामा बढी रहेको देखाउँछ । लगभग सबै प्रमुख पुरस्कार विजेताले आफ्नो पेसागत जीवनका दौरानमा अमेरिकाका शीर्ष १० विश्वविद्यालयमा कुनै न कुनै किसिमले जोडिएका छन् । यो वर्षको नोबेल पुरस्कार पनि यसबाट अपवाद छैन । हरेक वर्ष अर्थशास्त्रको नोबेल पुरस्कार ‘एक्स भेरियबलमा हुने परिवर्तनले वाई भेरियबलमा के प्रभाव पार्छ’ भनेर गरिएको खोजीका लागि दिइने गरिन्छ । र, यो पुरस्कार कहिल्यै उपनिवेशवाद, साम्राज्यवाद वा पुँजीवाद र पश्चिमा संस्थाको सर्वाेच्चतालाई चुनौती दिने खोजलाई दिइँदैन ।    
(हौज क्याम्ब्रिज विश्वविद्यालयका विकास अध्ययनका उप–प्राध्यापक हुन्) द कन्भर्सेसनबाट