१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ कार्तिक २ शुक्रबार o८:३५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

खासामा फलफूल कुहिन थाल्यो

कोल्ड स्टोरमा राखेको भाडा तिब्बत सरकारले नै व्यहोर्ने

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार o८:३५:oo

दसैं र तिहारका लागि ल्याइएको फलफूल नेपाल–चीन सीमामा कुहिन थालेको छ । चिनियाँ भन्सार भएर उत्तरी सीमामा अड्किएका करिब २० कन्टेनर फलफूल एक तिहाइ जति कुहिएको हो । फलफूल व्यापारी शारदाप्रसाद पराजुलीले अनार, स्याउ र आँप कुहिएको बताए । 

सडक डिभिजन कार्यालय चरिकोटका प्रतिनिधि आफैँ बसेर कोदारी पहिरो पन्छाउन सुरु गरिएको र केही दिनमै लिपिङ खोलामा पनि डाइभर्सन तयार गरेर सडक संचालन गर्ने तयारी छ । ‘सडक संचालन भएपछि फलफूलबाहक सबै कन्टेनर राजधानी पठाइन्छ,’ तातोपानी भन्सारका सूचना अधिकृत सूर्य काफ्लेले भने । कन्टेनरभित्र केही कार्टुन स्याउ कुहिएको पाइएको उनले जनाए । 

तुइनबाट तारेर भरियामार्फत् भन्सारयार्डमा ल्याउने क्रम जारी रहेपनि धेरै कन्टेनर अझै पारिपट्टी रहेकाले फलफूल कुहिने जोखिम बढेको हो । अनार, आँप र स्याउ धेरै कुहिएको छ, व्यापारी पराजुलीले भने, ‘यसपटक हामीले घाटा व्यहोर्नु पर्नेछ ।’ यद्यपि, चीन स्वशासित तिब्बतको खासा र केरुङसम्म आएर भन्सार नभएका करिब दुईसय कन्टेनर फलफूल फर्काएर सिँगात्से र ल्हासास्थित ठूला कोल्डस्टोरमा राखिएको छ ।

एक कन्टेनर बराबर ६ हजार आरएमबी तिरेर तिब्बत सरकार आफैँले कोल्डस्टोरमा राखिदिएपछि नेपाली व्यापारीको लगानी डुब्ने खतरा टरेको छ । एक महिनाको लागि तिब्बत सरकारले कोल्डस्टोर भाडामा लिएको हो । करिब सय कन्टेनरमा कुलिङ सिस्टम भएकोले ती गाडीहरु खासा, न्यालम र केरुङमै छन् । तर, ती गाडीको डिस्टेन्सन चार्ज नेपाली व्यापारीले नै तिर्नुपर्छ ।

केही कन्टेनर लसुन भने दिङ्री र न्यालममा राखिएको छ। लसुन गन्हाउने भएकोले कोल्डस्टोरमा राखिएको छैन । त्यसैले केही बोरा लसुन कुहिसकेको ब्यापारी बताउँछन्।तातोपानीपट्टी अब चार दिनमा एकतर्फी सडक संचालनमा आउने काफ्लेले जानकारी दिए । यता केरुङपट्टी पनि एकसातामा सडक सुचारु हुने सम्भावना छ ।