Skip This
सहुलियत पसलमा बढ्दै चहलपहल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
अजित अधिकारी काठमाडाैं
२o८१ असोज १९ शनिबार o८:३८:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सहुलियत पसलमा बढ्दै चहलपहल

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार o८:३८:oo

छुट मूल्यमा अधिकांश खाद्यान्न उपलब्ध गराइएका देशभरका पसलबाट दैनिक ४० लाखसम्मको बिक्री 

चाडपर्वलक्षित सहुलियत पसलमा खाद्यान्न खरिद गर्ने उपभोक्ताको संख्या बढ्दै गएको छ । ३ असोजबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र ७ असोजबाट साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य खाद्यान्नमा प्रतिकिलो १० रुपैयाँसम्म छुट दिएर सहुलियत पसल सञ्चालन गरेका छन् । दुवै संस्थानले ४१ जिल्लाका ६३ भन्दा बढी बिक्री केन्द्रबाट छुटसहितको खाद्यान्न बिक्री गरिरहेका छन् ।

सहुलियत पसल सञ्चालनमा आएयता दैनिक उपभोग्य वस्तुको भाउ घट्न थालेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दाबी गरेका छन् । ‘छुट मूल्यमा खाद्यान्न बिक्रीका लागि सञ्चालनमा ल्याइएको सहुलियत पसल र तुलनात्मक रूपमा ठुलो संख्याको अनुगमन टोली परिचालनका कारण दैनिक उपभोग्य वस्तुको भाउ घटेको छ,’ उनले भने । 

सहुलियत पसलबाट खाद्य कम्पनीले दैनिक १७ लाख र साल्ट ट्रेडिङले २५ लाख रुपैयाँसम्मको खाद्यान्न बिक्री गरिरहेको जनाएका छन् । खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले सहुलियत पसलमा उपभोक्ताको आकर्षण बढ्दै गएको बताए । ‘देशभरका बिक्री केन्द्रमा साबिकको भन्दा धेरै परिमाणमा खाद्यान्न बिक्री भइरहेको छ । कर्णालीका बिक्री केन्द्रमा सबैभन्दा बढी आकर्षण छ,’ उनले भने ।

सहुलियत पसलमा चामल सबैभन्दा धेरै बिक्री भइरहेको उनले जानकारी दिए । खाद्य कम्पनीले विभिन्न नौ किसिमका चामलमा प्रतिकिलो पाँचदेखि सात रुपैयाँ छुट दिएको छ । खाद्य कम्पनीलाई छुटमा खाद्यान्न बिक्री गर्न सरकारले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

कम्पनीले तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णालीको सिमी–गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँ र डिडिसीको घिउमा प्रतिकिलो १० रुपैयाँ छुट राखेको छ ।

७ असोजबाट सहुलियत मूल्यमा खाद्यान्न बिक्री थालेको साल्ट ट्रेडिङले दैनिक करिब २५ लाखसम्मको कारोबार गरिरहेको सहायक महाप्रबन्धक कुमारराज भण्डारीले जानकारी दिए । उनका अनुसार बिहीबारसम्म दुई करोड ५० लाख रुपैयाँको खाद्यान्न बिक्री भइसकेको छ । साल्ट ट्रेडिङलाई सहुलियत पसल सञ्चालन गर्न ८० लाख बजेट विनियोजन गरिएको छ ।

व्यवसायीले दैनिक २५ गाडी खसी–बोका ल्याउँदै, सरकारले भोलिबाट बिक्री गर्ने

कलंकीस्थित खसी बजारबाट बिहीबार दिउँसो खसी किनेर लैजाँदै । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

विगतमा घटस्थापनादेखि खाद्य कम्पनीले खसी–बोका र च्यांग्रा बिक्री गर्दै आएकोमा यसपटक अविरल वर्षाले सडक अवरुद्ध पारेका कारण ढिलाइ भएको छ । खाद्य कम्पनीका सिइओ रमेश आचार्यले शनिबार बेलुकासम्म खसी–बोका र च्यांग्रा काठमाडौं ल्याइसक्ने र आइतबारबाट बिक्री थाल्ने जानकारी दिए । जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो १२ सय ३० र जिउँदो खसी–बोकाको मूल्य ६ सय ३० रुपैयाँ प्रतिकिलोआसपास राख्ने तयारी भइरहेको उनले जानकारी दिए । 

निजी क्षेत्रले पनि दसैँका लागि खसी–बोकाको आपूर्ति बढाउन थालेको छ । कलंकी, टुकुचालगायतका बजारमा खसी–बोका ल्याएर बिक्री थालिएको काठमाडौं चौपाया खरिद–बिक्री वधशालाका अध्यक्ष जनक खड्काले जानकारी दिए । उनका अनुसार दैनिक २५ गाडीसम्म खसी–बोका ल्याउने गरिएको छ । जिउँदो च्यांग्रा प्रतिकिलो १२ सय ५० र खसी–बोका ६ सय ५० देखि ६ सय ९० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको उनले बताए ।

‘विगतमा जस्तै यसपटक पनि दसैँमा ५० हजार खसी–बोका बिक्री हुने अनुमान गरेर आयातको प्रबन्ध मिलाइएको छ,’ उनले भने, ‘मागअनुसार आपूर्ति गर्न कुनै समस्या हुनेछैन ।’ 

दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री
एक–दुई महिनाअघिको बजार मूल्य र अहिलेको मूल्य तुलना गर्ने हो भने घटेको छ । चिनी, चामल, तेल, दाललगायत अत्यावश्यक वस्तुको मूल्य उपभोक्ताले अनुभूति हुने गरी घटेको छ । सहुलियत मूल्यका पसलहरू ४१ जिल्लामा सञ्चालन भएका छन् । यी पसलहरूबाट बजार मूल्यभन्दा सस्तो दरमा खाद्यान्न बिक्री भइरहेको र धेरै उपभोक्ताले लाभ लिइरहेका छन् । पेट्रोलियमको मूल्य घटाइएको छ ।