१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
सिमोन जेनकिन्स
२o८१ असोज ९ बुधबार ११:o६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘वर्किङ फ्रम होम’ : एक साहसिक र रोमाञ्चक नवप्रवर्तन 

Read Time : > 2 मिनेट
सिमोन जेनकिन्स
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार ११:o६:oo

रोजगारदातालाई आफ्नो काम कसरी गराउने भनेर मन्त्री र वकिलले बताउन आवश्यक छैन । रोजगारस्थलजस्तो नितान्त व्यक्तिगत विषयलाई राज्यले नियन्त्रण गर्नुहुँदैन । 

'वर्क फ्रम होम(घरबाट काम)’ गर्दा के गर्नुपर्दैन ? यात्रा गर्नुपर्दैन । साथै, यो विधि अधिक लचक पनि हुन्छ । औपचारिक पोसाक लगाइरहनुपर्दैन । हाकिमले हैरान बनाउन पनि पाउँदैनन् । एक अर्थमा यो एउटा सामाजिक क्रान्ति नै हो, जुन अहिले भइरहेको छ । कोभिडअघि बेलायतमा काम गर्नेमध्ये ४.७ प्रतिशतले मात्रै घरबाटै काम गर्थे । अहिले ४० प्रतिशतले हप्तामा कम्तीमा एक दिन घरबाटै काम गर्ने गरेको बताउँछन् । नौ–पाँचको कार्यालयीय दैनिकी लोप हुन थालेको छ । काम गर्ने मान्छेले आफूलाई मन परेको स्थानबाट काम गर्न सक्ने हुँदै छ ।

बिजनेस सेक्रेटरी जोनाथन रेनोल्ड्स ‘कल्चर अफ प्रिजेन्टिजम (हाजिरी संस्कृति)’ विरुद्ध र लचिलो कार्य प्रबन्धनबारे सकारात्मक कुरा गर्न भनी गत हप्ता एउटा साक्षात्कार कार्यक्रममा संलग्न भए । बेलायत सरकारले आगामी रोजगार विधेयकमा घरबाटै काम गर्न पाउने अधिकारलाई बलियो बनाउने सोच बनाएको छ । यसमा रोजगारीबारे श्रम प्रबन्धनहरू समावेश हुन सक्छन्, जसमा डे वान जब सेक्युरिटी, जेरो–आवर कन्ट्रयाक्ट (टुक्रे वा आवश्यक पर्दा काममा बोलाउने गरी गरिने करार)मा प्रतिबन्ध, प्रोबेसन(परीक्षणकाल)मा सीमा आदि हुन सक्छ ।

यस क्रान्तिका परिणाम पनि परिवर्तनशील छन् । धेरैका लागि घरबाट काम गर्ने कुरा सकारात्मक भएको छ । लगभग सबैजसो अध्ययनले के देखाएका छन् भने घरैबाट कामले यसरी काम लगाउने रोजगारदाता र यसरी काम गर्ने कामदार दुवैलाई सन्तुष्ट पार्छ । यसले श्रमशक्तिको कल्याण र उत्पादकत्व दुवैमा वृद्धि गरेको छ । रोजगारदाताका निम्ति कार्यालय अकुपेन्सी (अफिसको स्थान) घटेको छ, जसले लागत कम गरेको छ । यसबाहेक, अफिस आउजाउ गर्नु नपर्दा फुर्सदको समय बढेको छ । कोभिड उच्च बिन्दुमा पुग्नुअघिको समयको तुलनामा उनीहरूको रेलयात्रामा २० प्रतिशतमा कमी आएको छ । 

काम गर्ने यो नयाँ ढाँचाको व्यापक समुदायमा के अर्थ रहन्छ भन्दा परिवारहरू नजिक रहन पाउँछन् । यस्तोमा कार्यालयहरू रहेका व्यापारिक क्षेत्रले व्यवसाय गुमाउन सक्ने भए पनि यसरी काम गर्नेहरूको स्थानीय क्षेत्रमा भने काम गर्ने उमेर समूहका मानिसको उपस्थिति बाक्लो देखिनेछ । त्यहाँका गल्ली र खाजा पसलले व्यवसायमा वृद्धि साक्षात्कार गर्नेछन् । अस्पतालले पनि धेरै मानिसको उपचार तिनकै घरमा गर्नेछन् भने शिक्षकले पनि विद्यार्थीको कक्षा तिनकै घरमा अनलाइन लिनेछन् ।

केही गुनासा पनि छन् । केही रोजगारदाता ‘टिम वर्क’, सम्पर्क र रचनात्मकतामा गिरावट आउने गुनासो गर्छन् । केही युवा कर्मचारी कार्यालय जीवनबाट वञ्चित हुन्छन् । ग्राहकसँग सम्पर्क राख्नुपर्ने व्यवसाय प्रभावित हुन सक्छन् । यसबाहेक, थुप्रै किसिमका सेवा घरबाट उपलब्ध गराउन सकिँदैन भन्ने तर्क पनि छ । अमेजनले आफ्ना कर्मचारीलाई हप्तामा पाँच दिन कार्यालयमा आएर नै काम गर्न आदेशै दिएको छ । यसैबिच, शुक्रबार बैंकहरू भर्चुअल छुट्टीमा हुँदा सहरी व्यवसायपीडित हुन पुगेका छन् । क्याफे र बारहरू खाली देखिन्छन् ।

यी सबै कुराको जवाफ हुन्छ– पर्खने र हेर्ने । आधुनिक अर्थव्यवस्थाहरूको व्यवहारमा ठुलो परिवर्तन भइरहेको छ । उनीहरू घरेलुपनमा फर्किंदै छन् । यो कुरा डिजिटल क्रान्तिको प्रतिज्ञा नै हो, तर यो अझै पूर्ण रूपमा साकार भइसकेको छैन । नयाँ कार्यालयको निर्माण १५ वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा रहेको प्रमाणले देखाउँछ । लन्डनको क्यानरी घाटको सडक खाली खाली देखिन्छ । आलिसान कार्यालय भवनहरू अप्रचलित हुन सक्ने देखिँदै छ । तिनलाई उच्च माग भएका फ्ल्याटमा रूपान्तरण गर्नुपर्ने हुन सक्छ ।

यी सबैमा एउटा सत्य कुरा के भने कार्यको प्रकृतिको आधारमा रोजगारदाता र कर्मचारीबिचको सम्बन्ध विशिष्ट खालको हुनुपर्छ । नोकरशाहीमा बाहेक, जसमा मन्त्रीहरू अधिक अभ्यस्त छन्, कार्य सम्बन्ध मानवीय हुन्छन् । सफलता मालिक र कामदारबिचको मात्र होइन, त्यस्ता कार्यमा संलग्न सबै व्यक्तिबिचको आपसी विश्वास र सहमतिमा र्निभर गर्ने कुरा हो । सफलताका लागि नियमित सम्पर्क एकदमै महत्वपूर्ण हुन्छ । यद्यपि कति नियमित भन्नेचाहिँ बहसको विषय हो । 

तर, यसको परिणाम थाहा पाउनुअघि नै बजारमा सरकारले हस्तक्षेप गर्नुपर्छ भन्नेचाहिँ हास्यास्पद कुरा हो । श्रम कानुन अत्यन्त संवेदनशील कुरा हुन् । अनौपचारिक रोजगारीमा नियन्त्रण गर्ने फ्रान्सेली नियमले धेरै रेस्टुरेन्टहरूलाई सेवा प्रवाह गर्न कठिनाइ बनाउने कुरा कुनै पनि पर्यटकलाई थाहा छ । प्रस्ताविक निजी बहालसम्बन्धी कानुनले सम्पत्तिका मालिकले विनाकुनै कारण किरायादारलाई हटाउन पाउने प्रावधान खारेज गर्ने असल मनसाय राखेको छ । तर, कुनै पनि अंकुशबारे पहिले पर्याप्त अनुसन्धान हुन आवश्यक हुन्छ । यसले ‘रेन्ट मार्केट’को सबैभन्दा कमजोर तहलाई एकाएक घराशयी पनि बनाइदिन सक्छ । 

१९औँ शताब्दीका कलकारखानासम्बन्धी ऐन र २०औँ शताब्दीका स्वास्थ्य तथा सुरक्षा कानुनदेखि रोजगारका विविध पक्षमा पर्याप्त पुनरावलोकनको आवश्यकता छ । ती ऐन–कानुन भेदभाव र अनुचित निष्कासन रोक्न गरिएका व्यवस्था थिए । लेबर पार्टीको प्रस्तावले केही चिन्ताजनक प्रतिक्रिया जन्माइसकेका छन् । कर्मचारी भनेका स्वचालित मेसिन होइनन् । अधिकांश व्यवसायका लागि मानव रसायन महत्वपूर्ण हुन्छ । कहिलेकाहीँ कर्मचारी पनि अनुपयुक्त सावित हुन्छन् । परीक्षणकाल पनि उपयुक्त राखिनुपर्छ । डेलिभरीजस्ता काम र केही व्यवसाय एवं कामदारका लागि जेरो–आवर कन्ट्रयाक्ट (टुक्रे एवं मौसमी कार्य सम्झौता) उपयुक्त हुन्छन् । 

रोजगारदातालाई आफ्नो काम कसरी गराउने भनेर मन्त्री र वकिलहरूले बताउन आवश्यक छैन । रोजगारस्थलजस्तो नितान्त व्यक्तिगत विषयलाई राज्यले नियन्त्रण गर्नुहुँदैन । कामको नतिजाले नै उनीहरूलाई यो कुरा बताउनेछ । ‘वर्किङ फ्रम होम’ एक साहसिक र रोमाञ्चक नवप्रवर्तन देखिएको छ । यो सामाजिक व्यवहारमा आएको एउटा निकै ठुलो परिवर्तन पनि हो । सरकार हस्तक्षेपका लागि अघि बढ्नुभन्दा पहिले यसलाई स्वनियमन हुन छाडिदिनुपर्छ । 

(साइमन जेनकिन्स गार्जियनका स्तम्भकार हुन्)
गार्जियनबाट