१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार o६:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालका दुवै युवा टोली पराजित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार o६:५७:oo

एएफसी यू–२० एसियन कप छनोट र साफ यू–१७ च्याम्पियनसिप खेलेका दुवै टोली शनिबार पराजित भएका छन् । नेपालले दुवै प्रतियोगितामा पहिलो खेल खेलेको हो । दुवै प्रतियोगितामा नेपालको नतिजा सुखद रहन सकेन । 

कम्बोडियासँग भएको खेलमा नेपाल ४–१ ले पराजित भयो । कम्बोडियालाई जित दिलाउन भ्रिएक फान, फोउक थाथाई, मिआन चिन्रथ र इभ सोभन्नाराले गोल गरे । समीर तामाङले गरेको गोल नेपालका लागि सान्त्वना बन्यो । नेपालमै भएको साफ यू–२० उपविजेता टिमका अधिकांश टोली समावेश गरेको नेपाल कम्बोडियाविरुद्ध निरीह बन्यो । प्रतियोगिता खेल्न चाइनिज ताइपेई पुगेको नेपालले कुनै पनि समय खेलमा दबाब बनाउन सकेन । चाइनिज ताइपेईमा कम्बोडियाले तीन मिनेटमै गोल गरेको थियो । 

खेलको तेस्रो मिनेटमा फानको गोलमार्फत कम्बोडियाले अग्रता लिएको थियो । चार मिनेटपछि नै थाथाईले टोलीको अग्रता दोब्बर बनाए । 

पहिलो हाफको इन्जुरी समयमा समीरले गोल गर्दै नेपाललाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, ६१औँ मिनेटमा चिन्नथले गोल गर्दा कम्बोडिया ३–१ ले अगाडि बढ्यो । निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा सोचन्नाराले गोल गर्दै कम्बोडियालाई सहज जित दिलाएका थिए । अब, नेपालले सोमबार आयोजक चाइनिज ताइपेईको सामना गर्नेछ । नेपाल रहेको समूह ‘बी’ मा उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया छन् ।

साफमा पनि हार
साफ यू–१७ मा नेपाल पाकिस्तानसँग १–० ले स्तब्ध बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिँदा दोस्रो हाफमा एक गोल भएको हो । भुटानको चाङलिमिथाङ रंगशालामा ८२औँ मिनेटमा पाकिस्तानले गोल गरेको हो । अब्दुल समादको कर्नरमा मोहम्मद थलहले हेडर गोल गरेका थिए । यसअघि सुवास बमको कप्तानीमा रहेको नेपालले खेलभर दबाब बनाएपनि सफल भएन ।