Skip This
कोशीका मुख्यमन्त्री कार्कीले दोस्रोपटक पाए विश्वासको मत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
गणेश लम्साल विराटनगर
२o८१ असोज २ बुधबार १७:३२:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोशीका मुख्यमन्त्री कार्कीले दोस्रोपटक पाए विश्वासको मत

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार १७:३२:oo

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तेस्रो कार्यकालमा दोस्रोपटक विश्वासको मत पाएका छन्। प्रदेश सभाको बुधबारको बैठकबाट मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत पाएका हुन्।

२७ वैशाख ०८१ मा तेस्रोपटक मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमाले र कांग्रेसको नयाँ गठबन्धनको सरकार बनेपछि बुधबार दोस्रोपटक विश्वासको मत परीक्षण गरेका छन्। तेस्रो कार्यकालमा मुख्यमन्त्री कार्कीले पहिलोपटक एमाले–माओवादी गठबन्धनको सरकारमा ३१ वैशाख २०८१ मा विश्वासको मत लिएका थिए।

बुधबारको मत परीक्षणमा मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत खस्दा १५ सांसदले विपक्षमा मत दिए। प्रदेश सभाका ९३ सांसदमध्ये ८३ सांसदले मतदानमा भाग लिएका थिए। प्रदेश सभाका विपक्षी दलहरू माओवादी केन्द्र र राप्रपाले विपक्षमा मतदान गरे। विपक्षी दल एकीकृत समाजवादीले कतै पनि मतदान गरेन। एकजना मात्र सांसद रहेको जनता समाजवादीकी निर्मला लिम्बू मतदानमा अनुपस्थित रहिन्।

९३ सदस्यीय कोशी प्रदेश सभामा सत्तागठबन्धनका एमालेसँग ४० र कांग्रेससँग २९ सांसद छन्। विपक्षी दलहरू माओवादी केन्द्रका १३, राप्रपाका ४, एकीकृत समाजवादीका ४ जना र जसपाको १ सांसद छन्। प्रदेश सभामा बहुमतका लागि ४७ र दुईतिहाइका लागि ६२ जना सांसदको मत चाहिन्छ।

कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश सभाको दोस्रो कार्यकालमा पहिलोपटक कांग्रेसबाहेकको संयुक्त गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए। तर, पहिचानसहितको नामकरण विवादले माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका कार्की विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका थिए। दोस्रोपटक कार्की एमालेको एकल सरकारमा २२ भदौ २०८० मा मुख्यमन्त्री बनेका थिए। तर, बहुमत पुर्‍याउन नसक्ने भएपछि उनले ३० दिनभित्रै राजीनामा दिएका थिए। फेरि २७ वैशाख २०८१ मा माओवादी गठबन्धनबाट तेस्रोपटक मुख्यमन्त्री बनेपछि कार्कीले पहिलोपटक ३१ वैशाख २०८१ म विश्वासको मत लिएका थिए।

कोशी प्रदेशमा एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेपछि ११ साउन २०८१ मा सरकारबाट बाहिरिएको माओवादी केन्द्रले १४ भदौमा सरकालाई दिएको सर्मथन फिर्ता लिएको थियो। सत्तागठबन्धनमा रहेको कांग्रेस १४ भदौमा सरकारलाई समर्थन गरेर २८ भदौमा सरकारमा सहभागी भएको थियो।