Skip This
पोखरा महानगरमा प्राधिकरणले सडककिनारका रुख काटेपछि विवाद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
२o८१ असोज ३ बिहीबार १७:४७:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पोखरा महानगरमा प्राधिकरणले सडककिनारका रुख काटेपछि विवाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १७:४७:oo

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पोखरा वितरण केन्द्रले महानगरको सडककिनारका रुख काटेपछि विवाद सुरु भएको छ। पोखरा महानगरपालिकामा सडककिनारका रुख अनुमति र समन्वयविना काटेपछि प्राधिकरण र महानगरबिच विवाद सुरु भएको हो।

प्राधिकरणले रुख काटेपछि महानगरका प्रमुख धनराज आचार्यले सामाजिक संजालमार्फत असन्तुष्टि पोख्दै लेखेका छन्, ‘पोखरामा हामीले ‘ग्रिन पोखरा, क्लिन पोखरा’ परियोजना सुरु गरेका छौँ, जसअन्तर्गत दुई लाख २६ हजार बिरुवाविज्ञको सिफारिसअनुसार रोप्ने लक्ष्य लिएका छौँ। तर, धेरै वर्ष लगाएर हुर्केका सडककिनाराका रुखहरू विनासमन्वय निर्ममतापूर्वक काटिएको खबर प्राप्त भएको छ। विद्युत् प्राधिकरणका हाकिम साबलाई म सोध्न चाहन्छु– 'यस्तो अधिकार कसले दियो हाकिम साब ?’

सडककिनाराका बिरुवा विनाअनुमति काट्न खोजिएको देखिएमा महानगरको हटलाइन वा नगर प्रहरीलाई सम्पर्क गरिदिन मेयर आचार्यले आग्रह गरेका छन्। प्राधिकरणले गत माघदेखि महानगरपालिकाको सडककिनाराका रुखहरू काट्न थालेको हो। सो समयमा प्राधिकरणलाई रुख काट्नुअघि समन्वय गर्न भने पनि हालसम्म गरी प्राधिकरणले करिब २५० रुख काटेको मेयर आचार्यले बताए। ‘बिचमा दुई–चार बोट काट्ने गरेका थिए, तर गएको शनिबार मात्र पोखराको मुख्य बजार न्युरोड क्षेत्रमा रहेका करिब ५० वटा रुख प्राधिकरणले खेताला पठाएर काटेको छ,’ उनले भने।

नागरिकको सुरक्षाका हिसाबले विद्युतका तारलाई असर गरेका रुख काट्ने कुरामा महानगरको सहमति भए पनि प्राधिकरणले मनपरी हिसाबले रुख काटेको मेयर आचार्यको भनाइ छ। ‘यो रुख काट्ने समय पनि होइन, नकाट्नुपर्ने रुखसमेत काटिएको छ। कुनै समन्वय र जानकारी दिइएको पनि छैन्। अनि बिदाको दिन पारेर काटिएको छ,’ उनले भने, ‘काटछाँट गर्ने नाममा भद्रगोल तरिकाले काटिएको छ, एउटा हाँगा काटे हुनेमा मेसो लगाएर पूरै रुख मुडुल्याइएको छ।’ आधुनिक हतियार प्रयोग नगरी एउटै रुखमा धेरैपटक दाग लाग्ने गरी काटिएकाले रुखको धेरै भाग च्यातिएर बोक्रा लाछिएको, काटेका रुख र हाँगा सडकमै छोडिएको, समान तरिकाले नकाटी मनपरी ढंगले काटिएको आचार्यको आरोप छ।

पालिका क्षेत्रभित्र रुखबिरुवाको संरक्षण गर्ने अधिकार सम्बन्धित पालिकाको हुने कानुनी व्यवस्था रहेको भन्दै उनले के कारणले कोसँग अनुमति लिएर रुखबिरुवा काटिएको हो कारणसहित उपस्थित हुन पत्र काटिएको जानकारी दिए। महानगर प्रहरीले रुख काट्न प्रयोग गरिएको हतियारसँगै एउटा भर्‍याङ नियन्त्रणमा लिएको छ।

यस सन्दर्भमा प्राधिकरणको पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले तार छोएका कारण नागरिकको सुरक्षालाई ध्यान दिएर रुख काटिएको जवाफ दिएका छन्। महानगरसँग समन्वय र अनुमति नलिई कटान गर्नु आफूहरूको गल्ती भएको उनले स्वीकार गरे। सो दिन त्यस क्षेत्रमा लामो समय विद्युत् प्रवाह रोक्नुपर्ने भएकाले सोही मेसो पारेर कटानको काम गरिएको उनले बताए। कार्यालयले प्रत्येक वर्ष दुईपटक भदौ–असोज र माघ-फागुनमा रुख काट्ने गरेको उनले जानकारी दिए। केही स्थानमा तार रुखले ढाकेका कारण सोही मेसोमा एउटा क्षेत्रमा एकैपटक काटेको उनको भनाइ छ।