दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका– ५ को ‘ध्ये गाउँ’ यतिवेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो ।
जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरू बस्ती छाड्न बाध्य भए । पानी खोज्दै हिँडेका उनीका लागि कालान्तरमा आफ्नै थातथलो बिरानो भयो । उनीहरूले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन, स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गयो । मानिस बस्न छाडेपछि पुराना घरहरू भत्किँदै गएका छन् । बस्ती खण्डहर र उराठलाग्दो देखिन्छ ।
पानी खोज्दै बसाइँ सर्नेहरू बढेपछि ध्येको सयाैँ हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिका– ५ का वडाध्यक्ष पासाङ गुरुङले पानीको समस्याका कारण आन्तरिक बसाइँसराइ भएपछि ध्ये गाउँमा बस्ने कोही पनि नभएको जानकारी दिए।
‘सिँचाइ र खानेपानीको मुहान सुकेपछि बस्न सक्ने स्थिति रहेन,’ उनले भने, ‘जमिन सबै बाँझो हुँदै गयो । मानिस र पशुले पानी खान नपाएपछि थातथलो छाडेर बसाइँ सर्नुपर्ने बाध्यता आएको हो ।’ उनले आफूले बाल्यकालदेखि नै ध्येमै बिताए पनि अहिले पानीकै कारण छाड्न बाध्य भएको सुनाए।
खेती–किसानी र पशुपालन ध्येवासीको जीविकोपार्जनको मुख्य आधार हो । हिउँदमा हिउँ कम पर्न थालेपछि मुहान सुकेको वडाध्यक्ष गुरुङले बताए। ‘पानीको मुख्य स्रोत नै हिउँ थियो, जलवायु परिवर्तनका कारण भनेजति हिउँ पर्न छाड्यो,’ उनले भने, ‘भएका प्राकृतिक मुहान सुक्दै गए भने हिउँ कम परेकाले पानीको अभाव चर्कियो ।’ उनका अनुसार अहिले स्थानीयहरू बर्खामा भेडा–च्याङ्ग्रा चराउनका लागि मात्र गोठ लिएर ध्ये जाने गर्छन् । पानी पर्न छाडेपछि खेतीयोग्य जमिनमा खेती हुन छाडेको छ ।
ध्ये साबिक सुर्खाङ गाविसको वडा नम्बर ९ पर्दथ्यो । अहिले ध्ये र थामजुङ एउटै वडामा पर्छन् । यहाँ गुरुङ र लोवा जातिका मानिसको बसोवास बाक्लो छ । पानीको अभाव बढ्दै गएपछि तत्कालीन गाविस र जिल्ला विकास समितिले बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढाएका थिए । सरकारी र दातृ निकायको सहयोगमा नयाँ बस्तीमा पूर्वाधार निर्माण भएको वडाध्यक्ष गुरुङले बताए। नयाँ बस्तीमा उनीहरूले स्याउखेती गरिरहेका छन् । ‘तापक्रम वृद्धि र जलवायु परिवर्तनले सबैभन्दा बढी असर हामीलाई पारेको छ,’ उनले भने ।
ध्ये गाउँ समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा छ । ध्येवासी बसाइँसराइ गरेको थामजुङस्थित नदी किनारको बस्ती तीन हजार सात सय मिटर उचाइमा छ । उक्त गाउँमा हाल २६ घरधुरीको बसोवास छ ।
बस्तीसँगै विद्यालय पनि थामजुङमा सारिएको छ । ०६४ देखि नै ध्येवासी बसाइँ सरेर बेँसीमा रहेको थामजुङमा झर्ने क्रम सुरु भएको थियो । चराङ र सुर्खाङको नजिकै रहेको थामजुङमा खानेपानी, विद्युतलगायत सुविधा छ।