उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीमैत्री वातावरणको आधार खोज्नुपर्ने बताएका छन् । मंगलबार सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै उनले निजी क्षेत्रलाई अंकुश नलगाउन सरकारसँग बारम्बार आग्रह गरे पनि सुनुवाइ नभएको बताए ।
अध्यक्ष ढकालले सरकारलाई बजारको मागलाई संकुचित नगर्न आग्रह गर्दा पनि सुनुवाइ नहुँदा अहिलेसम्म बजार चलायमान हुन नसकेको बताए । उनले निजी क्षेत्रलाई अख्तियारले हेर्ने गरी ल्याइएको विधेयकलाई निरन्तर दबाब दिएकै कारण उक्त व्यवस्थालाई संशोधन गर्ने गरी नै छलफल भइरहेको बताए । ‘अहिले छलफलमा रहेको विधेयकमा सबैको साथ र सहयोग आवश्यक छ, यदि कानुन जस्ताको त्यस्तै पारित भए लगानी थप निरुत्साहित हुनेछ ।’ अख्तियारलगायतका निकायको भूमिका निजी क्षेत्रमा रहने कि नरहने भन्ने विषय प्रस्ट हुनुपर्ने आवश्यकता औँल्याए ।
अध्यक्ष ढकालले उद्यमी–व्यवसायीले बैंकमा स्वामित्व भएकै कारण अन्यत्र लगानी गर्न नपाउने व्यवस्था लागू भए उत्पादन वृद्धि र रोजगारी सिर्जना प्रभावित हुने बताए ।
उद्योग वाणिज्य महासंघको असन्तुष्टि
- अख्तियारले निजी क्षेत्रलाई नियमन गर्ने कानुन पारित भए स्वदेशी तथा विदेशी लगानी निरुत्साहित हुन्छ ।
- निजी क्षेत्र निरन्तर निगरानीमा छ । नियामक र निगरानी बढाउने नीति एकपछि अर्को आइरहेका छन् ।
- लगानी र नाफा संकुचन हुने आधार देखिएकाले लगानी बढ्न सकेको छैन र रकम बैंकमा थन्किएको छ ।
- मागलाई संकुचित नगर्न र निजी क्षेत्रलाई अंकुश नलगाउन बारम्बार आग्रह गरिरहेका छौँ । तर, सुनुवाइ भएको छैन ।
- अहिले वित्तीय क्षेत्रमा निकै तरलता छ भने ब्याजदर पनि तल आइसकेको छ । तैपनि, बजारमा माग बढ्न सकेको छैन ।
- बैंक वित्तीय संस्थासम्बन्धी ऐनमा १ प्रतिशतभन्दा बढी बैंकमा सेयर हुने व्यक्तिले अन्यत्रबाट ऋण लिनै नपाउने भन्ने व्यवस्था गर्ने भनिएको छ । लगानीकर्तालाई यसरी निषेध र नियन्त्रण नगरौँ ।
- नेपालसँगै विश्व व्यापार संगठनको सदस्य भएको कम्बोडियाले दुई अर्ब डलर र इथियोपियाले साढे तीन अर्ब डलर वार्षिक रूपमा विदेशी लगानी भिœयाउँछन् । तर, हामीकहाँ वार्षिक सात करोड डलर मात्रै आइरहेकोृ छ ।
- भारत, चीन र दुबईमा बिजेनेस समिट गरेर विदेशी लगानी आकर्षित गर्न महासंघका तर्फबाट विशेष पहल गरेका छौँ ।
- विदेशीको सुझाव र आवश्यकताअनुसार महासंघको आग्रहमा सरकारले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पारेको छ । अब सम्झौता गर्नुपर्छ ।
- ढुकुटीमा हालसम्मकै उच्च विदेशी विनिमय सञ्चिति, भुक्तानी सन्तुलन र चालू खाता पनि सकारात्मक छ । यसले वित्तीय स्थायित्व देखाउँछ, तर के आर्थिक गतिविधि बढाउन परिसूचकको स्थयित्व मात्रै चाहिन्छ कि निजी क्षेत्रको मनोबल ? अहिले यो बहसको विषय बनेको छ ।