Skip This
समाजवादी मोर्चा जनस्तरमै कार्यक्रम लिएर जाने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज २ बुधबार o८:४१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

समाजवादी मोर्चा जनस्तरमै कार्यक्रम लिएर जाने 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार o८:४१:oo

समाजवादी मोर्चाले जनस्तरमै कार्यक्रम लिएर जाने तयारी गरेको छ । कार्यदलले तयार पारेको मस्यौदालाई शीर्ष नेताहरूले अनुमोदन गरेपछि कार्यक्रमसहित जनतामा जाने तयारी छ । कार्यदलले मोर्चाको समीक्षा, आगामी कार्ययोजनासहित कस्तो समाजवाद भन्ने विषयमा मस्यौदा तयार गरेको छ । कार्यदलमा माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, नेकपाबाट खड्गबहादुर विश्वकर्मा र नेसपाबाट गंगानारायण श्रेष्ठ छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश परामर्श बैठकमा व्यस्त भएका कारण शीर्ष तहमा थप छलफल हुन नपाएको कार्यदल सदस्यहरूले बताएका छन् । 

गंगानारायण श्रेष्ठ, नेता, नेसपा
कार्यदलमा औपचारिकता दिन मात्रै बाँकी छ । कार्यदल सदस्य देव गुरुङको व्यस्तताका कारण कार्यदलस्तरबाट फाइनल हुन बाँकी छ । मोटामोटी मस्यौदा तयार भइसकेको छ । अब औपचारिकता दिएर शीर्ष नेतासमक्ष पेस गर्छौँ ।

गत १ साउनमा गठन भएको कार्यदललाई १५ दिनको समय दिइएको भए पनि हालसम्म प्रतिवेदनले अन्तिम रूपमा पाउन सकेको छैन । ‘कार्यदलमा औपचारिकता दिन मात्रै बाँकी छ । कार्यदल सदस्य देव गुरुङको व्यस्तताका कारण कार्यदलस्तरबाट फाइनल हुन बाँकी छ । मोटामोटी मस्यौदा तयार भइसकेको छ । अब औपचारिकता दिएर शीर्ष नेतासमक्ष पेस गर्छौँ,’ कार्यदल सदस्य श्रेष्ठले भने । पछिल्लो समय गुरुङ माओवादीको प्रदेशस्तरीय परामर्श बैठकमा व्यस्त छन् । श्रेष्ठका अनुसार पहिलो खण्डमा मोर्चाको समीक्षा, दोस्रो खण्डमा कार्ययोजना र तेस्रो खण्डमा कस्तो समाजवाद भन्ने सैद्धान्तिक व्यवस्था गरिएको छ । मोर्चा स्थापना भएर यहाँसम्म आइपुग्दा भएका सकारात्मक काम र देखा परेका समस्या र कमजोरी पनि मस्यौदामा समेटिएको छ । कार्ययोजनामा संघीय, प्रदेश र स्थानीय सरकार तीनै ठाउँमा मोर्चाले सशक्त ढंगले कार्यक्रम लिएर जाने उल्लेख छ । ‘सरकारको सकारात्मक कुरालाई सकारात्मक नै भन्ने र गलत कामलाई प्रहार गर्दै जानेछौँ,’ श्रेष्ठले भने, ‘सदनको कुरा मात्रै भएन । जनस्तरमै कार्यक्रम लिएर जान्छौँ ।’ सदनदेखि सडकसम्मैका कार्यक्रम तय गरिएको उनले जानकारी दिए । कस्तो समाजवाद भन्ने विषयमा भने शीर्ष तहमा एकपटक परामर्श गरेपछि मात्रै निष्कर्षमा पुग्ने उनले बताए । ‘हाम्रो लक्ष्य समाजवाद निर्माणतर्फ अघि बढ्ने हो । समाजवाद कस्तो भन्ने विषयमा शीर्ष तहमा सैद्धान्तिक छलफल गरेपछि निष्कर्षमा पुग्छौँ,’ श्रेष्ठले भने ।

मोर्चालाई प्रभावकारी बनाउन नेपाल सक्रिय
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मोर्चालाई प्रभावकारी बनाउन सक्रिय भएका छन् । मोर्चालाई प्रभावकारी बनाउने उद्देश्यसहित मोर्चामा आबद्ध दलका नेताका साथै अन्य साना वाम दलका नेताहरूसँग नेपालले छलफल गरिरहेका छन् । मोर्चाबाट बाहिरिएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नवगठित जसपाका अध्यक्ष अशोक राई, नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, मालेका महासचिव सिपी मैनाली, मसालका महामन्त्री मोहनविक्रम सिंह, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलगायतसँग उनले छलफल गरेका छन् । तत्काल कार्यगत एकता गर्दै अघि बढ्ने सन्दर्भमा छलफल भइरहेको एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । एकीकृत समाजवादीले महाधिवेशनबाटै समाजवादी कार्यक्रम पारित गरेकाले त्यसका लागि पहल थालिएको नेताहरूले बताएका छन् । 

४ असार ०८० मा घोषणा भएको मोर्चामा माओवादी, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा थिए । तर, पछिल्लो बैठकमा जसपा भने सहभागी भएन । आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेकपाका महासचिव विप्लवले संयोजन गरिसकेका छन् । नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मोर्चाको लक्ष्य छ । विद्यमान राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्दै देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाउने उद्देश्य मोर्चाको छ । संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न साझा मुद्दा, लक्ष्य र उद्देश्य प्राप्तिका लागि मोर्चाका शीर्ष नेताहरूले प्रतिबद्धता जनाएका छन् ।