Skip This
महतोले खोले ‘राष्ट्रिय मुक्ति  क्रान्ति नेपाल’ पार्टी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २ बुधबार o८:२४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महतोले खोले ‘राष्ट्रिय मुक्ति  क्रान्ति नेपाल’ पार्टी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार o८:२४:oo

लोसपासँग असन्तुष्ट भएर ६ महिनादेखि राष्ट्रिय मुक्ति क्रान्ति अभियान सञ्चालन गर्दै आएका राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । राष्ट्रिय मुक्ति क्रान्ति अभियानको काठमाडौंमा मंगलबार भएको विस्तारित बैठकमा महतोले नयाँ पार्टी घोषणा गरेका हुन् । दसैँ–तिहारपछि निर्वाचन आयोगमा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी दर्ता गर्ने तयारी रहेको उनले बताए । महतोको अध्यक्षतामा पार्टी गठन गर्ने निर्णय विस्तारित बैठकले गरेको छ । उनले गत फागुनदेखि राष्ट्रिय अभियान चलाएका थिए ।

‘मंसिरदेखि सशक्त शान्तिपूर्ण संघर्ष र विद्रोहको चरणमा प्रवेश गर्ने कार्यदिशा रहेको र त्यसभन्दा पहिले नै राष्ट्रिय मुक्ति क्रान्तिले उठाएका माग र मुद्दालाई देश, जनताको अगाडि औपचारिक रूपले अल्टिमेटमसहित सार्वजनिक गर्ने कार्यक्रम पार्टीको तर्फबाट गर्नुपर्ने आवश्यकतालाई आत्मसात् गर्दै तत्काल नै अभियानलाई पार्टीका रूपमा रूपान्तरण गर्ने गरी राष्ट्रिय मुक्ति क्रान्तिको असोज १ गते बसेको राष्ट्रिय समितिको बैठकले राजेन्द्र महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक राजनीतिक दल गठन गर्ने निर्णय गरेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । नेपाललाई बहुराष्ट्रिय राज्यमा रूपान्तरण गर्ने लक्ष्य रहेको महतोले बताए । नयाँ पार्टीको नेतृत्व पूर्वउपप्रधानमन्त्री महतोले गर्नेछन् । महतो यसअघि मधेस सद्भावना परिषद्, सद्भावना पार्टी, सद्भावना पार्टी (आनन्दीदेवी) राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीमा थिए ।

केन्द्रीय समितिमा अभियानका सदस्यहरू नै रहेका छन् । अभियानमा पूर्वमन्त्री राजलाल यादव, पूर्वराज्यमन्त्री ओमप्रकाश यादव, पूर्वसांसद तथा प्रदेशमन्त्री रामनरेश राय, पूर्वराज्यमन्त्री गोविन्द चौधरी, पूर्वसांसद रामानन्द मण्डल, शैलकुमारी देवी र गौरीनारायण साह छन् । यस्तै, केशव झा, राजीव झा, कमला गुरुङ, सुमन सायमी, बुद्धछिरिङ मोक्तान, सन्तोष मेहता, अनिल महासेठ, कौशल सिंहलगायत छन् ।