Skip This
इन्द्रजात्रामा बालेनको फोटो अंकित टिसर्ट लगाउने १३ पक्राउ, ६ घण्टापछि रिहा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ असोज २ बुधबार o६:४o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

इन्द्रजात्रामा बालेनको फोटो अंकित टिसर्ट लगाउने १३ पक्राउ, ६ घण्टापछि रिहा

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार o६:४o:oo

इन्द्रजात्राको मुख्य दिन मंगलबार वसन्तपुर क्षेत्रमा राष्ट्रप्रमुखलगायत भिभिआइपीको सवारी हुने भएपछि सुरक्षा व्यवस्था पनि निकै कडा पारिएको थियो । जात्रा हेर्न जाने सर्वसाधारणलाई बाटैबाट फर्काइएको थियो, प्रहरीले एक–एक गरी सुरक्षा जाँच र निगरानी राखिरहेको थियो । त्यसै क्रममा वसन्तपुर दरबार क्षेत्रमा करिब २:४० बजे काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको फोटोअंकित टिसर्ट लगाएका युवा आए । उनीहरू शान्तिपूर्वक जात्रामा सहभागी भइरहेका थिए । कुनै असभ्य व्यवहार देखाएका थिएनन् ।

तर, ती युवाको टिसर्टमा छापिएको मेयर शाहको फोटोमा प्रहरीको नजर पर्‍यो । प्रहरीले मेयर शाहकै फोटोअंकित टिसर्ट लगाएका कारण १३ जनालाई पक्राउ गर्‍यो । उनीहरूलाई भ्यानमा राखेर जनसेवा प्रहरी वृत्तमा लगियो । मेयर शाहको फोटो भएको टिसर्ट लगाएका सुजन तिमिल्सिना, सुरज राउत, आशिष बुढाचार्य, मञ्जु गौतम, सविना शाहीलगायतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू सबै काठमाडौं महानगरवासी हुन् । पक्राउ गरेर उनीहरूलाई जनसेवा प्रहरी वृत्त विशालबजारमा राखिएको थियो । त्यतिवेला भिभिआइपी सवारी भने भइसकेको थिएन । 

टिसर्ट लगाएकै आधारमा पक्राउ परेका काठमाडौं महानगरपालिका–१९ रामघाटका सुजन तिमिल्सिनाले आफूहरू बालेन शाहको समर्थक भएको र स्वस्फुर्त ढंगले टिसर्ट तयार पारेर लगाएको बताए । त्यहाँ पुुगेर कुनै अवरोध तथा होहल्ला नगरेको दाबी गर्दै तिमिल्सिनाले प्रहरीले आफूहरूलाई अन्धाधुन्द समातेर लगेको बताए । ‘हामी साथीभाइ मिलेर टिसर्ट प्रिन्ट गरेका हौँ, अझ मैले नै टिसर्ट तयार पारेको हुँ, हामीलाई कसैले भनेको होइन, बालेन मनपर्ने भएर उहाँलाई भेट्न टिसर्ट लगाएर जाँदै थियौँ,’ उनले भने, ‘तर हामीलाई पक्राउ गरियो, ६ घण्टा प्रहरीले नियन्त्रणमा लियो, तर खास कारण सोध्दा प्रहरीले केही भनेन, जात्रा हेर्न जाँदा प्रहरीले पक्राउ गर्छ भनेर सोचेका पनि थिएनौँ, तर प्रहरीले टिसर्ट देख्दैमा पक्राउ गर्‍यो, एउटा राम्रो काम गरिरहेको र मनपरेको व्यक्तिको फोटोसहितको टिसर्ट लगाउँदा यस्तो गर्न पाइन्छ ?’ उनका अनुसार बालेन समर्थक र विरोधी समूहबिच झगडा पर्न सक्ने भन्दै पक्राउ गरेको बताइएको थियो । साँझ ७ बजेपछि मात्रै उनीहरूलाई प्रहरीले छाडेको थियो । १३ जनामध्ये पाँच महिला र आठ पुरुष थिए । 

स्रोतका अनुसार इन्द्रजात्रामा मेयर बालेन्द्र शाहको नाममा हुटिङ हुने अवस्था भएमा प्रधानमन्त्री सहभागी नहुने आयोजकलाई समेत प्रधानमन्त्री कार्यालयले सचेत गराएको थियो । सोही सर्तसहित प्रधानमन्त्री आउने भएकाले प्रहरीले आवश्यकभन्दा बढी कडाइ गरेको स्रोतले बतायो । त्यसो त पछिल्लो समय काठमाडौैंका मेयर बालेन्द्र साहसँग पनि उनको टसल पर्दै आएको छ । एमालेकी प्रदेश सांसदले बालहिंसा गरेको विषय मेयर शाहले उठाउँदै आएका थिए । सोही विषयमा पछिल्लो समय मेयर शाह र प्रधानमन्त्री ओलीबिच जुहारीसमेत चलेको थियो । 

इन्द्रजात्रामा पनि काठमाडौंका मेयर बालेन्द्र शाह उपस्थित नहुनुको एउटा कारण प्रधानमन्त्रीसँगको धमिलो सम्बन्ध रहेको स्रोतको भनाइ छ । मेयर बालेन्द्र शाह भारत भ्रमणमा रहेको र जात्रामा नआउने पक्का भएपछि प्रधानमन्त्री सहजै कार्यक्रममा पुगेको स्रोतको दाबी छ । तर, उनले मेयर शाहको पक्षमा हुटिङ गर्नेमाथि निगरानी राख्न प्रहरीलाई निर्देशनसमेत दिएको स्रोतले बतायो । ‘प्रधानमन्त्रीज्यूको सचिवालयले नै मेयर शाहका समर्थकले हुटिङ तथा नारा लगाउलान्, त्यसबारे ख्याल गर्नू भनेर सुरक्षा निकायलाई भनेकोे रहेछ, हामीलाई पनि मेयर शाहको पक्षमा हुटिङ हुने अवस्था नगराउनु वा होहल्ला नहोस् भनेर जानकारी आएको प्रधानमन्त्रीको सचिवालयबाट जानकारी आएको थियो,’ इन्द्रजात्रा व्यवस्थापन समितिका एक सदस्यले भने, ‘मेयर शाह नआएकाले हुटिङ पनि भएन, नत्र थप रौनक हुन्थ्यो ।’

इन्द्रजात्रामा युवा संघका कार्यकर्ता परिचालन
इन्द्रजात्राका वेलामा एमालेले युवासंघका कार्यकर्तासमेत वसन्तपुर क्षेत्रमा परिचालन गरेको थियो । मेयर शाहका समर्थकले के–के गर्छन् र कसरी आउँछन् भन्ने विषयमा युवासंघका कार्यकर्ताले निगरानी राखेका थिए । टिसर्ट लगाउने विषय सामान्य भए पनि प्रधानमन्त्रीले नै अग्रिम आदेश दिएका आधारमा प्रहरीले पक्राउ गरेको स्रोतले बतायो । 

जिल्ला प्रहरीपरिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले उनीहरूकै सुरक्षाका लागि प्रहरीले केही समय सुरक्षित स्थानमा राख्न लगेको बताए । ‘यसलाई पक्राउ भन्न मिल्दैन, झडपकोे स्थिति होला भनेर सुुरक्षित ठाउँमा प्रहरीले लगेको हो, केही समय जनसेवामा राखेर छाडिएको छ, छाड्न केही ढिलो भने भएको हो,’ उनले भने । 

मेयर बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले इन्द्रजात्रा हेर्न गएका वेला पक्राउ गर्नुले सर्वसाधारणको नैसर्गिक अधिकार हनन भएको बताए । ‘सरकारले एउटा नागरिकको नैसर्गिक अधिकार खोसेको छ, सायद प्रधानमन्त्रीज्यूको फोेटोअंकित टिसर्ट लगाएको भए समातिँदैनथ्यो, तर मेयरज्यूको फोटो देखेपछि समातियो,’ उनले भने, ‘मेयरसापको फोटोसहितको टिसर्ट लगाउनेहरू समर्थक हुन्, स्वस्फुर्त आएका हुन्, तर प्रहरीले पक्राउ गरेर गलत गरेको छ ।’