Skip This
सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सुरु  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौँ
२o८१ असोज २ बुधबार o६:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सुरु  

सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनुका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार o६:११:oo

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेतपक्ष आदि नामले पनि बुझिन्छ ।

चाडपर्व यज्ञयागादि तथा ठुला कार्य गर्नुअघि पितृलाई श्रद्धाभक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आस गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन् ।

कारणवश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन्।

यो समयमा पनि कारणवश सोह्रश्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक संक्रान्ति अर्थात् मंसिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए ।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक एक सय आठ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठुला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । रासस