१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ७ शुक्रबार १६:५३:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पल्सर स्पोर्टस् अवार्ड : पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार १६:५३:oo

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८० को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै यस विधामा पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो।

आगामी भदौ २८ गते हुने अवार्डका लागि क्रिकेटका गुल्सन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमति विष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठ पिपल्स च्वाइसको मनोनयनमा परेका हुन्। पत्रकार सम्मेलनमा मनोनीत प्रीति र गुल्सन भने उपस्थित थिएनन्।

प्रीति एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको प्रतिस्पर्धाका लागि उनको क्लब एपिएफसँग मलेसिया पुगेकी छिन् भने गुल्सन भारतमा नेपाली क्रिकेट टोलीको प्रशिक्षणमा छन्।

पिपल्स च्वाइसको विजेता चयन खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई–सेवाकोे भोटिङबाट हुने आयोजकले जनाएको छ। ५० प्रतिशत मतभार रहने इसेवाको भोटिङ शुक्रबारदेखि नै सुरु भइसकेको छ। सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजमा रहेको खेलाडीका फोटोमा लाइक), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र एनएसजेफ सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ।

कमलादास्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने पल्सर स्पोर्टस् अवार्ड २०८० मा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड र टिम अफ द इयर गरी कुल नाै विधामा अवार्ड प्रदान गरिँदै छ । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुप रहेको छ।

आयोजकका अनुसार यसपटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेतालाई पाँच थान बजाज पल्सर मोटरसाइकल प्रदान गरिँदै छ। पिपल्स च्वाइस अवार्डका विजेताले पल्सरको एनएस ४०० सिरिज प्राप्त गर्नेछन् । यो बजाजको नयाँ बाइक हो। अन्य चार विधाका विजेताले एनएस २०० पाउनेछन् । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।