१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
रासस इलाम
२o८१ भदौ ७ शुक्रबार १२:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना

Read Time : > 1 मिनेट
रासस, इलाम
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार १२:३६:oo

छेकी शेर्पा १९ वर्षकी भइन्। उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन्। साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै  आएकी छिन्। 
    
त्यसो त सवारी चलाउने महिला अरू पनि नभएका भने हाेइनन्। तर, पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको संख्या नगन्य छ। यात्रुसहितको सवारी चलाउने उनी इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एक मात्र किशोरी हुन् । 
    
पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जोकोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उनले गाडी चलाउन थालेकी हुन्। बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उनी बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जान्छिन्। दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्छिन् । 
    
उनको बुबा पहिलेदेखि सवारीचालकको काम गर्थे । घरमा तीन छोरी भएका कारण बुबाकै सहयोगमा चालक बनेको उनी बताउँछिन् । सुरुमा बुबाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उनले बिस्तारै राम्रोसँग चलाउन थालिन् ।  छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताए । 

‘मलाई बुबाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ । परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्न सक्ने भएकी छु,’ उनले भनिन्। छेकीले गाडी चलाउँदा केही यात्रुहरूले सुरुमा विश्वास गर्दैनथे । उनले चलाएको गाडीमा चढ्नै मान्दैनथे । तर, हिजोआज यात्रुहरूले छेकीमाथि यति विश्वास गर्न थाले कि उनले चलाएको गाडी खोजी–खोजी चढ्न थालेका छन् । 

उनले  बर्खायाममा पनि खर्च कटाएर मासिक ३० हजारभन्दा बढी कमाउने गरेकी छिन्। बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँदमा धेरै आम्दानी हुने गरेको उनको भनाइ छ । सिजनमा मासिक रु. एक लाखहाराहारी कमाउने गरेको सो क्षेत्रका सवारीचालकहरू बताउँछन् । 
    
कक्षा १२ सम्म अध्ययन गरेकी उनले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ । उनले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देखेकी छिन् । ‘दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ,’ उनले भनिन् । रोजगारीको खोजीमा धेरै नेपाली महिला बिदेसिने गरेका छन् । तर, महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिएकी छिन् छेकीले ।
    
जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले उनको गाडी रोज्ने गरेको बताउँछन् । ‘केही पुरुष चालकले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ,’ स्थानीय यात्रु दावा शेर्पाले भने, ‘तर, उहाँले त मदिरा सेवनसमेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ ।’