१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ भदौ ७ शुक्रबार ११:२१:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अलपत्र बाहिरी चक्रपथ आयोजना : बजेटमा समेत समेट्न छाड्यो सरकारले

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार ११:२१:oo

सात वर्षअघि नै पहिलो खण्ड निर्माणको घोषणा भएको बाहिरी चक्रपथ त्यसयता अलपत्र अवस्थामा छ । ०७४ मा पहिलो खण्ड (चोभार–सतुंगल ६.६ किलोमिटर) निर्माणको घोषणा भए पनि हालसम्म केही काम अगाडि बढ्न सकेको छैन । काम कहिलेदेखि सुरु गर्ने भन्नेसमेत कुनै निर्णय हुन सकेको छैन ।

चालू आर्थिक वर्षको बजेटमा समेत बाहिरी चक्रपथका लागि कुनै पनि शीर्षकमा बजेट छुट्याइएको छैन । उपत्यका विकास प्राधिकरणअन्तर्गत बाहिरी चक्रपथ आयोजना प्रमुख प्रकाश अर्यालका अनुसार काम अगाडि बढाउनका लागि कुनै पनि स्रोत नभएकाले यो वर्ष पनि काम हुनेछैन ।

प्रकाश अर्याल, प्रमुख, बाहिरी चक्रपथ आयोजना
काम गर्न स्रोत चाहिन्छ । हामीसँग स्रोत छैन । यसपटक बजेटमा बाहिरी चक्रपथका लागि रकम विनियोजन भएन । हालसम्म बाहिरी चक्रपथ निर्माणबारे कुनै छलफल पनि हुन सकेको छैन ।

आयोजना प्रमुख अर्यालले भने, ‘काम गर्न स्रोत चाहिन्छ । हामीसँग स्रोत छैन । यसपटक बजेटमा बाहिरी चक्रपथका लागि रकम विनियोजन भएन । हालसम्म बाहिरी चक्रपथ निर्माणबारे कुनै छलफल पनि हुन सकेको छैन ।’ उनका अनुसार बजेट संशोधनका क्रममा केही व्यवस्था हुन सकेन भने बाहिरी चक्रपथका कुनै काम हुन सक्दैन । 

पहिलो खण्डको काम सुरु गर्न मन्त्रिपरिषद्बाट आयोजना निर्माण स्वीकृत भई २५ जेठ ०७४ मा राजपत्रमा सूचना प्रकाशन भएको थियो । त्यसयता कुनै पनि काम नभएपछि हालको अवस्था बुझ्न फेरि अध्ययन गर्नुपर्ने भएको छ ।

आयोजनाका अनुसार दुई वर्षअघि भएको एक अध्ययनले बाहिरी चक्रपथको पहिलो खण्डमा मात्रै एक सय अस्थायी र २८ वटा स्थायी संरचना निर्माण भएका छन् । त्यसबापत क्षतिपूर्ति नै डेढ अर्ब दिनुपर्ने हुन्छ । त्यसयता पनि स्थायी संरचना निर्माण भइरहेका छन् । त्यहाँ निर्माण भइरहेको स्थायी संरचना निर्माण रोक्नसमेत पहल भएको छैन । 

एक खर्ब पुग्यो आयोजनाको लागत 
बाहिरी चक्रपथ आयोजनाको कुल ७१.९३ किलोमिटरमध्ये ०६५ मा ५४.४८ किलोमिटरको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । बाँकी १७.५२ किलोमिटरको डिपिआर अझै बनेको छैन । आयोजनाको डिपिआर प्राधिकरणले निर्माण गर्ने भए पनि यसका लागि समेत हालसम्म कुनै पहल भएको छैन ।

प्राधिकरणका अनुसार बाहिरी चक्रपथको पहिलो खण्डको मुख्य सडकको फेरि अध्ययन सुरु गर्नुपर्ने भएकाले उक्त अध्ययनभन्दा अगाडि पूर्णडिपिआर बनाउन सम्भव छैन । सरकारले ०६५ देखि भौतिक निर्माणका लागि भन्दै वार्षिक २५ लाखका दरले बजेट विनियोजन गर्दै आइरहेको थियो । तर, त्यो रकम पनि चालू आवमा रोकिएको छ । प्राधिकरणका अनुसार आयोजनाको लागत ७४ अर्बबाट बढेर एक खर्ब १० अर्बभन्दा माथि पुगिसकेको छ ।

काठमाडौंको त्रिभुवन राजपथ–बलम्बूलाई शून्य किलोमिटर मानेर बाहिरी चक्रपथ निर्माण गर्ने सरकारको तयारी छ । नैकाप भञ्ज्याङ, थापागाउँआसपास, स्युचाटार, सीतापाइला, बाहिरी स्वयम्भू, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाइपास, गोंगबु, हिलेडोल, मनमैजु, बालुवाटारको छेउ, टोखा–सरस्वती क्षेत्र, चपली, चुनिखेल, टुसाल गाउँ, गोकर्णेश्वर, वामथली, नयाँपाटी हुँदै जानेछ ।

सीतापाइलाबाट हलचोक, गैरीगाउँ (इचंगुनारायणबाहिर), दौडिनेपानी, नेपालटार, फुटुङलाई चिर्दै १३ किलोमिटर क्षेत्रको टोखा–सरस्वती क्षेत्रमा मिलाउने गरी थप १५ किलोमिटर सडक निर्माण गर्ने योजना रहेको अवस्थामा बाहिरी चक्रपथको कुल लम्बाइ ८६ किलोमिटरभन्दा बढी हुनेछ । ललितपुरमा लुभु, विष्णुडोल, हरिसिद्धि, दशघर, मच्छेगाउँ हुँदै, तीनथानाको दक्षिण हुँदै सतुंगलसम्म पुगेर चक्रपथ बनाइनेछ ।

यसैगरी, भक्तपुर क्षेत्रमा चाँगुनारायण, फुँयालगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुन्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङडोल, जगाती, भक्तपुर नगरपालिका, हनुमन्ते खोलाको छेउ, अरनिको राजमार्ग, सिर्जनानगर, सल्लाघारी, त्रिभुवन विमानस्थलको बाहिरी क्षेत्र, दधिकोट, गाम्चा भएर निर्माण अगाडि हुने जनाइएको छ ।