१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
२o८१ भदौ ७ शुक्रबार ११:३७:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

कर्णालीका सात जिल्लामा करिब ४० हजार मेट्रिकटन खाद्यान्न अपुग

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार ११:३७:oo

सबैभन्दा धेरै कालीकोटमा १० हजार र सबभन्दा कम रुकुम पश्चिममा १६ सय मेट्रिकटन खाद्यान्न कम उत्पादन

कर्णाली प्रदेशका १० जिल्लामध्ये सात जिल्ला खाद्यान्नमा परनिर्भर रहेको पाइएको छ । डोल्पा, हुम्ला, मुगु, जुम्ला, कालीकोट, रुकुम पश्चिम र जाजरकोट जिल्ला करिब ४० हजार मेट्रिकटन खाद्यान्न अपुग रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको तथ्यांकले देखाएको छ । प्रदेशका सल्यान, दैलेख र सुर्खेतमा भने आफ्नो जिल्लालाई आवश्यक खाद्यान्न उत्पादन हुने गरेको छ । तीन जिल्लामा बढी भएको खाद्यान्नका कारण समग्र कर्णाली प्रदेशमा भने करिब २३ हजार मेट्रिकटन खाद्यान्न अपुग रहेको कार्यालयको तथ्यांक छ । 

तथ्यांकअनुसार डोल्पामा वार्षिक पाँच हजार, हुम्लामा आठ हजार पाँच सय ६५ मेट्रिकटन खाद्यान्न अपुग हुन्छ । त्यस्तै, मुगुमा ६ हजार चार सय ३९, जुम्लामा तीन हजार मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको छ । 

तथ्यांकअनुसार सबैभन्दा धेरै कालीकोटमा १० हजार तीन सय १७ मेट्रिकटन खाद्यान्न अपुग हुँदा रुकुम पश्चिममा एक हजार ६ सय १५ र जाजरकोटमा चार हजार दुई सय ९९ सय मेट्रिकटन खाद्यान्न वार्षिक अपुग हुने गरेको छ ।

निर्देशनालयका अनुसार सुर्खेतमा वार्षिक ९१ हजार ३३ मेट्रिकटन खाद्यान्न उत्पादन भएर चार हजार आठ सय ६७ मेट्रिकटन मौज्दात रहन्छ । त्यस्तै, सल्यानमा वार्षिक ४७ हजार सात सय ८८ मेट्रिकटन खाद्यान्न भए पनि ५२ हजार तीन सय ७४ मेट्रिकटन उत्पादन हुने गरेको छ । दैलेखमा वार्षिक ५६ हजार आठ सय १२ मेट्रिकटन उत्पादन हुन्छ, जबकि ५० हजार तीन सय ६१ मेट्रिकटन खाद्यान्न आवश्यक पर्छ ।

कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार वर्ष ०८० मा कर्णाली प्रदेशमा तीन लाख २० हजार आठ सय ९० मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ । राष्ट्रिय जनगणना ०७८ अनुसार कर्णाली प्रदेशको जनसंख्या १६ लाख ८८ हजार चार सय १२ रहेको छ । उक्त संख्याअनुसार कर्णालीमा वार्षिक एकजनालाई दुई सय एक किलो खाद्यान्न आवश्यक पर्ने मन्त्रालयका प्रवक्ता धन बहादुर कठायतले बताए ।

‘खासगरी कर्णालीमा अहिले वार्षिक तीन लाख २० हजार आठ सय ९० मेट्रिकटन खाद्यान्न उत्पादन हुने विगतको तथ्यांक छ । पूर्ण रूपमा खाद्यान्नमा आत्मनिर्भर हुन तीन लाख ४४ हजार तीन सय २४ मेट्रिकटन खाद्यान्न आवश्यक पर्छ,’ उनले भने, ‘अहिलेसम्म हामी परनिर्भर नै छौँ ।’ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको तथ्यांकअनुसार कर्णालीमा सबैभन्दा धेरै मकै उत्पादन हुन्छ । 

गत आवमा  दुई लाख १९ हजार आठ सय दुई मेट्रिकटन मकै, एक लाख ४५ हजार ६३ मेट्रिकटन धान र एक लाख ५२ हजार ६ सय २१ मेट्रिकटन गहुँ उत्पादन भएको छ ।

उवा एक हजार आठ सय १९ मेट्रिकटन उत्पादन हुँदा चिनो एक हजार ६ सय ८१ मेट्रिकटन, कागुनो नौ सय ३६ र लट्टे ४५ मेट्रिकटन उत्पादन भएको छ । जौ ११ हजार पाँच सय ५६, कोदो १६ हजार तीन सय १०, फापर तीन हजार ८८ मेट्रिकटन उत्पादन भएको छ ।

बर्सेनि धान उत्पादनमा कमी
निर्देशनालयका अनुसार कर्णालीमा आर्थिक वर्ष ०७६/७७ मा एक लाख ५१ हजार आठ सय पाँच मेट्रिकटन धान उत्पादन भएको थियो । ०७७/७८ मा एक लाख ५५ हजार सात सय ४१ मेट्रिकटन धान उत्पादन भयो । तर, पछिल्लो समयमा धान उत्पादन घट्दै गएको छ ।

आर्थिक वर्ष ०८०/८१ मा उत्पादकत्व घटेर एक लाख ४५ हजार ६३ मेट्रिकटनमा सीमित भयो । मन्त्रालयको तथ्यांकअनुसार हिमाली जिल्लाहरू डोल्पा, हुम्लामा धान उत्पादकत्व निकै कम छ ।

मन्त्रालयको तथ्यांकअनुसार धानखेती हुने जमिन पनि मासिँदै गएको देखिन्छ । कुल दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य रहेको कर्णालीमा दुई लाख १६ हजार आठ सय ८० हेक्टर क्षेत्रफल जमिनमा मात्रै खेती गर्ने गरिएको छ ।

आर्थिक वर्ष ०७६/७७ को तथ्यांकअनुसार ४५ हजार चार सय ६८ हेक्टर क्षेत्रफल जमिनमा मात्र धानखेती भएको थियो । तर, पछिल्लो समय यो घटेको मन्त्रालयको तथ्यांकले देखाउँछ । गत वर्ष ०८० मा ४१ हजार चार सय नौ हेक्टरमा धानखेती भएको छ । बढ्दो सहरीकरणले धान उत्पादनमा कमी भएको कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्र रोकायाले बताए ।

उनका अनुसार डोल्पामा एक सय ९९ हेक्टर, मुगुमा पाँच सय ९१, हुम्ला पाँच सय ९९, जुम्लामा दुई हजार नौ सय ५०, कालीकोटमा दुई हजार पाँच सय १५, रुकुम पश्चिममा तीन हजार ४८, सल्यानमा ६ हजार एक सय ३२ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । त्यस्तै, जाजरकोटमा दुई हजार आठ सय ५०, दैलेखमा सात हजार नौ सय २५ र सुर्खेतमा १५ हजार ९५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । कर्णालीमा कुल खेतीयोग्य जमिनमध्ये ३८ हजार चार सय ५३ हेक्टर क्षेत्रफलमा मात्रै वर्षभरि सिँचाइ सुविधा पुग्ने गरेको छ । त्यस्तै, ३० हजार तीन सय दुई हेक्टर क्षेत्रफल आंशिक सिँचाइ हुने क्षेत्रमा पर्छ ।

कर्णाली प्रदेश कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायत भन्छन्– 
राष्ट्रिय जनगणना ०७८ अनुसार कर्णाली प्रदेशको जनसंख्या १६ लाख ८८ हजार चार सय १२ रहेको छ । कर्णालीमा वार्षिक एकजनालाई दुई सय एक किलो खाद्यान्न आवश्यक पर्ने देखिन्छ । खासगरी कर्णालीमा अहिले वार्षिक तीन लाख २० हजार आठ सय ९० मेट्रिकटन खाद्यान्न उत्पादन हुने विगतको तथ्यांक छ । पूर्ण रूपमा खाद्यान्नमा आत्मनिर्भर हुन तीन लाख ४४ हजार तीन सय २४ मेट्रिकटन खाद्यान्न आवश्यक पर्छ । अहिलेसम्म हामी परनिर्भर नै छौँ ।