१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ६ बिहीबार
  • Thursday, 12 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ६ बिहीबार o६:o५:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : आलोचना सुनेर साध्य हुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ६ बिहीबार o६:o५:oo

एकपटक एकजना बाबु र उनका एक छोरा एउटा घोडा लिएर कुनै काम विशेषले कतै जाँदै थिए । एउटै घोडामा दुवै बाबुछोरा चढ्न नमिल्ने भएकाले उनीहरू दुवैजना घोडालाई डोर्‍याएर आफूहरूचाहिँ पैदल हिँड्दै थिए । गर्मीको समय थियो । घाम चर्केको हुनाले हिँड्न निकै कठिन भइरहेको थियो । दुवै बाबुछोरा असिनपसिन भइरहेका थिए । 

यस्तोमा छोराले बाबुलाई भने– बाबा ! हजुर धेरै थाक्नुभयो । हजुर घोडामा चढ्नुहोस् । म पैदल हिँड्छु । छोराको आग्रह बाबुलाई ठिकै लाग्यो । उनी घोडामा चढे । छोराचाहिँ घोडा डोर्‍याउँदै अघि बढे । अलि पर पुगेपछि एउटा बस्ती भेटियो । उनीहरूलाई देखेपछि बस्तीका मानिसले भने– हेर हेर, कस्तो निर्दयी बाबु रहेछ । आफूचाहिँ आनन्दले घोडा चढेर छोरालाई चाहिँ यो चर्को घाममा हिँडाउँदो रहेछ । 

गाउँलेको प्रतिक्रिया सुनेपछि बाबुले छोरालाई घोडामा बसाए र आफू घोडा डोर्‍याउँदै हिँडे । अलि पर पुगेपछि अर्को बस्ती भेटियो । बस्तीका मानिसले भने– हेर हेर, कस्तो निर्दयी छोरो रहेछ ए ! जवान भएर पनि आफू आरामले घोडामा चढेर बुढो बाबुलाई पो लगाम समात्न लगाएर हिँड्दो रहेछ । कलियुग भनेको यही होला । 

यस्तो प्रतिक्रिया सुनेपछि दुवै एकसाथ घोडामा चढे । अलि पर पुगेपछि अर्को बस्तीका गाउँलेले भने– कस्ता निर्दयी बाबुछोरा होलान् है ? यति सानो घोडाको ढाडै भाँच्चिने गरी एकसाथ कसरी दुवैजना चढ्न सकेका होलान् । गाउँलेको प्रतिक्रियापछि दुवै बाबुछोरा घोडाबाट ओर्लिएर एकसाथ घोडा डोर्‍याउँदै अघि बढे ।

अर्को बस्तीका गाउँलेले भने– हेर, हेर ! साथमा घोडा भएर पनि पसिना चुहाउँदै पैदल हिँड्ने मूर्ख पनि छन् है यो संसारमा ! बाबुछोराले बुझे, यो संसारमा अर्काको आलोचना सुनेर साध्य हुँदैन रहेछ ।