मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ३१ बिहीबार
  • Thursday, 19 December, 2024
२o८१ श्रावण ३१ बिहीबार o८:१४:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

दाबी भुक्तानी घटेपछि निर्जीवन बिमा कम्पनीको नाफामा उच्च वृद्धि

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ३१ बिहीबार o८:१४:oo

गत आर्थिक वर्ष ०८०/८१ मा निर्जीवन बिमा कम्पनीहरूको खुद नाफा ५२.८१ प्रतिशतले बढेको छ । अहिले नेपालमा १४ वटा ठूला निर्जीवन बिमा कम्पनीहरू सञ्चालनमा छन् । गत आवमा उनीहरूको खुद नाफा सात अर्ब ४३ करोड १३ लाख पुगेको छ । अघिल्लो आव ०७९/८० मा यी कम्पनीको खुद नाफा चार अर्ब ८६ करोड ३१ लाख ६५ हजार रुपैयाँ थियो । 

व्यवसायमा आएको शिथिलताका बाबजुत पनि निर्जीवन इन्स्योरेन्स कम्पनीको नाफामा उच्च वृद्धि देखिएको हो । गत आवमा उनीहरूको व्यवसाय २.३९ प्रतिशतले मात्रै बढेको छ । 

अघिल्लो आव ०७९/८० निर्जीवन बिमा कम्पनीहरूले ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका थिए । गत आवमा  २.३९ प्रतिशतभन्दा बढी अर्थात् ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको छ । यसरी व्यवसायमा खासै वृद्धि नदेखिँदा पनि नाफामा भने उच्च वृद्धि देखिएको हो । 

व्यवसाय कम भएपछि कम्पनीहरूले गर्नुपर्ने जोखिम प्रोभिजनिङ पनि घटेको छ । त्यसले नाफा बढाउन सहयोग पुगेको कम्पनीहरू बताउँछन् । निर्जीवन बिमा कम्पनीहरूले आफूले गरेको व्यवसाय (जोखिम)बापत निश्चित रकम प्रोभिजनिङ गर्नुपर्छ । यस्तो प्रोभिजनिङ रकम बिमा अवधि सकिएपछि फुकुवा हुन्छ र नाफा–नोक्सान खातामा सार्न सकिन्छ । 

नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रले आर्थिक शिथिलतामा भएको यो नाफालाई उपलब्धिमूलक मान्नुपर्ने बताए । ‘मर्जर भएका दुई कम्पनीको अघिल्लो आवको वित्तीय अवस्था मर्ज गर्दा नाफा पनि तलमाथि भएको हुन सक्छ । त्यसमा पनि वृद्धिदर बढाएको छ । चालू आवबाट मात्रै मर्जर कम्पनीको वास्तविक अवस्था देखिनेछ । यद्यपि, यो शिथिलतामा कमाएको नाफा एकदमै उत्साहजनक छ,’ उनले भने, ‘जोखिमका लागि गर्नुपर्ने प्रोभिजनिङ कम भएको, मर्जरका कारण खर्च कटौती भएको, दाबी भुक्तानी कम भएकोलगायतका कारण गत आवमा नाफा राम्रो भएको छ ।’

अघिल्ला वर्षहरूमा निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय उच्च थियो । त्यसअनुसार जोखिमबापत गर्नुपर्ने प्रोभिजनिङ रकम बढी थियो । त्यसवेलाको बिमा पोलिसीको अवधि सकिएसँगै प्रोभिजनिङमा राखेको रकम फुकुवा भएर गत वर्ष नाफा–नोक्सान खातामा सरेको बताइएको छ । साथै, गत वर्ष व्यवसाय उच्चदरमा नबढेपछि बिमा कम्पनीहरूले प्रोभिजनिङ गर्नुपर्ने रकम घटेको छ  । त्यसले गर्दा गत वर्ष नाफा उच्चदरमा बढेको बताइएको छ । गत वर्ष सामान्यदरमा बिमाशुल्क संकलन बढे पनि बढी जोखिम हुने मोटर बिमा, इन्जिनियरिङ बिमाको व्यवसाय घटेको छ । त्यसले गर्दा प्रोभिजनिङ कम भई नाफा बढाउन सहयोग पुगेको छ । 

यसैगरी, गत आवमा निर्जीवन बिमा कम्पनीहरूको दाबी भुक्तानी पनि २६.६० प्रतिशतले घटेको छ । अघिल्लो आवमा निर्जीवन बिमा कम्पनीले २४ अर्ब ४५ करोड ६१ लाख रुपैयाँ दाबी भुक्तानी दिएका थिए । तर, गत आवमा १७ अर्ब ९५ करोड ३ लाख मात्रै दाबी भुक्तानी भएको छ । यसरी अघिल्लो आवमा भन्दा ६ अर्ब ५० करोड ५८ लाख रुपैयाँ कम दाबी भुक्तानी हुँदा पनि नाफा बढ्न सहज भएको कम्पनी बताउँछन् । 

यसैगरी, बैंकमा निक्षेपको ब्याजदर उच्च हुँदा पनि कम्पनीहरूलाई नाफा बढाउन सहज भएको देखिन्छ । कम्पनीहरूले आफ्नो लगानीयोग्य रकमबाट ७० प्रतिशतभन्दा बढी रकम निक्षेपमा राख्ने गरेका छन् । त्यो अवस्थामा निक्षेपको ब्याजदरले पनि कम्पनीको आम्दानी तथा नाफा प्रभावित हुन्छ । अहिले बैंकको ब्याजदर कम भइसकेको छ । विगतमा देखिएको तरलता अभावलाई लक्षित गर्दै बैंकहरूले ब्याजदर उच्च बनाएका थिए । त्यसवेला बिमा कम्पनीहरूले मुद्दती निक्षेपमा राखेको कपितय पैसा अझै परिपक्व छैन । त्यसले गर्दा मुद्दती निक्षेपबाट आउने आम्दानी पनि अझै प्रभावित भइसकेको छैन । 

यसका अलावा चुक्तापुँजी बढाउने उद्देश्यले केही कम्पनीहरू मर्ज भएका थिए । त्यसले गर्दा उनीहरूको खर्च कटौती भएको छ । कतिपय कम्पनीले पुँजी बढाउन सम्पत्ति तथा सेयर बिक्री गरेका छन्, त्यसकारण पनि नाफा बढ्न सहयोग पुगेको कम्पनी बताउँछन् ।  

गत आवमा सबैभन्दा धेरै नाफा नेपाल इन्स्योरेन्सले गरेको छ । उक्त कम्पनीले ७० करोड ६ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसैगरी, सिद्धाथ प्रिमियर इन्स्योरेन्सले ६९ करोड २३ लाख १९ हजार रुपैयाँ नाफा कमाएर आपूmलाई दोस्रो स्थानमा राख्न सफल भएको छ ।