१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ श्रावण १२ शनिबार १२:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खन्यखोलाको बाँध भत्कियो : खहरे खोला गाउँतिर उर्लिँदा तिकलपुरको कालिका विद्यालय उच्च जोखिममा

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार १२:३८:oo

कञ्चनपुरको सिरानी उत्तरी चुरे भएर बग्ने खन्यखोलाको बाँध भत्किएपछि खहरे खोला गाउँतिरै उर्लिएको छ। गत असार अन्तिम साता र साउन पहिलो साता परेको भीषण वर्षाले खन्यखोलाको बाँध भत्किएपछि खहरे खोला भीमदत्त नगरको ३ र ७ वडाको सीमावर्ती हल्दुखाल, तिकलपुर गाउँमा पसेको हो। चुरे भएर बग्ने खहरे खोला गाउँतिर आएर स्थानीय नागरिकका घर, गोठ र खेतबारीमा पसेर कटान, पटान, डुबान भएको छ। डुबान नियन्त्रणमा आए पनि अहिले कटान, पटानकै समस्या रहेको छ। 

भीमदत्त नगरपालिका- ३ का वडाध्यक्ष गगन धामीले झन्डै एक सय मिटरमा रहेको खन्यखोलाको बाँध भत्किएको बताए। वडाध्यक्ष धामीले खन्यखोलाको बाँध भत्किए पनि त्यही खोलाको पानी गाँउतिर नआए पनि अन्य खहरेखोलाको पानी गाँउतिर उर्लिएको बताए। ‘खहरे खोलाको पानी गाउँँतिर उर्लिपछि भीनपा ३ का ठाउँ-ठाउँमा निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको छ, ‘उनले भने, ‘कालिका आधारभूत विद्यालयदेखि शारदा टोल, खैरनीका विभिन्न ठाउँहरूमा कटानी, पटानी गरेको छ।’ 

खन्यखोलामा भीमदत्त नगरपालिकाको आइई प्रतिवेदनअनुसार ४२ हजार घरमिटर नदीजन्य पदार्थ निकाल्नुपर्ने भए पनि सामुदायिक वनले नदीजन्य पदार्थ निकाल्न नदिएपछि नदीको सतह बस्तीसँगैको उचाइमा पुग्दा बाँध भत्किएको बताए। 
भीमदत्त नगरपालिका- ७ का वडाध्यक्ष गणेशबहादुर चन्दले खन्यखोलाले हल्दुखाल र तिलकपुरको सीमा क्षेत्रमा बाँध भत्काएको बताए। विद्यालयको छेउमै रहेको खहरे खोलामा बाढी आएपछि विद्यालय विपतको उच्च जोखिममा परेको हो। 

विद्यालयनजिकै रहेको पक्की पर्खाल(बाँध) र कल्भर्ट भत्काएको छ। उक्त खहरे खोलाको कटानी नियन्त्रणका लागि विद्यालयको पश्चिमतर्फ बाँधेको बाँध (पक्की पर्खाल) भत्काइदिएपछि कालिका टोलका स्थानीयलाई समेत आवतजावतमा समस्या भएको छ। 

बाढीले बाँध र कल्भर्ट भत्काइदिएपछि कालिका टोलका स्थानीयलाई दुईपांग्रे सवारीसाधनबाहेक अन्य ठूला सवारीसाधनमा यात्रा गर्न वञ्चित भएका छन्। सडकको पर्खालको वाल, बाँध र कल्भर्ट भत्किएपछि विद्यालयकै चउर भएर स्थानीयले आवतजावत गरिरहेका छन्। 

कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक नरबहादुर धामीले खोलाको कटानीले विद्यालय उच्च जोखिममा परेको बताए। प्रअ धामीले विद्यालयको पश्चिममा रहेको खोलाले बाँध र कल्भर्ट भत्काउन सुरु गरेपछि सडकसहित, विद्यालयको शौचालय र चउरतिरै कटानी गरेको बताए। प्रअ धामीले समयमै तटबन्ध, कल्भर्ट निर्माण हुन नसके अर्को बढीमा विद्यालय कटानीकाे जोखिममा पर्ने बताए।

भीमदत्त नगरपालिका- ७ का निवर्तमान वडाध्यक्ष शंकर कुँवरले खन्यखोलाको बाँध भत्किनुका साथै खहरे खोला गाउँतिर पसेसँगै निजी सार्वजनिक संरचना भत्काउन सुुरु गरेको बताए। उनले खोला गाउँतिरै उर्लिएपछि हल्दुखाल–तिलकपुरको सीमाना क्षेत्रमा महाकाली सिँचाइको नहर भत्किएर पुलमा क्षति पुगेको बताए।