१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Friday, 18 October, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ श्रावण १२ शनिबार o९:४७:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

गण्डकी प्रदेशमा पर्यटकको औसत बसाइ १२ दिन, दैनिक औसतमा खर्चिन्छन् ६२.८९ डलर 

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार o९:४७:oo

गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकको औसत बसाइ अवधि १२ दिन र भारित औसत दैनिक खर्च ६२.८९ अमेरिकी डलर (८,३५५ रुपैयाँ) रहेको पाइएको छ । नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले गरेको ‘गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकको बसाइ तथा खर्चको प्रवृत्तिसम्बन्धी विशेष अध्ययन प्रतिवेदन’ले विदेशबाट आउने पुरुषभन्दा महिला पर्यटकको औसत बसाइ अवधि धेरै रहेको देखाएको छ । 

गण्डकी प्रदेशमा औसत बसाइ अवधि पुरुष पर्यटकको ११ दिन र महिला पर्यटकको १३ दिन रहेको अध्ययनले देखाएको छ । अध्ययनमा संलग्न पर्यटकमध्ये ३१–४५ उमेर समूहका पर्यटकको औसत बसाइ अवधि उच्च १४ दिन रहेको देखियो । यस्तै, ५५ भन्दा बढी उमेर समूहका पर्यटकको गण्डकी प्रदेशमा औसत बसाइ न्यून नौ दिन देखियो । विभिन्न ६ महादेशबाट आएका पर्यटकमध्ये दक्षिण अमेरिकाबाट आउने पर्यटकको औसत बसाइ सबैभन्दा धेरै १९ दिन र एसियाली देशबाट आएका पर्यटकको औसत बसाइ सबैभन्दा कम नौ दिन रहेको छ ।  

गण्डकी प्रदेश भ्रमणमा गएका पर्यटकको नेपालमा औसत बसाइ अवधि २२ दिन रहेको र गण्डकी प्रदेशमा औसत बसाइ अवधि १२ दिन रहेको अध्ययनले देखाएको छ । जुन पर्यटकको कुल नेपाल बसाइ अवधिको ५४ प्रतिशत हुन आउँछ । गण्डकी प्रदेशमै पर्यटकको बसाइ अवधि र खर्च बढाउन, पर्यटकीय गतिविधि बढाउन पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।

पर्यटकको ठूलो खर्च खाना र बसाइमा
अध्ययनमा समेटिएका पर्यटकको भारित औसत दैनिक खर्च आठ हजार तीन सय ५५ रुपैयाँ (६२.८९ डलर) रहेको छ । प्याकेजमार्फत गण्डकी प्रदेश भ्रमणमा जाने पर्यटकको औसत खर्च दैनिक ११ हजार आठ सय ६६ रुपैयाँ (८९.३१ डलर) र स्वतःस्फूर्त रूपमा खर्च गर्ने गरी गण्डकी प्रदेश भ्रमणमा जानेको दैनिक औसत खर्च सात हजार दुई सय १७ रुपैयाँ (५४.३२ डलर) रहेको पाइएको छ । पर्यटकले गण्डकी प्रदेशमा गर्ने खर्चमध्ये सबैभन्दा धेरै खानामा २८.२२ प्रतिशत, बसाइमा २७.६ प्रतिशत, यातायात खर्चमा २१.७ प्रतिशत, मनोरञ्जनमा १२.३ प्रतिशत, किनमेलमा ५.७७ प्रतिशत, धार्मिक खर्च १.११ प्रतिशत, कर २.२४ प्रतिशत र अन्य गतिविधिमा १.०६ प्रतिशत खर्च गर्ने गरेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

उमेर समूहका आधारमा ४६–५५ वर्ष उमेर समूहका पर्यटकको बसाइ खर्च, खानपिन खर्च र धार्मिक खर्च क्रमशः ३२.४९ प्रतिशत, २९.२६ प्रतिशत र १.५७ प्रतिशत रहेको अध्ययनले देखाएको छ,  जुन अरू उमेर समूहको भन्दा बढी हो । २० वर्षसम्मका पर्यटकको यातायात खर्च (२४.०७ प्रतिशत) र किनमेल खर्च (९.६५ प्रतिशत) सबैभन्दा धेरै खर्च भएको देखिएको छ । यस्तै, २१–३० वर्ष उमेर समूहको पर्यटकको मनोरञ्जन खर्च (१८.०७ प्रतिशत) र अन्य खर्च (३.३५ प्रतिशत) अन्य उमेर समूहको भन्दा बढी रहेको पाइएको छ ।

गण्डकी प्रदेशमा भ्रमणमा गएका पर्यटकमध्ये उत्तर अमेरिकाबाट आउने पर्यटकको बसाइ खर्च (३०.०६ प्रतिशत) र यातायात खर्च (२६.७६ प्रतिशत) अन्य महादेशको तुलनामा धेरै देखियो । दक्षिण अमेरिकाबाट आउने पर्यटकको खानपिन खर्च (४०.८८ प्रतिशत), कर (१५.४३ प्रतिशत) र किनमेल खर्च (७.७१ प्रतिशत) धेरै देखिएको छ । मनोरञ्जन खर्च (१५.८ प्रतिशत)मा युरोप, धार्मिक खर्चमा (२.०२ प्रतिशत) एसिया र अन्य खर्चमा (१.३ प्रतिशत) अस्ट्रेलियाबाट आउने पर्यटकको संख्या बढी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

९४.९३ प्रतिशत भुक्तानी नगदबाटै
अध्ययनमा संलग्न पर्यटकमध्ये ९४.९३ प्रतिशतले नगदका माध्यमबाट भुक्तानी गर्ने गरेको पाइयो भने ४.९७ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट र ०.१० प्रतिशत पर्यटकले मोबाइल वालेटका माध्यमबाट विभिन्न खर्चका लागि भुक्तानी गर्ने गरेको पाइएको छ । भुक्तानीका माध्यमका रूपमा कार्ड र मोबाइल वालेटको प्रयोग निकै न्यून हुनुमा कार्ड रिडिङ मेसिन सबै ठाउँमा उपलब्ध नहुनु, भएकाले पनि सबै कार्ड स्वीकार नगर्नु, कमिसन शुल्क धेरै हुनु, कार्डबाट नगद निकाल्ने सीमा थोरै हुनु, सबै ठाउँमा अनलाइन भुक्तानी गर्न नसक्नु, इ–पेमेन्टको सेटलमेन्टमा ढिलाइ हुनु, कार्डका माध्यमबाट भुक्तानी गर्दा वस्तु तथा सेवाको मूल्य नै बढी तिर्नुपर्नेलगायत कारण रहेको अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकको अध्ययनले गण्डकी प्रदेशमा आउने पर्यटकले सामना गर्नुपरेका कठिनाइ पनि पहिचान गरेको छ । सर्वेक्षणमा सहभागी पर्यटकमध्ये २८.४१ प्रतिशतले गण्डकी प्रदेश भ्रमणमा कुनै पनि समस्या सामना गर्नुनपरेको बताएका छन् । तर, ७१.५९ प्रतिशत पर्यटकले भाषागत, पर्यटन सूचनाको कमी, यातायातको समस्या, सुरक्षा समस्या, भुक्तानीमा समस्यालगायत समस्या भोग्नुपरेको बताएका थिए ।  

८७ प्रतिशतले लिन्छन् भ्रमणबाट पूर्ण आनन्द 
गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकमध्ये ६० प्रतिशत पर्यटक एकदमै सकारात्मक, ३४.७५ प्रतिशत सकारात्मक, ५ प्रतिशत तटस्थ र ०.२५ प्रतिशत नकारात्मक रहेको पाइएको छ ।  अध्ययनमा ८७ प्रतिशत पर्यटकले आफ्नो बसाइ अवधिमा गण्डकी प्रदेशबाट लिन सकिने सम्पूर्ण आनन्द लिन सकेको बताएका छन् भने १३ प्रतिशतले भने पूर्ण आनन्द लिनका लागि थप केही दिन आवश्यक पर्ने बताएका छन् । गण्डकी प्रदेशमा स्वतःस्फूर्त रूपमा जाने पर्यटकको अंश ७६ प्रतिशत र प्याकेज टुर्समा जाने पर्यटकको अंश २४ प्रतिशत रहेको छ । 

पर्यटकले देखाए सडकको समस्या
अध्ययनमा समेटिएका पर्यटकमध्ये २३.११ प्रतिशतले सडकको समस्या, १५.३४ प्रतिशत पर्यटकले भुक्तानीको समस्या, ६.४४ प्रतिशत पर्यटकले पर्यटन सूचनाको कमी समस्या देखाएकाले सरकारका सम्बद्ध निकायले सडकलगायतका पूर्वाधार विकासमा जोड दिनुपर्ने निष्कर्ष अध्ययनको छ । यस्तै, भुक्तानीका लागि अन्तरदेशीय कार्ड प्रयोगको लागत कम गर्ने व्यवस्था पनि गर्नुपर्ने देखिएको छ । 

राष्ट्र बैंकले आफ्नो अध्ययनमा पर्यटक आगमन संख्या, पर्यटन पूर्वाधार विकास तथा पर्यटकीय गतिविधिका आधारमा कास्की, मुस्ताङ, मनाङ, म्याग्दी, गोरखा र नवलपरासी (पूर्व) गरी ६ जिल्लालाई समावेश गरेको थियो ।

धेरै पर्यटक भारतीय, साहसिक गतिविधिमा रमाउने उच्च
राष्ट्र बैंकको अध्ययनमा ४१ देशबाट गण्डकी प्रदेशमा भ्रमण गर्न आएका पर्यटक समावेश भएका थिए, जसमध्ये सबैभन्दा धेरै पर्यटक आउने देशहरूमा भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलिया रहेको पाइएको छ । यस्तै, सबैभन्दा धेरै युरोपबाट ४६.२५ प्रतिशत पर्यटक आउँदा सबैभन्दा कम दक्षिण अमेरिकाबाट ०.७५ प्रतिशत पर्यटक आएको देखिएको छ । अफ्रिकाबाट गण्डकी प्रदेशमा पर्यटक आएको भेटिएन ।

गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै साहसिक क्रियाकलापमा रमाउन ४०.१८ प्रतिशत र सबैभन्दा कम २.९८ प्रतिशत पर्यटक व्यापारिक प्रयोजनका लागि रहेका छन् । गण्डकी प्रदेशमा ३१–४५ वर्ष उमेर समूहका पर्यटक धेरै साहसिक क्रियाकलाप, मनोरञ्जन र सांस्कृतिक क्रियाकलापमा संलग्न हुने गरेको देखिएको छ । ४६–५५ वर्ष उमेर समूहका पर्यटक धार्मिक प्रयोजनले आउने गरेका छन् । सर्वेक्षणमा समेटिएकामध्ये पहिलोपटक गण्डकी प्रदेशमा पुग्ने पर्यटक ६८ प्रतिशत र ३२ प्रतिशत पर्यटक एकपटकभन्दा बढी पुगेको देखिएको छ ।