१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
सय्यद जुबैर अहमद
२o८१ कार्तिक २ शुक्रबार ११:o२:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मस्क र बेलायती प्रधानमन्त्रीबिच विवादको अन्तर्य

गलत सूचनाको विस्तारमा मस्कका भ्रामक ट्विटले आगोमा घिउ थप्ने काम गरेको छ

Read Time : > 3 मिनेट
सय्यद जुबैर अहमद
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार ११:o२:oo

झन्डै एक वर्षअघि टेक अर्बपति एलोन मस्क एक सम्मेलनमा बेलायतका स्टार अतिथि थिए । तत्कालीन प्रधानमन्त्री ऋषि सुनकले विश्वको सबैभन्दा धनी व्यक्तिको मन जित्ने प्रयासमा महत्वपूर्ण भूमिका खेलेका थिए । तर, एक वर्षपछि बेलायतमा धेरै परिवर्तन भएका छन् । जुलाईमा सत्तामा आएको लेबर सरकारले अक्टोबर १४ मा लन्डनमा आयोजित मेगा इन्भेस्टमेन्ट समिटमा मस्कलाई आमन्त्रण गरेको थिएन ।

टेस्ला र एक्सका मालिकले स्पष्ट रूपमा बेवास्तालाई मन पराएनन् र पूर्ण शक्तिका साथ युके सरकारको विरोध गरे र पाहुनाहरूलाई बेलायत नजान आग्रह गरे । ‘सामाजिक सञ्जालमा गरिएका पोस्टका आधारमा मानिसलाई कैद गर्नका लागि उनीहरूले दोषी बालदुराचारी रिहा गरिरहेका वेला कोही पनि बेलायत जानुपर्छ भन्ने मलाई लाग्दैन,’ आफूलाई आमन्त्रित नगरिएको थाहा पाएपछि आक्रोशित बनेका मस्कले भने ।

यो सत्य हो कि बेलायती जेलमा भिडभाड कम गर्ने सरकारी योजनाअन्तर्गत हालै धेरै कैदी रिहा भएका छन् । तर, यौन अपराधी वा बाल यौन दुव्र्यवहार गर्नेहरूलाई छाडिएको भन्ने कुनै प्रमाण छैन । मस्कको ट्विटले विवाद उत्पन्न गरेको छ र गलत सूचना फैलाउने चिन्ता बढाएको छ । बेलायती मिडियाले प्रविधिसम्बन्धी अर्बपति मस्कलाई युकेका बारेमा ‘विकृत सूचना फैलाउने’ हालै गरिएका कार्यको स्मरणसमेत गराएको छ । केही हप्ताअघि मस्कले सामाजिक सञ्जालमा एक आधारहीन रिपोर्ट सेयर गरे, जहाँ बेलायतले फकल्यान्ड टापुमा दंगाकारीका लागि नजरबन्द शिविर निर्माण गरेको दाबी उल्लेख थियो । यद्यपि चौतर्फी विरोध र प्रतिक्रियापछि उनले तुरुन्तै ट्विट डिलिट गरे । प्रधानमन्त्री केयर स्टारमरले न्युयोर्कमा आयोजित संयुक्त राष्ट्र महासभा (युएनजिए) को आफ्नो हालैको भ्रमणका क्रममा मस्कको पछिल्लो उत्तेजक टिप्पणीलाई सम्बोधन गरे । लगानीकर्ताले कार्यक्रममा भाग लिन चासो व्यक्त गरेको र बेलायत सरकारसँगको बैठकको प्रशंसा गरेको आफूले पाएको प्रधानमन्त्रीले दाबी गरे ।

शिखर सम्मेलन (सन् २०२१ पछिको तेस्रो संस्करण)ले लेबर सरकारका लागि उच्च प्राथमिकतामा रहेको आर्थिक वृद्धिलाई अगाडि बढाउन महत्वपूर्ण लगानी आकर्षित गर्ने लक्ष्य राखेको छ । एक सरकारी विज्ञप्तिअनुसार गत वर्षको बैठकले लगभग ३० अर्ब युरो लगानीको प्रतिज्ञा गरेको थियो । यो वर्ष चान्सलर (अर्थमन्त्री) राचेल रिभ्स र व्यापारमन्त्री जोनाथन रेनोल्ड्स बेलायतको क्षमता प्रदर्शन गर्न स्टारमरसँग सामेल भए । सरकारले प्रविधि, हरित ऊर्जा र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता क्षेत्रमा करिब ६० अर्ब पाउन्डको लगानी प्रतिबद्धता सुरक्षित गर्ने आशा राखेको छ । तर, मुख्य समस्या मस्कप्रति सरकारको बेवास्ता हो । यसले खुलापनप्रति बेलायतको साँचो प्रतिबद्धता र लेबर सरकारको आलोचना गर्ने प्रभावशाली व्यवसायी नेतासँग संलग्न हुन इच्छुक छ कि छैन भन्ने बहसलाई प्रज्ज्वलित गरेको छ । सरकारले विश्वव्यापी व्यापारिक साझेदारसँग सम्बन्ध पुनस्र्थापित गर्न र नवीनतालाई प्रवद्र्धन गर्न खोज्दा मस्कका समर्थक र विपक्षी कन्जर्भेटिभ पार्टीले स्टारमरका आफ्ना भनाइ व्यावहारमा लागू हुने कुरामा प्रश्न उठाएका छन् । टेक अर्बपतिको भडकाउपूर्ण टिप्पणीका बाबजुद उनलाई बेवास्ता गर्ने लेबर सरकारको निर्णयले बदला र क्षुद्रतालाई प्रकट गर्छ । मस्क सामान्य मानिस होइनन् । आधुनिक व्यवसाय, प्रविधि र समाजमा उनको प्रभाव निर्विवाद छ । म उनलाई इजरायली इतिहासकार र विचारक युवल नोआह हरारीको दर्जामा मूल्यांकन गर्छु । दुवैजना हाम्रो समयका दूरदर्शी तर फरक दृष्टिकोण भएका व्यक्तित्व हुन् । म भन्न चाहन्छु कि हरारीले आत्मनिरीक्षण र सामाजिक विकासलाई प्रोत्साहित गर्दै समग्र अवस्थामा ध्यान केन्द्रित गर्दा मस्क भने सक्रिय रूपमा ग्राउन्ड ब्रेकिङ टेक्नोलोजीमार्फत भविष्यलाई आकार दिन्छन् । यसमा कुनै शंका छैन कि दुवै मानव क्षमताको हाम्रो बुझाइलाई प्रेरणा र चुनौती दिन्छन् ।

जुलाईमा लेबर पार्टी सत्तामा आएदेखि मस्क र स्टारमरबिचको सम्बन्ध निकै चिसो भएको छ । धेरैले विश्वास गर्छन् कि अगस्टमा सत्तामा आएपछि लेबर सरकारले कसरी राष्ट्रव्यापी दंगालाई सम्हाल्यो भन्नेबारे अमेरिकी अर्बपति मस्कको अप्रिय टिप्पणीप्रति स्टारमर रिसाएका छन् । र, यो धेरै हदसम्म सत्य पनि हो । साउथपोर्टमा तीन बालबालिकाको ज्यान लिने गरी भएको छुरा हमलापछि मस्कले उत्तेजक एजेन्टको भूमिका निर्वाह गरे, किनभने उनले स्टारमर र उनको नयाँ सरकारविरुद्ध आलोचनाको बाढी निकाल्नु थियो । आफ्नो एउटा ट्विटमा मस्कले बेलायतमा ‘गृहयुद्ध’ हुने अशुभ भविष्यवाणी गरेका छन् । एक्समा मस्कका १९३ मिलियन फलोअर छन्, जसको मतलब उनले उक्त प्लेटफर्ममा जे भन्यो, त्यो सेकेन्डभरमा विश्वभर फैलिन्छ । यसमा कुनै शंका छैन कि गलत सूचना र अति दक्षिणपन्थी र चरमपन्थीका कारण हिंसा र दंगा देशभर फैलिएको छ । त्यसमाथि मस्कको भ्रामक ट्विटहरूले आगोमा घिउ थप्यो ।

लेबर सांसदको प्रतिक्रिया द्रुत र कडा थियो । पार्टीभित्रका प्रमुख व्यक्तित्वले मस्कले जानाजानी गलत सूचना फैलाएको र ब्रिटिस समाजमा विभाजन छर्न खोजेको आरोप लगाए । एक लेबर सांसदले मस्कको हस्तक्षेपलाई ‘घोर गैरजिम्मेवार’को रूपमा वर्णन गर्दै उनका टिप्पणी विद्यमान सामाजिक विभाजनमा उत्प्रेरक भएको आरोप लगाए ।

स्टारमरको कार्यालयले पनि मस्कको ‘गृहयुद्ध अपरिहार्य छ’ भन्ने टिप्पणीको निन्दा गर्‍यो । त्यस्तो टिप्पणीको कुनै औचित्य नभएको भन्दै कार्यालयले मस्कका टिप्पणीलाई खारेज गरिदियो । तर, धेरै दक्षिणपन्थी वृत्तमा अभिव्यक्ति स्वतन्त्रताको रक्षकको रूपमा देखिएका मस्कलाई मौन राख्न वा मुख थुन्न सजिलो छैन । तर, मस्क स्टारमरमाथि पुनः खनिए । दंगाको क्रममा बेलायती पुलिसलाई गोरा प्रदर्शनकारीमाथि कठोर भएको आरोप लगाएर उनले उत्तेजक ट्विटको शृंखलालाई निरन्तरता दिए ।

‘हामी मस्जिद र मुस्लिम समुदायमा भएका आक्रमण सहने छैनौँ’ भन्दै एक्समा स्टारमरले गरेको टिप्पणीमा मस्कले जवाफ दिए, ‘के तपाईं सबै समुदायमा हुने आक्रमणबारे चिन्तित हुनुपर्दैन ?’ अर्को पोस्टमा उनले बेलायतले अनलाइन सामग्री सेन्सर गरिरहेको दाबी गरे र सोधे, ‘यो बेलायत हो कि सोभियत संघ ?’ एक हिसाबले भन्नुपर्दा मस्क र स्टारमरबिचको ट्विट युद्ध नै भयो, जहाँ मस्क निकै खरो रूपमा उपस्थित भए ।

मस्क र बेलायत सरकारबिचको द्वन्द्व कुनै पृथक् घटना होइन । इतिहासभरि प्रभावशाली उद्योगपति र व्यवसायीले सरकारहरूलाई चुनौती दिएका छन्, जसका कारण बारम्बार तनाव चर्किएको छ । टोनी ब्लेयरको प्रधानमन्त्रीकालमा भारतीय मूलका ब्रिटिस उद्योगपति हिन्दुजा भाइहरू ‘हिन्दुजा अफेयर’मा फसेका थिए । उनीहरूमाथि रक्षा सम्झौता सुरक्षित गर्न भारतीय अधिकारीलाई घुस दिएको आरोप लागेको थियो । ब्लेयर सरकारले हिन्दुजाहरूलाई ब्रिटिस राहदानी अनुचित रूपमा प्रदान गरेको आरोपको सामना गर्‍यो । तर, एउटा अनुसन्धानले उनीहरूलाई सफाइ दियो । यद्यपि, घोटालाले ब्लेयर सरकारका मन्त्री पिटर मन्डेलसनलाई राजीनामा दिन बाध्य पार्‍यो । उक्त घटनाले व्यापार, राजनीति र राष्ट्रिय हितबिचको जटिल सम्बन्धलाई रेखांकित गरेको थियो । 

मिडिया सम्राट् रुपर्ट मर्डोकको मार्गरेट थ्याचर सरकारसँग द्वन्द्व सुरु भयो, जतिवेला उनी द टाइम्स र द सन्डे टाइम्स अखबारसँग आबद्ध भए । मर्डोकको मिडिया साम्राज्य अस्पष्ट व्यापारिक कारोबारका लागि अनुसन्धान गरिएको थियो, जसले अन्ततः उनलाई द टाइम्स बेच्न उत्प्रेरित गर्‍यो । यो एक व्यापक रूपमा ज्ञात तथ्य हो कि अर्बपति लगानीकर्ता जर्ज सोरोस लामो समयदेखि प्रधानमन्त्री भिक्टर ओर्बनको नेतृत्वमा रहेको हंगेरीको राष्ट्रवादी सरकारको पक्षको आलोचक बनेका छन् । सोरोसको ओपन सोसाइटी फाउन्डेसन (ओएसएफ) ले लोकतान्त्रिक मूल्य र मानव अधिकारलाई बढावा दियो, जसलाई ओर्बानले आफ्नो शासनका लागि खतराको रूपमा देखे । अध्यागमनलाई बढावा दिएको र हंगेरी संस्कृतिलाई कमजोर बनाएको आरोप लगाउँदै उनको सरकारले सोरोसविरुद्ध अभियान चलायो । 

(अहमद लन्डनस्थित वरिष्ठ भारतीय पत्रकार हुन्, उनसँग पश्चिमी मिडियाको तीन दशकको अनुभव छ)
– एनडिटिभीबाट