हिमा गाउँपालिकाको ५० प्रतिशत घरधुरीमा शुद्ध खानेपानीको पहुँच पुगेको छ । कुल दुई हजार ३७७ घरधुरीमध्ये एक हजार १६४ घरधुरीमा एक घर एक खानेपानीको धारा पुगेको हो । सुस्वा परियोजना र गाउँपालिकाको लगानीमा एक हजार १६४ घरमा (इनलाइन क्लोरिनेसन) गरेको शुद्ध पानी पुगेको हो ।
हिमा गाउँपालिका– ४ मा पर्ने जार्जी, सिम्तली, तलिकुडु, खेतु, सानो चिउडी, नुवाँ र ठूलो चिउडी गाउँका ४२७ घरमा एक खानेपानीको धारा पुगेका हो । यस्तै, वडा नं. ७ को बागबजारमा २४, मर्चीमा ६७, धाँचु गाउँमा सात धारा निर्माण भई धारा सञ्चालनमा छन् ।
वडा नं. १ को बड्की गाउँको एक सय ७६, दियारगाउँमा ७२, वडा नं. ६ को बाजागाड गाउँमा १३६, बाजागाड खोलामा २० र चेमा गाउँमा सातवटा धारा निर्माण भई स्थानीयले घरघरमा शुद्ध पानी पिउँदै आएका छन् । यसमध्ये बाँकी एक हजार २१३ घरधुरीका नागरिक सार्वजनिक धारा, मूल, खोल्साको पानी पिउँदै आएको हिमा गाउँपालिका जुम्लाले जनाएको छ ।
पाँचवर्षे कार्यकालभित्र पालिका भरका सबै घरधुरीमा शुद्ध पानी पुर्याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । ६ सय बढी धारा पालिकाको लगानीमा बनेका हुन् । साढे तीन करोडभन्दा बढीको लगानीमा हिमा बृहत् खानेपानी आयोजना निर्माण भइरहेको छ ।