चार दिनदेखिको भीषण वर्षाले बाढीको चपेटामा परेका कञ्चनपुरका बाढीपीडित घर फर्किन थालेका छन् ।अविरलको वर्षाले बाढी आएपछि घर डुबानमा परेका बाढीपीडित घर फर्किन थालेका हुन् । जमेको पानी घरमा जम्मा भएका पीडित सोमबार र नदीखोलाको बाढी घरमा पसेका पीडित मंगलबार बिहानैदेखि घर फर्किन थालेका हुन् । जिल्लाका दर्जनौँ गाउँबस्ती डुबानमा परेका थिए ।
चौधर नदी महाकाली सिँचाइको नहर बाँध भत्काएर बेलडाँडी गाउँपालिका– ५ इमलियाबाट गाउँमा पसेको थियो । चौधर नदीको बाढीबाट विस्थापित भएका पीडितहरू क्रमिक रूपमा घर फर्किन थालेका छन् । बेलडाँडी इमलियामा रतन रानाले घरमा पानी कम भएपछि फर्किएको बताए । ‘अब घरमा पानी घटेको छ, घरको पनि सरसफाइ गर्नुपर्यो, वस्तुभाउसहित सुरक्षित स्थानमा आएका थियौँ, अब घर फर्किँदै छौँ,’ उनले भने, ‘अझै पनि असोजसम्मै वर्षातको डरै छ ।’
इमलियाकै अर्की स्थानीय महिला सुनिता रानाले चौधर नदीमा बलियो तटबन्ध निर्माण नगर्दासम्म त्रासै रहेको बताइन् । ‘अहिले त पानी कम भयो, घर फर्किन्छौँ,’ उनले भनिन्, ‘भत्काएको ठाउँमा पनि पुनर्निर्माण नभए फेरि यस्तै बाढीपीडित भइने त्रास छ ।’
१६ वर्षमा चौधर नदी गाउँ पसेपछि मुखमै रहेको गणेश माध्यमिक विद्यालयमासमेत ठूलो क्षति भएको छ । विद्यालयको पर्खालदेखिका कागजात नष्ट भएका छन् । गणेश माविका प्रधानाध्यापक जनक थापाले भौतिक संरचनासहित कागजात भिजेर नष्ट भएको बताए ।
बेलडाँडी गाउँपालिकाका प्रमुख हरिशचन्द्र रानाले ०६५ सालमा चौधर नदीले महाकाली सिँचाइको नहर फुटाएर गाउँ पस्दा चार–पाँच घर भत्काइदिएको र सयौँको संख्यामा बाख्रा, पशुधनतर्फ क्षति भएको बताए। यसपटक पनि विगतमा गाउँ पसेकोे स्थानदेखि केही पूर्वतिरबाट नदी गाउँ पसेको छ । बेलडाँडी– ५ भुर्षाको गणेश माविको पूर्वबाट गाउँ पसेको चौधर नदीले बेलडाँडी बेलौरीका बस्ती डुबानमा पारेको छ । बेलडाँडी गाँउपालिका– ५ इमलिया, २ ढकनिया, ४ वैवाह, ३ खैरिघाटका हजार घर डुबानमा परेको पालिका प्रमुख रानाले बताए । ‘यो नदीको सतह गाउँ बस्तीभन्दा धेरै माथि छ,’ उनले भने, ‘नदीमा पानीको बहाव वृद्धि हुँदा ओभर भएर नदी गाउँ पस्यो ।’ पालिकाप्रमुख रानाले क्षति भएका सबै संरचनाको विवरण संकलन गरेर पुनर्निर्माण गरिने बताए ।
चौधर नदी गाउँ पसेपछि अहिले बेलडाँडीको इमलियासहित ढकनिया, खैरिघाट र बेलौरीको भुडा क्षेत्र डुबानमा परेको छ। दोदानदीबाट विस्थापित पुनर्वासको सिमरी, जगबुढाबाट विस्थापित र दोधारा चाँदनीका पीडित घर फर्किन थालेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीका अनुसार मंगलबार बिहान ८ बजेसम्ममा दुई हजार मानिस घर फर्किसकेका छन् भने दुई हजार पाँच सय ७४ मानिस अझै सुरक्षित स्थानमै बसेका छन् । ‘जस–जसको घरमा पानी कम भयो, उनीहरू घर फर्किसकेका छन्,’ प्रहरी प्रवक्ता जोशीले भने, ‘घर फर्किने क्रम जारी छ, आज थप पीडित घर फर्किनेछन् । घरमा बस्न सक्ने भएका पीडित फर्किने र नसकिने अवस्था भएका पीडित अझै आश्रय स्थलमै बस्ने देखिएका छन् ।’