Skip This
बागमती सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
२o८१ असार २४ सोमबार ११:१२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार ११:१२:oo

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन्। प्रदेश सरकारमा रहेका एमालेका पाँचजना मन्त्रीले सोमबार बिहान प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई भेटेर संयुक्त रूपमा राजीनामापत्र बुझाएका हुन् ।

कांग्रेससँग मिलेर सरकार गठन गर्ने भएपछि माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारबाट एमालेका मन्त्री बाहिरिएका हुन्। प्रदेश सरकारमा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ रहेका थिए ।

राजीनामा बुझाउँदै आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले सहमतिको सरकार गठनमा सहयोग गर्न पनि आग्रह गरेका थिए । केन्द्रमा कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै नयाँ सत्तासमीकरण भएपछि यसको प्रभाव प्रदेशमा पनि परेको हो । यसअघि गत वर्षको चैतमा केन्द्रमै भएको एमाले–माओवादीको सत्ता सहकार्यपछि एमाले बागमती प्रदेशमा पनि सरकारमा सहभागी भएको थियो ।

पहिलोपटक ०७९ पुस २६ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी भएको एमाले ०८० चैत १८ गते दोस्रोपटक बागमती प्रदेश सरकारमा सहभागी भएको थियो। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी लिँदै सरकारमा सहभागी भएका थिए ।

कांग्रेससँग मिलेर नयाँ सत्तासमीकरण भएपछि एमाले तीन महिनामै माओवादी केन्द्र नेतृत्वको सरकारबाट बाहिरिएको हो । अब केन्द्रीय सहमतिअनुसार कांग्रेस र एमाले मिलेर प्रदेशमा नयाँ सरकार गठन गर्नेछन्। केन्द्रीय सहमतिअनुसार यसपटक बागमती सरकारमा कांग्रेसलाई नेतृत्व दिने सहमति भएको छ ।