Skip This
गुल्मीको १० टनभन्दा बढी कफी बेलायत र स्विट्जरल्यान्ड निर्यात गरिँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
२o८१ असार २४ सोमबार o९:५३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गुल्मीको १० टनभन्दा बढी कफी बेलायत र स्विट्जरल्यान्ड निर्यात गरिँदै

०५४ देखि जापानमा वार्षिक साढे दुई टन कफी निर्यात हुँदै आएको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार o९:५३:oo

सहकारी संघ गुल्मीमार्फत ०५४ सालदेखि जापानमा बिक्री हुँदै आएको गुल्मेली अर्गानिक कफी बेलायत र स्विट्जरल्यान्ड निर्यात हुने भएको छ । जिल्ला सहकारी संघ गुल्मीका अनुसार बेलायतबाट १० टन गुल्मेली अर्गानिक कफीको माग आएको छ । सबै प्रक्रिया पूरा गरेर बेलायतमा कफी निर्यातको तयारी भइरहेको सहकारी संघ गुल्मीका अध्यक्ष यमबहादुर थापाले बताए ।

बेलायतका व्यापारी स्टिफनले केही समयपहिले गुल्मी आएर कफीको फार्म र प्रशोधन केन्द्र निरीक्षण गरेका थिए । उनले नै १० टन कफी माग गरेका कारण पठाउन थालिएको थापाले बताए । त्यस्तै, स्विट्जरल्यान्डमा पनि एक टन कफी निर्यात गर्न थालिएको छ । ०५४ देखि जापानमा वार्षिक दुईदेखि साढे दुई टन कफी निर्यात हुने गरेको सहकारी संघ गुल्मीका अध्यक्ष थापाले जानकारी दिए । 

बेलायत र जापानबाट कफीसँगै अदुवा, लसुन, बेसार र टिमुरको पनि माग आएको छ । अहिले ५० किलोदेखि एक क्विन्टलसम्म लसुन, बेसार र अदुवाको माग आएकाले ट्रायलका लागि पठाइएको सहकारी संघ गुल्मीका व्यवस्थापक युवराज आचार्यले जानकारी दिए । सहकारीले झन्डै तीन दशकदेखि कफी खरिद, प्रशोधन र बजारीकरणको काम गर्दै आएको छ । जिल्लामा कफी खरिद, प्रशोधन र बजारीकरण गर्ने सहकारी संघ गुल्मी सबैभन्दा ठूलो संस्था हो । 

जिल्लामा करिब तीन हजार कृषकले सहकारीमार्फत हरेक वर्ष २८ देखि ३० टन कफी संकलन हुने गरेको व्यवस्थापक आचार्यले बताए । कृषि ज्ञानकेन्द्रका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार जिल्लामा दुई सय ४१ हेक्टरमा कफीखेती गरिएको छ । वार्षिक ३५ मेट्रिकटन कफी उत्पादन हुँदा एक करोडभन्दा बढी मूल्यको विदेशमा निर्यात हुने गरेको छ ।

 ब्रान्डिङमा सहजीकरण गर्दै परियोजना
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गुल्मीले कफीको ब्रान्डिङमा सहजीकरण गर्दै आएको छ । परियोजनाले कफी, सुन्तला, मकै र बाख्राको क्षेत्रमा काम गरिरहेको छ । कफी सुपरजोनमार्फत गुल्मेली अर्गानिक कफीको ब्रान्डिङ गर्न सहकारी संघ गुल्मीमार्फत पाँच लाख ८९ हजारमा प्याकेजिङ र लेबलिङको काम गरिएको परियोजना प्रमुख गंगा पोख्रेलले जानकारी दिइन् । कफी प्याकेजिङ, लेबलिङ तथा पोस्टहार्बेस्ट न्यूनीकरण कार्यक्रममार्फत कफीको अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्न दुई सय, पाँच सय ग्राम र एक केजीका भल्बसहितको कफी ब्याग निर्माण गरिएको छ ।

त्यस्तै, जुट ब्याग, गुल्मेली अर्गानिक कफी लेखिएको स्टिकर, छपाइ तथा इकोट्याग ब्यागसमेत निर्माण गरिएको पोख्रेलले बताइन् । कफी सुपरजोनअन्तर्गत जिल्लाका ४७ समूह, सहकारी तथा फार्म आबद्ध रहेका छन् । विशेष गरेर परियोजनामार्फत क्षेत्रफल विस्तार, चक्लाबन्दी, सिड हाउस निर्माण, बगैँचा सुदृढीकरण, प्रविधि प्रदर्शन, मल्चिङ, सेतो गबारो व्यवस्थापन, कृषकहरूको प्राविधिक, व्यावसायिक तथा संस्थागत क्षमता अभिवृद्धिको काम गरिएको परियोजना प्रमुख पोख्रेलले बताइन् ।