१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ असार १५ शनिबार o९:२३:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

६६ जिल्लामा एमालेको अधिवेशन : २३ सर्वसम्मत, ४३ अध्यक्ष प्रतिस्पर्धाबाट चुनिए

०८१ लाई शुद्धीकरण–सुदृढीकरण वर्ष अभियान चलाउने गृहकार्यमा एमाले 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार o९:२३:oo

एमालेले वर्ष ०८०/८१ लाई अधिवेशन वर्ष बनाउँदै ६६ जिल्ला अधिवेशन सम्पन्न गरेको छ । सात महिनायता ६६ जिल्लामा अधिवेशन सम्पन्न भएसँगै ४३ जिल्ला अध्यक्ष चुनावी प्रतिस्पर्धा र २३ जिल्ला अध्यक्ष सर्वसम्मत चयन भएका छन् । 

आगामी असोजभित्र भौगोलिक क्षेत्रका बाँकी ११ जिल्लामा पनि अधिवेशन सम्पन्न गर्ने र त्यसबीचमै सात सय ५३ पालिका, सबै वडा र टोलसम्म अधिवेशन सम्पन्न गरिसक्ने सांगठनिक कार्ययोजनासहित पार्टीले ०८०/८१ लाई अधिवेशन वर्षका रूपमा अगाडि बढाइरहेको एमालेको संगठन विभागले जनाएको छ । अधिवेशन भएकामध्ये कम्तीमा एकतिहाइ जिल्ला अध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् भने बाँकीमा भने नयाँ अनुहारले नेतृत्वमा प्रवेश पाएका छन् । 

स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जिल्लासहित तल्ला कमिटीहरूको अधिवेशनबाट पार्टी संगठनात्मक हिसाबले थप सुदृढ भइरहेको बताए । ‘लामै समय संक्रमणकालीन अवस्थाबाट गुज्रिनुपर्दा कमिटीहरू व्यवस्थित थिएनन्, तर अहिले तलसम्म धमाधम अधिवेशन चलिरहेकाले आन्तरिक लोकतान्त्रिक अभ्यासले पार्टी सुप्यवस्थित हुँदै गएको छ भने खारिएको नेतृत्व पनि आएको छ । यसबाट पार्टी सुदृढ हुने दिशामा गइरहेको छ,’ उनले भने, ‘पार्टी विधानअनुसार कमिटीहरू बन्दा जातीय, क्षेत्रीय, लैंगिक समावेशितासहित यसपटकबाट नयाँ आकर्षणकका रूपमा हरेक कमिटीमा १६ देखि ४० उमेर समूहका कम्तीमा २० प्रतिशतसम्म युवाहरू तलैदेखि नेतृत्वमा आएका छन् ।’

०७४ मा तत्कालीन माओवादीसँगको एकताबाट नेकपा बनेर एकीकरण भंग भएयता एमालेले प्रदेश र जिल्ला अधिवेशन सम्पन्न गर्न सकेको थिएन । ६ वर्षपछि एकैचोटि अधिवेशन सम्पन्न भएर तलैसम्म नयाँ नेतृत्व आउँदा पार्टी बलियो हुनुका साथै कोटा तोकेरै युवालाई निर्वाचित गराउँदा आकर्षण पैदा भएको एमालेको दाबी छ । ‘तलैसम्म युवाकेन्द्रित कमिटीले नयाँ आकर्षण पैदा गरेको छ,’ अधिकारीले भने । 

छैटौँ महाधिवेशन हुँदै दशौँ महाधिवेशनसम्म जिल्ला–जिल्लामा केपी ओली र माधवकुमार नेपाललाई मूल नेता मानेर अधिवेशनमा हुँदै आएको गुटबन्दी करिब ३० वर्षपछि भत्किएको एमाले नेताहरूको दाबी छ । ‘एमालेमा विचार र मूल नेतृत्वका हिसाबले विवाद पनि छैन, कुनै अर्को फरक धार पनि छैन, गुटबन्दी अन्त्य भएको छ,’ अधिकारीले भने, ‘म ०४९ देखि नै पार्टी केन्द्रीय कमिटीमा निरन्तर नेतृत्वमा छु, तर इतिहासमै विचार र नेतृत्वका हिसाबले यो उचाइमा पार्टी कहिल्यै एकताबद्ध थिएन, एक हिसाबले अभूतपूर्व एकतासहित हामीले तल्ला तहसम्म अधिवेशन गरिरहेका छौँ ।’

शीर्ष नेताका नाममा जिल्ला अधिवेशनमा गुटबन्दी नदेखिए पनि प्रदेश र जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूको रुचिमा थुप्रै जिल्लामा अलग–अलग समूह निर्माण हुँदा बहुसंख्यक जिल्ला अध्यक्ष भने मतदानबाटै छानिएका छन् । धेरै जिल्ला अधिवेशनमा प्रमुख अतिथि बनेका अध्यक्ष केपी ओलीले चुनाव नगरी सर्वसम्मत नेतृत्व छान्न निर्देशन दिए पनि आन्तरिक प्रतिस्पर्धाबाटै नेतृत्व चुनिएका छन् । 

६६ जिल्लामा अधिवेशन सम्पन्न हुँदा पूर्वमाओवादी समूहबाट स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे निर्वाचित भएका छन् । उनी पार्टी एकतापछिको नेकपाकालीन अध्यक्षसमेत थिए । अधिकारीले तल्ला कमिटीहरूमा नेकपाको निरन्तरताका रूपमा एमालेमा समाहित भएकालाई ध्यानमा राखेर सबै तहका कमिटीहरूमा अनिवार्य प्रतिनिधित्व गराइएको पनि जानकारी दिए । 

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले भौगोलिक क्षेत्रबाहेक गैरभौगोलिक क्षेत्रअन्तर्गत केन्द्रीय सम्पर्क समन्वय कमिटीका सात प्रदेश सम्पर्क कमिटीको अधिवेशन सम्पन्न भइसकेको, जिल्ला सम्पर्क मञ्चहरूको अधिवेशन पनि सकिने क्रममा रहेको जानकारी दिए । उनले प्रवास क्षेत्र र पेसागत बुद्धिजीवी, युवा–विद्यार्थी, उद्योग व्यवसाय, मजदुर विशेष जिल्ला कमिटीहरूको पनि अविधेशन सम्पन्न भएको बताए । एमालेले टोलसम्म अधिवेशन सम्पन्न गरेर वर्ष ०८१ लाई आगामी साउनबाट संगठन सुदृढीकरण र शुद्धीकरण वर्ष अभियानका रूपमा अगाडि बढाउने गरी आन्तरिक तयारी गरिरहेको छ । त्यसका लागि छिट्टै सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । कोशी प्रदेशको इलाम, मोरङ, तेह्रथुम र मधेश प्रदेशको सिराहा, सप्तरी, धनुषाको मिति तोक्न बाँकी रहेको एमालेले जानकारी दिएको छ । गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको पनि अधिवेशनको मिति तोक्न बाँकी छ ।

सर्वसम्मत चुनिएका २३ अध्यक्ष 
विष्णुप्रसाद सापकोटा (पाँचथर), प्रेम गिरी (झापा), पुरुषोत्तम कडरिया (रामेछाप), सूर्यप्रसाद गैरे (स्याङ्जा), बालकृष्ण सुवेदी (म्याग्दी), जनार्दन ढकाल (रसुवा), लीलामणि गौतम (रुकुम पूर्व), ओमबहादुर घर्तीमगर (पाल्पा), दीपेन्द्रकुमार अधिकारी (नवलपरासी पश्चिम), यज्ञ गैरे (रुपन्देही), शिवकुमार आचार्य (दाङ), नन्दराम देवकोटा (रुकुम पश्चिम), सूर्यबहादुर शाही (दैलेख), पूर्णबहादुर रोकाय (मुगु), ज्ञानेन्द्र घर्ती (दार्चुला), नरेशकुमार विश्कर्मा (बैतडी), गजेन्द्रबहादुर शाही (डडेल्धुरा), लक्ष्मी बुढा (कञ्चनपुर), हिरा केसी (बागलुङ), दीपक लालचन (मुस्ताङ), विश्वम्भर शर्मा (पर्सा), खड्गबहादुर राई (संखुवासभा), जीवन श्रेष्ठ (नवलपुर)

काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य, एमाले 
लामै समय संक्रमणकालीन अवस्थाबाट गुज्रिनुपर्दा कमिटीहरू व्यवस्थित थिएनन्, तर अहिले तलसम्म धमाधम अधिवेशन चलिरहेकाले आन्तरिक लोकतान्त्रिक अभ्यासले पार्टी सुव्यवस्थित हुँदै गएको छ भने खारिएको नेतृत्व पनि आएको छ । यसबाट पार्टी सुदृढ हुने दिशामा गइरहेको छ । पार्टी विधानअनुसार कमिटीहरू बन्दा जातीय, क्षेत्रीय, लैंगिक समावेशितासहित यसपटकबाट नयाँ आकर्षणकका रूपमा हरेक कमिटीमा १६ देखि ४० उमेर समूहका कम्तीमा २० प्रतिशतसम्म युवा तलैदेखि नेतृत्वमा आएका छन् ।

चुनावबाट निर्वाचित ४३ जिल्ला अध्यक्ष 
डम्बरध्वज तुम्बाहाङ्फे (ताप्लेजुङ), नीलम खनाल (सुनसरी) (स्वर्गीय), शिव आङलामे (धनकुटा), मकर खड्का (भोजपुर), देवविक्रम राई (खोटाङ), डुफकुमार बास्तोला (सोलुखुम्बु), ज्ञानबहादुर खड्का (ओखलढुंगा), भागवत रावत (उदयपुर), पुरुषोत्तम आचार्य ( ललितपुर), वचन देउजा (भक्तपुर) दीपक निरौला (काठमाडौं), भूमि त्रिपाठी (धादिङ), बद्री मैनाली (नुवाकोट), नरबहादुर श्रेष्ठ ( दोलखा), कमलराज पाठक (चितवन), श्रीधर पोखरेल (मकवानपुर), होमनाथ श्रेष्ठ (सिन्धुपाल्चोक), महेन्द्रदेव श्रेष्ठ (सिन्धुली), राजन भुर्तेल (काभ्रे), बैनबहादुर अधिकारी (कास्की), हरिराज कँडेल (तनहँु), राजकुमार विष्ट (लमजुङ), सुरेन्द्र थापा (गोरखा), गोविन्द पहाडी (पर्वत), अमृतबहादुर बुढा (रोल्पा), बालसिंह काउछा (गुल्मी), पीताम्बर भुसाल (अर्घाखाँची), विजयविराट विष्ट (प्युठान), बाबुराम खनाल (कपिलवस्तु), निरक गुरुङ (बाँके), शालिकराम अधिकारी (बर्दिया), कुलमणि देवकोटा (सुुर्खेत), नरेन्द्रकुमार शाही (जाजरकोट), भीमबहादुर सेन (सल्यान), तुलाराज मल्ल (कालिकोट), ज्ञामी बुुमी (हुम्ला), यज्ञराज ढुंगाना (कैलाली), लालबहादुर ओली (बाजुरा), सचिदानन्द साह (रौतहट), राजनारायण साह (सर्लाही), बलिराम यादव (महोत्तरी), अध्यानन्द पाण्डे (बारा)

ad
ad
ad
ad