१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १३ बिहीबार
  • Sunday, 30 June, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ असार १३ बिहीबार o६:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

रास्वपा महामन्त्री डा. मुकुल ढकालको समीक्षा : पार्टीले बाटो बिरायो, कठोर निर्णय नलिए सकिन्छ

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १३ बिहीबार o६:१८:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले राजनीतिक, सैद्धान्तिक र संगठनात्मक क्षेत्रमा व्यापक सुधार नगरे पार्टीको भविष्य नै समाप्त हुन सक्ने चेतावनी दिएका छन् । महामन्त्री ढकालले पार्टीको एजेन्डा, आन्तरिक प्रशासन, समन्वय विधि, संगठनात्मक ढाँचा र संरचना तथा आगामी कार्यदिशाबारे रास्वपाको औचित्य पुष्टि गर्ने गरी केही निर्णय गर्नुपर्ने सुझाव दिएका छन्।

इलाम २ को उपनिर्वाचनको निराशाजनक परिणामपछि रास्वपा सचिवालय बैठकले देशभरको जनमत बुझ्न महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाएको थियो । महामन्त्री डा. ढकालले समीक्षा यात्राको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाउँदै पार्टीले चाल्नुपर्ने कदम सुझाएका हुन् । 

महामन्त्री ढकालले पुराना दलभन्दा स्वतन्त्रहरूसँग सहकार्यको हात बढाउनु रास्वपाको हितमा रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले स्वतन्त्र मेयरहरू बालेन्द्र साह, गोपी हमाल, हर्क साम्पाङको नाम उल्लेख गरेर सहकार्य जरुरी भएको औँल्याएका छन् । पार्टीको जनमत खस्किँदै गएको र निर्मम कदम नचाले ०८४ मा राष्ट्रिय पार्टी बन्न हम्मे पर्ने र विवेकशील पार्टीजस्तै हालत बन्ने भन्दै महामन्त्रीले सचेत पनि गराएका छन् ।

प्रतिवेदनमा स्वतन्त्र पार्टीको मर्म हराएको, अन्य पार्टीभन्दा फरक हुन नसकेको, पुराना शक्तिसँगै सम्झौता गरेर अगाडि बढेको, सांसददेखि मन्त्रीसम्मको भूमिका कमजोर भएको भनेर निर्मम समीक्षा गरिएको छ । प्रतिवेदनमा प्रदेश संरचना खारेजी, बलियो स्थानीय सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि प्रशासन सुधारसम्ममा पार्टीले संशोधन गर्नुपर्ने एजेन्डाहरूको बारेमा पनि औँल्याइएको छ । 

महामन्त्री ढकालले देशभरका कार्यकर्ता तथा शुभेच्छुकको वस्तुगत सुझावका आधारमा तयार पारिएको प्रतिवेदन सभापतिलाई बुझाएको बताए । उनका अनुसार ३२ पृष्ठको प्रतिवेदन कार्यान्वयन गरेर जानु स्वतन्त्र पार्टी तथा देशकै लागि हितकर हुनेछ । 

महामन्त्री ढकालनिकट एक नेताका अनुसार प्रतिवेदनमा सभापति लामिछानेसहित मन्त्रीहरू, सांसदहरूको भूमिकाको कडा आलोचना छ । मन्त्रीहरूले बजेट बनाउँदा सम्झौता गरेको, बजेटमा कमजोरी गरेको विषय पनि समेटिएको छ । ‘पार्टी बनाउँदा के सोचेर बनायौँ, अहिले कहाँ छौँ, मन्त्रीहरूले कहाँ त्रुटि गरे, सांसदहरूले कहाँ बिराए, ग्राउन्डले कसरी हेरिरहेको छ, यथार्थ के हो, हामी कुन भ्रममा छौँ भन्ने पनि समेटिएको छ,’ ती नेताले भने, ‘पार्टी सक्किने चरणमा गयो ।हामी फरक हुन सकेनौँ । फरक गर्ने भनेर आएको हो । फरक हुने लाइन बिर्सिँदै गयो भनेर खबरदारी पनि गरिएको छ ।’ 

६ जेठमा देश दौडाहामा निस्किएका महामन्त्री ढकालले ३८ जिल्लाका दुई हजारभन्दा बढी मतदातासँग दोहोरो अन्तक्र्रिया गरेर सुझाव लिएका थिए । महामन्त्री ढकालले पार्टीको राजनीतिक यात्राको समीक्षा गर्न देशका विभिन्न जिल्लाका पालिकाहरूमा पुगी पार्टीको संगठन, राजनीतिक चरित्र, आर्थिक व्यवस्थापन, पार्टीका नेता, उम्मेदवार छनोट तथा राष्ट्रका विविध विषयका सन्दर्भमा केन्द्रित रही अन्तक्र्रिया गरी फर्केको उल्लेख गरेका छन् । 

प्रतिवेदन सार्वजनिक गर्न माग 
महामन्त्री ढकालले पार्टीको समकालीन वस्तुस्थितिको यथार्थ चित्रण गर्नुका साथै पार्टीले लिनुपर्ने दिशाका सम्बन्धमा मार्गदर्शनसमेत गर्ने गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । ‘यो प्रतिवेदन सबै तहका पार्टीपंक्ति तथा आमनेपालीमाझ प्रस्तुत गरिनुपर्छ,’ उनले भनेका छन्, ‘यसलाई तपाईं (सभापति)मा सीमित नराखी सम्पूर्ण सरोकारवालासम्म पु¥याइदिन अनुरोध छ ।’

महामन्त्री ढकालले प्रतिवेदनसँग आफ्नो राजनीतिको सवाल जोडिएकाले पनि सार्वजनिक गर्नैपर्ने माग गरेका छन् । ‘मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो । मेरा कुरा के–के हुन्, जनतालाई मैले कहिल्यै भन्नै पाइनँ । नराम्राजति मेरा, राम्राजति सबै अरूका भए । मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनपर्छ,’ उनले विज्ञप्तिमा भनेका छन् । 

घन्टीमा भोट हाल्ने ११.३ लाख जनताले पनि प्रतिवेदन थाहा पाउनुपर्ने उनको भनाइ छ । ‘यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ,’ उनले भनेका छन्, ‘ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस् ।’

महामन्त्री ढकालले प्रतिवेदन अध्ययन गर्न सभापतिले समय मागेको र अध्ययनपछि सार्वजनिक गर्ने जवाफ दिएको बताए । ‘प्रतिवेदनले पार्टीको वस्तुस्थितिको चित्रण गरेको छ । मार्गदर्शन देखाएको छ । प्रतिवेदनलाई गम्भीर भएर छलफल गरेर अगाडि बढाउने हो भने आशा घटेको, विवेकशीलजस्तो हालत बन्ने स्थिति बनेको पार्टीको आशा जगाउँछ । प्रतिवेदनको आधारमा केही कठोर निर्णय लिन सक्यौँ भने जनअपेक्षा पूरा गर्न सकिन्छ,’ उनले भने । 

महामन्त्री ढकाल प्रतिवेदन बुझाउन ६ बजे गृह मन्त्रालय पुगेका थिए । उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका सभापति लामिछानेसँग झन्डै साढे तीन घण्टा छलफलपछि महामन्त्री ढकाल र सभापति बाहिरिएका थिए । महामन्त्री ढकालले सभापति लामिछानेसँग प्रतिवेदन कार्यान्वयनको विषयमा लामो छलफल भएको बताए । 

मन्त्रीको लाइभ समीक्षा
महामन्त्री ढकालले सभापति लामिछानेसँग सरकारमा गएका रास्वपाका मन्त्रीहरूको पार्टी कार्यालयमा सामूहिक समीक्षा गर्ने सहमति भएको पनि बताए । ‘सरकारको सय दिनका बारेमा हाम्रा मन्त्रीहरूसँग पार्टी कार्यालयमा सञ्चारमाध्यमबाट लाइभ समीक्षा गर्ने कुरा भएको छ । सभापतिज्यूले मन्त्रीहरूसँग छलफल गरेर मिति तय हुन्छ । केन्द्रीय सदस्यहरूले मन्त्रीहरूलाई निर्मम प्रश्न गर्छन्,’ उनले भने । 

ad
ad
ad
ad