१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
एजेन्सी न्युयोर्क
२o८१ असार १६ आइतबार १o:३o:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

सम्भावित क्षति सुधार्ने प्रयासमा बाइडेन

Read Time : > 2 मिनेट
एजेन्सी, न्युयोर्क
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १o:३o:oo

अमेरिकी राष्ट्रपति निर्वाचनको सन्दर्भमा भएको बहसका क्रममा भएको कमजोर प्रदर्शनको बचाउ गर्दै राष्ट्रपति जो बाइडेनले आफू नै नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनाव जित्ने सही व्यक्ति भएको दाबी गरेका छन् । पूर्वराष्ट्रपति तथा रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्पसँगको बहमा बाइडेनले कमजोर प्रस्तुति दिएको भन्दै उनको पार्टीभित्र र बाहिर विरोध भएको छ । उनको उम्मेदवारको विषयमा विकल्प सोच्नुपर्ने आवाज बढिरहेका वेला नर्थ क्यारोलिना राज्यमा चुनावी र्‍यालीमा डेमोक्र्याटिकका उम्मेदवार ८१ वर्षीय बाइडेनको उक्त भनाइ आएको हो ।

‘म पहिलेजस्तो सजिलोसँग हिँड्न सक्दिनँ । म पहिलेजस्तो सहजै बोल्न सक्दिनँ । म पहिलेजस्तो बहस गर्दिनँ,’ राष्ट्रपति बाइडेनले आफ्ना समर्थकलाई भने, ‘जब तपाईं ढल्नुहुन्छ फेरि उठ्नुहुन्छ ।’ बाइडनको टोली बिहीबारको बहसपछि क्षति नियन्त्रणको प्रयासमा छ । बिहीबार राति बहसका क्रममा उनी अक्सर हिचकिचाएका थिए । शब्द चयनमा हडबडाएका थिए । बहसमा उनको प्रस्तुतिले पार्टीमा उनको अर्को कार्यकाल पूरा गर्ने क्षमताको बारेमा डर बढाएको थियो । उनले आफ्नो बढ्दो उमेरको बारेमा भ्रम हटाउन र ट्रम्पलाई अभ्यस्त झुटको रूपमा पर्दाफास गर्ने आशा पार्टीले गरेको थियो ।

राष्ट्रपति बाइडेन आफ्नो शब्दभेदी प्रतिद्वन्द्वीको सामना गर्न असफल भएका थिए । ट्रम्पले अमेरिकी अर्थव्यवस्थादेखि आप्रवासनसम्म सबै कुराबारे झुटा वा भ्रामक बयानहरूको एक ठूलो चुनौतीको फेहरिस्त प्रस्तुत गरेका थिए । बाइडेनले डेमोक्य्राटले टेलिभिजनमा प्रसारण भएको बहसमा भनेको कुरा सुनाउँदै भने, ‘के तपाईंले हिजो राति ट्रम्पलाई देख्नुभएको थियो ? मेरो अनुमान के हो भने उनले एउटै बहसमा बोलेका सबैभन्दा धेरै झुटका लागि नयाँ रेकर्ड बनाएका छन् ।’ ‘डोनाल्ड ट्रम्प यो देशका लागि वास्तविक खतरा हुन् । उनी हाम्रो स्वतन्त्रताका लागि, लोकतन्त्रका लागि खतरा हुन् । उनी शाब्दिक रूपमा अमेरिकाका लागि खडा हुने सबै चिजका लागि खतरनाक हुन्,’ बाइडेनले भने । ट्रम्पले भर्जिनियामा आयोजित एक र्‍यालीमा बोल्दै बाइडेनमाथि शब्द प्रहार गरेको थिए । ‘यो उनको उमेर होइन, यो उनको योग्यता हो,’ ट्रम्पले भने । ‘आज हरेक मतदाताले आफैँलाई सोध्नुपर्ने प्रश्न राष्ट्रपति बाइडेन ९० मिनेटको बहस प्रदर्शनबाट बच्न सक्छन् कि सक्दैनन् भन्ने होइन । सबाल के अमेरिका अझै चार वर्ष कुटिल जो बाइडनको जीवनबाट बच्न सक्छ कि सक्दैन भन्ने हो ।’ ट्रम्पले बाइडनको स्थानमा अर्को उम्मेदवार आउने सम्भावनालाई संकेत गर्दैै भने, ‘वास्तवमा उनले अन्य डेमोक्य्राटभन्दा चुनावमा राम्रो प्रदर्शन गरेका छन् भन्ने मलाई विश्वास लाग्दैन ।’

अहिलेसम्म कुनै पनि वरिष्ठ डेमोक्य्राटिक व्यक्तित्वले सार्वजनिक रूपमा बाइडेनलाई उम्मेदवार फिर्ता लिन आग्रह गरेका छैनन् । तर, विश्लेषकले भने उनको उम्मेदवारीको विकल्प खोज्नुपर्ने आवाज उठाएका छन् । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले बहसलगत्तै भने, ‘म राष्ट्रपति बाइडेनको विकल्पमा अन्य उम्मेदवारको कल्पना गर्दै समर्थनबाट कहिल्यै पछि हट्नेछैन ।’ उनको विकल्प खोज्नु राजनीतिक रूपमा खतरनाक हुनेछ र बाइडेनले अर्को महिना हुने पार्टी अधिवेशनअघि अर्को उम्मेदवारका लागि मार्गप्रशस्त गर्नका लागि नाम फिर्ता लिने निर्णय गर्नुपर्नेछ । राष्ट्रपति बाइडेनले प्राथमिक मतदानमा भारी मत प्राप्त गरेका छन् । सिकागोमा हुने अधिवेशनमा जाने पार्टीका तीन हजार ९०० प्रतिनिधि उनीप्रति आभारी छन् । यदि उनी चुनौवी दौडबाट बाहिर रहेमा प्रतिनिधिहरूको पनि प्रतिस्थापन खोज्नुपर्नेछ ।’

बाराक ओबामाले एक्समा लेखेका छन्, ‘रात्रि बहस कमजोर हुन सक्छन् । तर, यो निर्वाचन अझै पनि साधारण मानिसका लागि जीवनभर लडेको व्यक्ति र आफ्नो मात्र ख्याल राख्ने व्यक्तिमध्ये एकको छनोट हो ।’ उपराष्ट्रपति कमला ह्यारिसले पनि बहसपछि बाइडेनको बचाउ गरेकी छिन् । यद्यपि न्युयोर्क टाइम्सले बाइडेनको अभियानलाई ट्रम्पले निम्त्याएको खतराको सामना गर्दै ‘लापरबाह जुवा’ को रूपमा आलोचना गरेको छ । समाचार कक्षबाट अलग यसको सम्पादकीय समितिले राष्ट्रपतिलाई अलग रहन आह्वान गरेको छ । ‘बाइडेनले अब गर्न सक्ने सबैभन्दा ठूलो सार्वजनिक सेवा भनेको आफू पुनः निर्वाचनका लागि उम्मेदवारी नदिने घोषणा गर्नु हो,’ सम्पादकीय समितिले भनेको छ ।
 

ad
ad
ad
ad