शरीरको तापमान नियन्त्रणमा राख्न, पाचनतन्त्र बलियो बनाउन, अंगहरूलाई सक्रिय बनाउन, हाडजोर्नीलाई नरम बनाउन, सेल्सहरूमा पोषण पु¥याउन, शरीरमा काम नलाग्ने पदार्थलाई बाहिर निकाल्न शरीरमा पानीको मात्रा पर्याप्त हुनुपर्छ । जब शरीरमा पानीको कमी हुन्छ, तब शरीरमा मिनरल्स (नुन र चिनी) असन्तुलित भइदिन्छ । यसपछि विभिन्न समस्या निम्तिन्छन् । तसर्थ, पानीको मात्रा पर्याप्त पुगेको हुनुपर्छ । पानीको कमीले मुख सुक्खा हुने, तिर्खा लाग्ने, पिसाब पहेँलो हुने, बान्ता हुने, ज्वरो आउने, पेटको समस्या देखिने आदि समस्या देखिन सक्छ ।
के गर्ने ?
व्यक्तिको उमेर, शारीरिक सक्रियता, मौसम र समग्र स्वास्थ्यले पानी कति पिउने भन्ने निर्धारण गर्छ । एकैपटक धेरै पानी पिउने गर्नु पनि हुँदैन । थोरै–थोरै गरेर आवश्यकताअनुसार दैनिक वयस्क व्यक्तिले कम्तीमा अढाईदेखि तीन लिटरसम्म पानी पिउनुपर्छ । तर, मिर्गौला, मुटु र कलेजेको रोगीले चिकित्सकको सल्लाहअनुसार मात्रै पानी पिउनुपर्छ ।
बिहान उठ्नेबित्तिकै एक ग्लास पानी पिउने । दिनमा पटक–पटक गरेर आवश्यकताअनुसार पानी पिउने । जुस र फलफूल खाने । अल्कोहलजन्य खानेकुरा नखाने । धूम्रपान नगर्ने । जटिल समस्या देखिएमा चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने ।
पर्याप्त पानी पिउँदापिउँदै पनि अति तीर्खा लाग्ने, सधैँ थकित वा द्विविधाग्रस्त देखिने, ओठ–जिब्रो सुक्खा हुने, रुँदा आँसु नआउने, आँखा भारी हुने, आठ घण्टाभन्दा बढी समय पिसाब नलाग्ने, पिसाब पहेँलो देखिने, हृदयको चाल तीव्र हुने, उभिँदा रिँगटा लाग्नेलगायत समस्या देखिएमा चिकित्सकलाई देखाउनुपर्छ ।
बच्चामा पानीको कमी भएजस्तो लागेमा पनि चिकित्सकलाई देखाउनुपर्छ । यदि पछिल्लो २४ घण्टामा ६ वा त्यसभन्दा बढीपटक झाडापखाला लागेमा पनि स्वास्थ्य संस्थामा जानु राम्रो हुन्छ । पछिल्लो २४ घण्टामा तीनपटकभन्दा धेरै बान्ता भएमा पनि स्वास्थ्य संस्था जानु राम्रो हुन्छ । चिकित्सकले पानीको कमी भएको महसुस भएमा ब्लड वा पिसाबमार्फत यसको परीक्षण गरेर शरीरमा सोडियम र पोटासियमको सन्तुलन भए–नभएको निक्र्योल गर्ने गर्छन् ।
केही समस्या
मिर्गौलामा समस्या : शरीरमा पानीको कमी हुँदा मिर्गाैलामा समस्या देखिने गर्छ । पानीको कमी हुँदा विकारयुक्त वस्तु बाहिर निस्कन पाउँदैन र मिर्गौलामा समस्या देखिने गर्छ ।
रक्तचापमा कमी : शरीरमा पानीको कमीका कारण एक्कासि शरीरमा रक्तचाप (ब्लडप्रेसर) घट्ने हुन्छ । ब्लडप्रेसर घट्दा मुटुको चाल बढ्ने, रिँगटा लाग्ने, बान्ता आउनेलगायतका समस्या देखिन्छ । मुटुको चाल बढ्नेजस्ता जटिल समस्या पनि देखिन सक्छ ।
छालासम्बन्धी समस्या : शरीरमा पानी कम हुँदा छाला सुक्खा हुने, चाउरी पर्ने, ओठ फुट्ने, छालामा चमक हराउने हुन्छ ।
मुड परिवर्तन : शरीरमा पानीकै कमीले रिस उठ्ने, झर्किने, बोल्न मन नलाग्ने हुन सक्छ । जसले गर्दा मानसिक असर पर्छ ।
जोर्नी र मांसपेशीमा समस्या : पानीले शरीरका जोर्नी तथा मांसपेशीलाई नरम बनाउने काम गर्छ । पानीको मात्रा कम हुँदा हाडजोर्नी बाउँडिने, शरीर दुख्नेलगायतका समस्या हुन्छ ।
पाचनसम्बन्धी समस्या : पानीको कमी हुँदा क्याल्सियम र म्याग्नेसियमको पनि कमी हुन्छ र पाचनसम्बन्धी समस्या आउँछ । पाचन प्रणालीमा समस्या आउँदा अल्सर हुने, पेटमा ग्यास जम्मा हुने, कब्जियत हुने, झाडापखाला लाग्ने, बान्ता हुने, खान मन नलाग्नेलगायतका समस्या देखिन्छ ।
टाउको दुख्ने : शरीरमा पानीको कमी भएमा टाउको भारी हुने, दुख्ने, ज्वरो आउने, थकान महसुस हुने, चक्कर लाग्ने हुन्छ । मस्तिष्कको कार्यक्षमतामा पनि यसले ह्रास ल्याउँछ । मस्तिष्कले राम्ररी काम गर्न पानीको मात्रा पर्याप्त हुनुपर्छ ।