१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ८ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असार ८ शनिबार १४:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दिक्तेल–चखेवाभञ्ज्याङ सडक : समयअगावै दुई पुल निर्माण गर्ने व्यवसायीलाई सम्मान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार १४:oo:oo

मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेलस्थित दुईवटा खोलामा मोटरेबल पक्की पुल सम्झौता मितिअगावै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ। दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको भालुखोला र छेपेखोलामा सम्झौता मितिभन्दा एक महिना अगाडिनै मोटरेबल पक्की पुल निर्माण गर्ने केएम इन्जिनियर्स विल्डर्सका प्रबन्ध निर्देशक मोहन कार्कीलाई सम्मान गरिएको हो। 

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईलगायतले टोपी र फूलमाला लगाइदिएर सम्मानपत्र प्रदान गरेका छन्। जिल्लामा महत्वका आयोजनाको निर्माणमा चरम ढिलासुस्ती भइरहेका वेला समयभन्दा अगाडि नै पुल निर्माण गरेकोमा जिल्ला समन्वय समिति, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले निर्माण व्यवसायीलाई बोलाएर सम्मान गरेको हो। 

भालुखोला र छेपेखोला पुलका लागि केएम इन्जिनियर्स विल्डर्सले वि.सं. २०८१ असार–२२ गतेसम्ममा सक्ने गरी वि.सं. २०७९ असार–२२ गते पुल निर्माण गर्ने सम्झौता गरेको थियो। यसअघि नै निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको भालुखोला मोटरेबल पुल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र छेपेखोला मोटरेबल पुल सोही नगरपालिकाको वडा नं. ६ नेर्पामा पर्छ। 

भ्याटबाहेक सात करोड ७४ लाख २५ हजार रुपैयाँमा भर्खरै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइको दुवै मोटरेबल पक्की पुल २०–२० मिटर लम्बाइको छ। बाँकी रहेका खोलाहरूमा निर्माणाधीन पक्की पुल छिटो सक्न गर्न ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईले बताए। 

छिमेकी जिल्ला भोजपुर जोडिने ४८ किलोमिटर लामो यो सडकखण्डमा पक्की पुल नहुँदा पटक–पटक यातायात अवरुद्ध हुँदै आएको थियो। तोकिएको समयअगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि आवतजावतमा समेत सहज भएको खोटाङ यातायात प्रालि खोटाङका महासचिव राम हिङमाङले बताए। 

नगरपालिकाले नगरभित्रका सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाहीका लागि सिफारिस गर्नेदेखि मेसिनमा ताला हाल्नेसम्मका प्रतिक्रिया जनाउँदै आएको छ। आफ्नो क्षेत्रभित्रको पुल सम्झौताभन्दा अगाडि नै बनेको भन्दै नगरपालिकाले निर्माण व्यवसायीलाई प्रोत्साहनस्वरूप सम्मान गरेको हो।

विकास निर्माणको कामलाई तोकिएको समयमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई हौसलास्वरूप सम्मान गरिएको नगरप्रमुख भट्टराईले बताए। ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारबाहीका लागि सिफारिस गरेको नगरपालिकाले समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई भने सम्मान गरेकोमा व्यवसायीसमेत उत्साहित बनेका छन्। 

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको नौवटा खोलाहरूमा मोटरेबल पक्की पुल निर्माण हुने जनाइएको छ। निर्मलीडाँडाभन्दा यता (दिक्तेलतर्फ)का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोलालगायत विभिन्न पाँचवटा खोलामा भने यसअघि नै पक्की पुल सञ्चालनमा आइसकेको छ। 

सोही सडकखण्डको बुवासुङ–लामीडाँडा जोड्ने पंखुखोलाको मोटरेबल पुलको काम सिरुवा कन्ट्रक्सन काठमाडौंले नगरेपछि गत सालको जेठ–१२ गते ठेक्का तोडिएको थियो। ठेक्का सम्झौता तोडिएको पंखुखोला पुलको लागि अर्को ठेक्का लगाउन हालसम्म सम्बन्धित निकायले चासो नदिएको भन्दै जिल्लावासीले असन्तुष्टि पोख्न थालेका छन्। 

वि.सं. २०७२ चैतबाट कालोपत्रे गर्न थालिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवा–चखेवाभञ्ज्याङ (दश किलोमिटर) सडक कालोपत्र भएको छैन। भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीले जिम्मा लिएको यो सडकखण्ड कालोपत्रे नहुँदा स्थानीय बासिन्दा आक्रोशित छन्।