मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ८ शनिबार
  • Wednesday, 05 February, 2025
२o८१ असार ८ शनिबार १o:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रोशीका साढे पाँच हजार बालबालिका विद्यालयमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार १o:o४:oo

काभ्रे जिल्लाको रोशी गाउँपालिकाभित्र चार वर्षदेखि १३ वर्षसम्मका पाँच हजार सात सय चारजना बालबालिका रहेका छन्। ती सबै बालबालिका विद्यालय जाने गरेको सुनिश्चित भएको छ। पालिकाभरिका ६ हजार सात सय ५२ घरधुरीमा सर्वेक्षण गर्दा पाँच हजार ७ सय चारजना बालबालिका विद्यालयभित्र रहेको सुनिश्चित गरेको हो। 

बिहीबार रोशी गाउँपालिकाले ४ वर्षदेखि १३ वर्षसम्मका सबै बालबालिका विद्यालय जाने सुनिश्चित गरी अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा गरेका छन्। रोशी गाउँपालिकामा १२ वटा वडा रहेकोमा सबै वडामा सर्वेक्षण गरी बालबालिका कुनै न कुनै विद्यालयमा जाने गरेको सुनिश्चित गरी अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणापश्चात् गाउँपालिका घोषणा गरेका हुन्। गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा तथा बागमती प्रदेश सरकारका सामाजिक विकास निर्देशनालयका निर्देशक दीपेन्द्र सुवेदीका प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी घोषणा गरेको हो। 

पालिका अध्यक्ष लामाले गरेको प्रस्तावमा निर्देशक सुवेदीले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरेका हुन्। सुवेदीले संविधानले सुनिश्चित गरेको शिक्षासम्बन्धी अधिकारलाई पालिकाले शतप्रतिशत कार्यान्वयन गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा लागू स्थानीय तह घोषणा गरिएको बताए।

उनका अनुसार पालिकाभित्र रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराई शिक्षाको पहुँचमा पुर्‍याएर पालिकाले पहिलो दायित्व पूरा गरेको छ। यसलाई निरन्तरता दिँदै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि उनले आग्रह गरे। पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भई घोषणा गरिएसँगै बालश्रम उन्मूलन, बालमैत्री स्थानीय तह, बालविवाहरहीत पालिका घोषणा गर्नका लागि धेरै आधारहरू तयार भएको उनले बताए।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले संविधानले निर्दिष्ट गरेको व्यवस्थालाई कार्यान्वयन गरेको बताए। संघीय सरकार र प्रदेश सरकारको सहयोगमा रोशी गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको उनको भनाइ छ। ‘संविधानले निर्दिष्ट गरेको व्यवस्थालाई संघीय सरकार र प्रदेश सरकारको सहयोगमा कार्यान्वयन गर्न सफल भयौँ।’ लामाले भने, ‘अब सिक्ने, टिक्ने र बजारमा बिक्ने शिक्षामा जोड दिनु आवश्यक छ। अब हाम्रो ध्यान त्यतातिर हुनेछ।’ गुणस्तरीय शिक्षामा जोड दिने उनको भनाइ छ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले सञ्चालन गरेको घोषणा सभामा गाउँपालिका उपाध्यक्ष मिम्बहादुर वाइबा, शिक्षा विकास समन्वय इकाइ काभ्रेका प्रमुख देविका ढकाललगायत जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, विद्यार्थीहरूलगायतको उपस्थिति रहेकाे थियो।