१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ७ शुक्रबार
  • Thursday, 27 June, 2024
ज्ञानेन्द्रविक्रम महत
२o८१ असार ७ शुक्रबार १o:४१:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

योग : खुसी र स्वस्थ जीवनको मार्ग 

सन्दर्भ अन्तर्राष्ट्रिय योग दिवस

Read Time : > 2 मिनेट
ज्ञानेन्द्रविक्रम महत
नयाँ पत्रिका
२o८१ असार ७ शुक्रबार १o:४१:oo

नेपाल विकासको मेरुदण्ड नेपालवासीको स्वास्थ्य हो र व्यक्तिको स्वास्थ्यको महत्वपूर्ण आधार योग नै हो

स्वस्थ रहँदै सदा मुस्कुराऊ, निर्मल बन र अरूलाई सम्मान गर । सबैबाट सम्मान लेऊ, मान्यजन, दीनदु:खीको सेवा गरी सुख देऊ अनि आफूले पनि सुख प्राप्तिको बोध गर र सुखी, स्वस्थ तथा सदाचारी जीवन बिताउने प्रण गर । ईश्वरीय शक्तिको संवाहक मानिने योग साधनाको मर्म भनेको यही हो । योग आत्म प्रबन्धन तथा आत्मानुशासन हो, शारीरिक, मानसिक र आत्मिक व्यायाम हो, चिकित्सा विज्ञान हो, जीवन विज्ञान हो, जीवन जिउने उत्तम कला हो र मोक्षको द्वार पनि यही हो ।

पतञ्जलि योगपीठ, उत्तराखण्ड भारतका संस्थापक अध्यक्ष योगऋषि स्वामी रामदेवजी तथा महासचिव आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजीद्वारा निर्धारित दैनिक योगाभ्यास तालिकाअनुसार मन्त्रोच्चारण, जगिङ, सूर्य नमस्कार, परम्परागत व्यायाम, आसन, योगनिद्रा, प्राणायाम र प्रणव ध्यान योग गरी ६२ प्रकारका क्रियालाई युगीन योग प्याकेजका रूपमा विश्वसमक्ष प्रस्तुत गरिएको छ । जसमा योग र व्यायामलाई अत्यन्त सुन्दर तरिकाले समायोजन गरिएको छ ।

उल्लिखित योग विधिअनुसार दूरदराजका गाउँबस्तीदेखि राजधानी काठमाडौंसम्मका हरेक तह र तप्काका नेपालवासी बाबुआमा, दाजुभाइ, दिदीबहिनीमा पंक्तिकारको नम्र निवेदन छ– स्वस्थ र तन्दुरुस्त रहन योग सिक्नुहोस् अनि हरेक बिहान घरआँगन र बगैँचामा बसी योग गर्नुहोस् । जसबाट तपाईंको शरीरको आन्तरिक प्रणालीलाई नियमन र व्यवस्थित गरी सुखी जीवनयापन गर्न सहज हुनेछ । यसबाट तपाईंं आफ्नो जीवनको पलपलको खुसीलाई महसुस गरेर बाँच्नुहोस् । यस्तो खुसीको क्षणमा हामी विश्राम र आनन्दको अनुभव गरी जीवनपद्धतिलाई उत्सवका रूपमा लिन सक्छौँ । खुसीको यस अवस्थामा श्वास लामो र गहिरो हुन्छ । दुःखको क्षणमा यो छोटो र छिटो हुन्छ । योगका माध्यमबाट आफू प्रसन्न रहनुका साथै अरूमा पनि यो खुसी बाँड्न सकिन्छ । योगले ‘म र मेरो’ भन्दैन । यसले ‘हामी र हाम्रो’ भन्ने भावना राखेर खुसीसाथ बाँच्न सिकाउँछ । योगले व्यक्तिमा अहंकारको नाश गर्छ । स्वाभाविक रूपमा नम्र बोली, वचन र बानीको विकास गराउँछ । यसले मनमा हिम्मत र हौसला जगाउँछ । त्यसैले, आत्मशक्ति, एकाग्रता अनि आत्मविश्वास प्राप्तिको पर्याय नै बनेको छ योग साधना ।

योगको गहिराइले सिद्धार्थ गौतमबाट शान्तिका प्रतीक भगवान् बुद्धको जन्म गरायो । अनि रामदेवजीलाई साधारण योग शिक्षकबाट विश्वविख्यात योग ऋषि स्वामी रामदेव बनायो । त्यस्तै, स्याङ्जा वालिङ नेपालमा स्थायी घर भएका साधारण योगी बालकृष्ण सुवेदीलाई विश्वविख्यात आयुर्वेद शिरोमणि बनायो ।

योगबाट मानवजीवनमा चामत्कारिक प्राप्ति सम्भव छ । नियमित योग साधना गर्ने मानिसमा बुढ्यौलीको प्रवेश निकै ढिलो हुने गरेको देखिन्छ । योगाभ्यासबाट अक्सिजनयुक्त रगतको प्राप्ति सहज हुन्छ । आन्तरिक सूक्ष्म व्यायाम र सकारात्मक जीवनशैली हो, प्राणायाम र योग ।

यिनै उल्लिखित महत्वपूर्ण लाभलाई सूक्ष्म अध्ययन गर्दै पतञ्जलि योग समिति, नेपालले हरक्षण कठिन परिस्थितिमा देशको शान्ति सुरक्षामा तैनाथ भइरहने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा उच्च आँट र मनोबलका साथ कठिन परिस्थितिमा पनि सकारात्मक रूपमा कर्तव्यपथमा अगाडि बढ्न आवश्यकताअनुरूपको योग शिक्षा संस्थागत रूपमा प्रदान गर्दै आइरहेको छ । जसमा पतञ्जलि योग समिति, नेपालका प्रमुख वरिष्ठ योगगुरु लवदेव मिश्र र मातहतका आदरणीय योग शिक्षक शिक्षिका अनवरत रूपमा लागिपर्नुभएको छ । उहाँहरूको सेवाबाट लाभान्वित हुन सकियो भने हाम्रो जीवनमा ठूलो र सकारात्मक परिवर्तन आउन सक्छ । 

नेपाल विकासको मेरुदण्ड नेपालवासीको स्वास्थ्य नै हो । अनि, व्यक्तिको स्वास्थ्यको महत्वपूर्ण आधार भनेको योग नै हो । त्यसैले, नेपाल सरकारबाट सम्पूर्ण देशवासीसम्म विभिन्न माध्यमबाट योग शिक्षालाई प्रवाह गर्ने व्यवस्था गरिनुपर्छ । साथै, आमनागरिकको स्तरसम्मै योग शिक्षाबारे सचेतना पुर्‍याउन सकियो भने यसबाट नागरिकलाई स्वस्थ बनाउन सघाउ पुग्छ । 

(पूर्वप्रहरी नायव महानिरीक्षक महत पतञ्जलि योग समिति, नेपालका संरक्षक हुन्)

ad
ad
ad
ad