१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ६ बुधबार
  • Sunday, 30 June, 2024
ज्ञानेन्द्रविक्रम महत
२o८o असार ६ बुधबार १o:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

योग : मानवजीवनको सुन्दरता

मानसिक तथा शारीरिक ऊर्जा प्राप्तिका लागि योगलाई नियमित जीवनशैलीका रूपमा ग्रहण सके व्यक्ति, परिवार र समाजमा सकारात्मक परिवर्तन आउनेछ

Read Time : > 2 मिनेट
ज्ञानेन्द्रविक्रम महत
नयाँ पत्रिका
२o८o असार ६ बुधबार १o:२२:oo

योग मानव निर्मलताको अर्को नाउँ हो । शरीर र मनको आडभरोसा अनि भित्री खुसी पनि हो योग । किनभने योगबाट सकारात्मक जीवनशैली, आत्मानुशासन, व्याधिमुक्त र समाधियुक्त जीवनको संकल्पना, आत्मोपचार, आत्मदर्शन, आत्मऔषधि र आत्मचिकित्सा प्राप्ति हुन्छ । मानवजीवनको पूर्णता भनेकै यही हो । 

आफूलाई चिन्न, खार्न, जीवनको सही प्रबन्धन गर्न, गुणकारी भाव महसुस गर्न, दया, करुणा, सहानुभूति, प्रेम, आफ्नोपन एवं श्रद्धाभक्ति अनि जीवनको दिव्य र सकारात्मक रूपान्तरण योगको मर्म हो ।

पतञ्जली योगपिठ, उत्तराखण्ड भारतका संस्थापक योगऋषी स्वामी रामदेवजी तथा सायुर्वेद शिरोमणि आचार्य बालकृष्णजी २०६४ यता योग शिक्षा प्रवाह गर्ने क्रममा नेपाल आएपछि ऋषिमुनिहरूको पवित्र भूमि तथा पावन तपस्थली हाम्रो देश नेपालमा पनि योगले व्यापकता पाएको हो । जसले गर्दा आजकल विकटदेखि राजधानीसम्मका हरेक, चोक, पेटी, नदीकिनार, बस्ती आदिमा योग अनुरागीको मुस्कानसहितकोे उपस्थिति हरेक बिहानीको समयमा छ्याप्छ्प्ती देख्न पाइन्छ । अनि यससँगै देखिन्छ, खुसी र हाँसो पनि । 

योगविधिको चर्चा गर्दा मानव स्वास्थ्यलाई तत्काल र प्रत्यक्ष फाइदा गर्ने सबैभन्दा महत्वपूर्ण विधि हो प्राणायाम । प्राणायामलाई विभिन्न आठ प्रक्रियामा क्रमबद्ध गरिएको छ ।
१.     भस्त्रिका (५ देखि १० मिनेट)
२.     कपालभाती (१५ देखि ३० मिनेट) (अति महत्वपूर्ण)
३.     बाह्य प्राणायाम (३ देखि ११ पटक)
४.     उज्जायी प्राणायम (घाँटी खिचेर श्वास तान्ने, केही बेरपछि छोड्ने)
५.     अनुलोम विलोम (१५ देखि ३० मिनेट) अति महत्वपूर्ण
६.     भ्रामरी (५ देखि १० पटक)
७.     उद्गिध प्राणायम (५ पटकसम्म)
८.     प्रणव (५ देखि १० मिनेट, ध्यानात्मक) 

प्राणायमका यी आठ विधिका साथै तीनदेखि १० पटकसम्म अग्निसार क्रिया गर्नु पनि जरुरी हुन्छ । यसरी नियमित रूपमा प्राणायामका सबै प्रक्रिया पूरा गर्नाले मानिस स्वस्थ रहन्छ । उसले आफ्नो दैनिकीमै सहज अनुभूति गर्छ । योगले रोग प्रतिरोधी क्षमता वृद्धि मात्रै हुँदैन, व्यवहारमै थुप्रै परिवर्तन आउँछ र मुहारमा छुट्टै कान्ती छाउँछ । प्राणायम आन्तरिक सूक्ष्म व्यायाम हो । अगाध ऊर्जा प्राप्तिको स्रोत हो । अनि एक प्रकारको विपश्यना पनि ।

मानिसभित्र असीमित खुसी र प्रसन्नता छ, जुन प्राणायामबाट प्रस्फुटन हुन्छ । अनि उद्वेग, चिन्ता, क्रोध, निराशा, भय र कामुकताजस्ता मनोविकारको उपचार पनि प्राणायामबाटै सहज रूपमा गर्न सकिन्छ । यस्ता विकारको उपचारले दिव्य जीवनको प्राप्ति हुन्छ । गायत्री मन्त्रदेखि शान्तिपाठसम्म योगकोे प्याकेज नै हुन्छ । सुख, शान्ति र शुद्धि मात्रै होइन, ऊर्जा प्राप्तिका लागि योगलाई नियमित जीवनशैलीका रूपमा ग्रहण सके व्यक्ति, परिवार र समाजमा सकारात्मक परिवर्तन आउनेछ । यसले समग्र राष्ट्रकै उन्नतिमा टेवा दिनेछ । त्यति मात्रै होइन, सकारात्मक सोचको स्रोत मानिने योगले सत्चरित्र, सद्भाव र सहिष्णुताको अभिवृद्धिसमेत गर्छ ।

योग एउटा पूर्ण विज्ञान हो । पूर्ण चिकित्सा पद्धति र पूर्ण अध्यात्म विद्या पनि हो । योग मनुष्यलाई स्वस्थ राख्दै सकारात्मक चिन्तनको पथमा ल्याउने अद्भूत कर्म पनि हो । 

योग, विशेषगरी प्राणायाम एउटा पूर्ण विज्ञान हो । यो पूर्ण चिकित्सा पद्धति र पूर्ण अध्यात्म विद्या पनि हो । समष्टिमा योग मनुष्यलाई स्वस्थ राख्दै सकारात्मक चिन्तनको पथमा ल्याउने अद्भूत कर्म पनि हो । स्वस्थ व्यक्ति र सुखी समाज निर्माणमा योगको महत्वपूर्ण भूमिका रहन्छ । योगले हाम्रो धार्मिक पर्यटनलाई पनि टेवा दिएको छ ।

हालसालै सुदूरपश्चिम प्रदेशको तपोभूमि खप्तडमा आयोजना गरिएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनले ऋषिमुनीहरूको यस तपोभूमिमा योग पर्यटनको पनि ढोका खोलेको छ । सुदूरपश्चिम सरकारको आयोजनामा गरिएको सो कार्यक्रमको अवसरमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा योगऋृषि स्वामी रामदेवजी र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजीले सञ्चालन गरेको योग शिविरले राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकको ध्यान खिचेको छ । यस्ता कार्यक्रमले योग र ध्यान मात्रै होइन, योग पर्यटनको पनि सम्भावना बढाएको छ । 

योगले अन्तर्राष्ट्रिय मान्यतासमेत पाइसकेको छ । सन् २०१४ को सेप्टेम्बरमा सम्पन्न संयुक्त राष्ट्रसंघको ६९औँ महासभाले २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सो घोषणापछि पतञ्जली योग समिति नेपालले पनि प्रत्येक वर्षको २१ जुनलाई योग उत्सवका रूपमा मनाउँदै आएको छ । यस वर्ष पनि २१ जुन (असार ६ गते) विशेष कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । 
(नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक महत पतञ्जली योग समिति नेपालका संरक्षक हुन्)

ad
ad
ad
ad