Skip This
थोत्रो म्याटमा अभ्यास गरेर देशलाई स्वर्ण पदक दिलाएँ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Sunday, 16 June, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ जेठ १२ शनिबार ११:o४:oo
Read Time : > 5 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

थोत्रो म्याटमा अभ्यास गरेर देशलाई स्वर्ण पदक दिलाएँ

Read Time : > 5 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार ११:o४:oo

१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले उसुबाट पाँच स्वर्ण, ६ रजत र पाँच कांस्य जितेको थियो । राष्ट्रलाई स्वर्ण दिलाउने पाँचमध्येका एक खेलाडी हुन्, विजय सिन्जाली । उनले बंगलादेश र भारतका राम्रा खेलाडीलाई पछि पार्दै पदक जितेका थिए । उसुको छानछ्वाङतर्फ सिन्जालीले सर्वाधिक ९.४८ अंक प्राप्त गरेका थिए । बंगलादेशका मोहम्मद ओमारले ९.३४ र भारतका अन्जुलले ९.१६ अंक हात पारे । सन् २०१६ मा भारतको सिलोङमा रजत पदकमा सीमित भएपछि १३औँ सागमा राष्ट्रलाई स्वर्ण दिलाउने लक्ष्यका साथ उनले प्रशिक्षण गरे । उसुको राष्ट्रिय टोलीमा रहेका १८ खेलाडीले पुरानो थोत्रो म्याटमा अभ्यास गरेका थिए । खेलको अघिल्लो दिनमा मात्र नयाँ म्याट ओछ्याइएको थियो । एकैपटक नयाँ म्याटमा खेल्दा सिन्जाली मात्र नभएर अन्य खेलाडीलाई सेट हुन समय लागेको थियो । सागमा स्वर्ण जित्दाको तयारी र समस्याबारे उनले नयाँ पत्रिकाका रमेश सुवेदीलाई यसरी सुनाए :

सन् २०१५ मा धरानमा लुम्बिनी च्याम्पियनसिप आयोजना भएको थियो । प्रतियोगितामा नीराजन आलेमगरलाई हराउँदै स्वर्ण जित्न सफल भएँ । मैले खेल्ने विधामा नीराजन दाइ सधैँ पहिलो स्थानमा आउनुहुन्थ्यो । यसपटक मैले उहाँलाई दोस्रो स्थानमा पारेँ । लुम्बिनी च्याम्पियनसिपपछि मैले करिअरमा फर्केर हेर्नुपरेन । त्यसवेला गृहजिल्ला सिराहामा उसु संघ थिएन । प्रतियोगितामा सहभागी हुन मोरङबाट खेलेँ । धरानमा च्याम्पियनसिप खेल्दा म १५ वर्षको थिएँ । आधिकारिक रूपमा मैले सन् २०१६ मा भारतमा आयोजना भएको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा राष्ट्रिय टोलीबाट सहभागिता जनाएको थिएँ । यसअघि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाडको छनोटमा खेलेको थिएँ । तर, पछि प्रतिस्पर्धा दौरान म बिरामी भएँ । राखेपको मिनी कभर्डहलमा आयोजना भएको छनोटमा भाग्यले साथ दिएन । फेरि छनोट खेल रातिको समयमा थियो । छनोट चरणबाट इन्चोन एसियाडमा स्थान बनाउन सकिनँ । नीराजन दाइले एसियाड खेल्नुभयो । कोरियाबाट फर्केपछि उहाँले सन्न्यास लिनुभयो । उहाँको सन्न्यासपछि म आफ्नो विधामा दोस्रो कहिल्यै भइनँ । 

भारतको सिलोनमा आयोजना भएको १३औँ सागमा नेपालबाट प्रतिनिधित्व गर्दा म केवल १६ वर्षको थिएँ । सिलोङमा हामी उसुका १७ जना थियौँ । एकैपटक साग खेलकुद प्रतियोगिता खेल्न निकै गाह्रो हुँदो रहेछ । राखेपको सामान्य कभर्डहलमा अभ्यास र छनोट खेल पार गरेको थिएँ । सिलोङको उसु खेलका लागि तयार पारेको कभर्डहल देख्दा भव्य लाग्यो । पहिलोपटकको सहभागितामा रजत जितेँ । त्यसवेला मसँग धेरै एक्सपोजर तथा अन्तर्राष्ट्रिय खेलको अनुभव थिएन । स्वर्ण प्रतिस्पर्धाको अनुभव कम भएका कारण नै रजत पदकमा सीमित भएँ । पहिलोपटक राष्ट्रको प्रतिनिधित्व गरी खेलेको प्रतियोगितामै रजत जित्दा धेरै खुसी भएँ । त्यसवेला मेरो लक्ष्य स्वर्ण नै थियो । 

यसको दुई वर्षपछि सन् २०१८ मा इन्डोनेसियाको जाकार्तामा एसियाड भयो । त्यहाँ मैले सोचेजस्तो प्रदर्शन गर्न सकिनँ । उसुको पहिलो इभेन्ट खेल्न निकै गाह्रो भयो । जाकार्ताको वातावरण बुझ्न नसक्दा मैले आफूलाई १३औँ स्थानमा पाएँ । एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागिताले मलाई अनुभवी बनायो । गत वर्षको असोजमा चीनको हाङझाउमा भएको १९औँ एसियाडमा सातौँ स्थान प्राप्त गरेँ । 

तयारी थोत्रो म्याटमा, तर खेल नयाँमा
जाकार्ताबाट फर्केपछि नै हामी उसुको राष्ट्रिय टोलीमा सहभागी सबै खेलाडी घरमै आयोजना हुन लागेको १३औँ साग खेलको तयारीमा लाग्यौँ । सिलोङमा प्राप्त गर्न नसकेको स्वर्ण यसपटक नेपालमै जित्ने संकल्प गरेँ । मसहित १८ खेलाडी पदक जित्ने अभियानका साथ प्रशिक्षणमा व्यस्त भएका थियौँ । सागको तयारी चलिरहँदा १४औँ उसु विश्व च्याम्पियनसिप चीनमा आयोजना हुने भयो । संघले हामीलाई सहभागिता गराउने निर्णय गर्‍यो । विश्व च्याम्पियनसिपमा विश्वभरका उत्कृष्ट खेलाडीको कौशल र उनीहरूबाट अनुभव लिने एउटा आधार थियो । 

अर्को फाइदा भनेको त्यसै च्याम्पियनसिपमा १३औँ सागमा खेल्न आउने खेलाडीहरूको रणनीति बुझ्ने समय पनि थियो । मैले विश्वका उत्कृष्ट खेलाडीसँग खेल्ने अवसर पाएँ । उनीहरूसँग खेल्न आफूलाई थप निखारेँ । पहिलोपटक विश्व च्याम्पियनसिप खेलेपछि मेरो खेलमा सुधार आयो । त्यहाँबाट फर्केपछि अझ केही गर्न सक्छु भन्ने विश्वास पलाएको थियो । विश्व च्याम्पियनसिपमा क्वालिटी अफ मोमेन्ट आवश्यक पर्ने थाहा पाएँ । यहाँसम्म म्याटमा डान्स गर्दा क्लियर हुनुपर्छ । शरीरलाई नियन्त्रणमा राखी प्रदर्शन गर्नुपर्ने थाहा पाएँ । खेलकौशल देखाउँदा डिग्रीअनुसार प्रदर्शन गर्नुपर्ने हुन्छ । यस पक्षमा थप निखार्नुपर्ने थाहा भयो । विश्व च्याम्पियनमा ९३ मध्ये म शीर्ष १५ भित्र परेको थिएँ । 

चीनबाट नयाँ ऊर्जा लिएर हामी नेपाल फर्कियौँ । केही दिनको आरामपछि हामी फेरि सागको तयारीमा जुट्यौँ । सागअघि हामीलाई प्रकाश लामा र मोहन पाण्डेमगर (स्वर्गिय) गुरुले अभ्यास गराउनुभएको थियो । हामीले करिब ६–७ महिना अभ्यास गर्‍यौँ । सुन्धारामा रहेको होटेल नै हाम्रो घर बनेको थियो । होटेलमा यति लामो बसाइ र त्यति नै दिन अभ्यास हुने मलाई थाहा थिएन । हाम्रो दैनिक अभ्यास दशरथ रंगशालामा थियो । तर, खेल लगनखेलमा थियो । 

खेल स्थलमा गएर अभ्यास गर्ने योजना थियो । केही दिनपछि लगनखेलमा रहेको शरीरिक तथा प्रशिक्षण केन्द्रमा हामीले अभ्यास सुरु गर्‍यौँ । त्यहाँको अभ्यास निकै राम्रो थियो । साथसाथै समस्या पनि आइरहेको थियो । सागमा छनोट भएका सबै खेलाडीले पुरानो म्याटमा प्रशिक्षण गरेका थिए । पानीले भिजेको म्याट घाममा सुकाएर अभ्यास गरेका थियौँ । उसुको खेल हुने अघिल्लो रात मात्रै भारतबाट नयाँ म्याट खेल स्थलमा राखियो । हामीले एक दिन पनि नयाँ म्याटमा अभ्यास गर्ने अवसर नै पाएनौँ । भारतबाट ल्याएको नयाँ म्याट एसियन गेम्स वा विश्व च्याम्पियनसिपमा ओछ्याइएको जस्तो थिएन । 

आफ्नै खर्चमा ड्रेस सिलाएँ
अन्य खेलको तुलनामा उसु अलि फरक छ । यसमा रंगीबिरंगी ड्रेस (पोसाक) आवश्यक पर्छ । उसुको विधानअनुसार ड्रेस कोर्ड हुन्छ । प्रतिस्पर्धामा आकर्षक देखाउन र दर्शकलाई आफूतिर तान्न राम्रो र गुणस्तरीय ड्रेस हुनुपर्छ । सामान्य किसिमको ड्रेस पनि चल्छ । यति सुहाउँदैन । फेरि सागजस्तो प्रतिस्पर्धामा जस्तो पायो त्यस्तै ड्रेस लगाएर खेल्नु पनि भएन । अलि राम्रै हुनुपर्‍यो । सुरुमा नेपाली टोलीका खेलाडीको ड्रेस बनाउन समस्या भयो । सागको दौरान एउटा दुःखद लाग्ने पक्ष के रह्यो भने प्रतिस्पर्धाको दौरान मैले लगाएको ड्रेस म आफूले नै खर्च गरी सिलाएको थिएँ । अर्को अर्थमा १३औँ साग खेल्दाको ड्रेसमा आफ्नै लगानी पर्‍यो । 

राष्ट्रिय खेलकुद परिषद्ले हाम्रो ड्रेसमा आधा मात्र खर्च गरेको थियो । राखेप र खेलाडीको लगानीमा सागमा खेल्ने ड्रेस बनेको थियो । मैले लगाएको ड्रेसमा मेरो ठ्याक्कै २० हजार रुपैयाँ पर्‍यो । त्यो पनि खेलको अन्तिम समयमा ड्रेस बनाएको थिएँ । ड्रेस बनाउने क्रममा अर्को समस्या आएको थियो । मोटरसाइकलमा जाँदा मैले आफ्नो महत्वपूर्ण एक्रेडेसन कार्ड नै हराएँ । धेरै खोजेँ, तर कही पाइनँ । यसले केही समय दुःख नै दियो । मैले संघ, राखेप र नेपाल ओलम्पिक कमिटीलाई कार्ड हराएको जानकारी दिएँ । ओलम्पिकले सहजै मेरो नयाँ कार्ड बनाइदियो । आफ्नो लगानी परेको ड्रेसमै मैले राष्ट्रलाई उसुबाट स्वर्ण पदक दिलाउँदाको क्षण सम्झँदा भावुक हुने गर्छु । 

स्वर्ण पदक जित्ने विश्वास थियो
हामीले उसुको इभेन्ट सुरु हुने अघिल्लो दिनसम्म पानीमा भिजेको र घाममा सुकाएको म्याटमा बसेर तयारी गरेका थियौँ । खेल सुरु हुने बिहान पनि त्यही पुरानो म्याटमै अभ्यास चलिरह्यो । लगनखेलको प्रशिक्षण केन्द्रमा मैले सहभागी अन्यलाई पछि पार्दै स्वर्ण पदक जितेँ । साग अगाडि चीनमा भएको विश्व च्याम्पियनसिपमा ९० मध्ये १५ भित्र आएपछि १३औँ सागमा स्वर्ण जित्नेमा विश्वस्त भएको थिएँ । स्वर्ण पदकको प्रतिस्धर्पामा मेरो सबै पक्ष राम्रो भयो । खासै गल्ती भएन । डान्स पनि राम्रो भएको थियो । एरिनामा जाँदा दर्शकको समर्थनबाट झनै हौसिएको थिएँ । नयाँ म्याट पनि क्वालिटीको थिएन । 

उसुमा भनिन्छ, ‘वान मिस, गेम फिनिस ।’ जहाँ एउटै प्रतिस्पर्धामा हुन्छ । खेलको दौरान लड्ने वा चिप्लिने डर थियो । म्याटमा जानुअघि मनमा धेरै कुरा खेलेका थिए । सक्दो आफूले उत्कृष्ट गर्ने संकल्प गरेँ । घरेलु समर्थकमाझ सहभागी पाँच देशलाई हराउँदै स्वर्ण पदक जितेँ । लगनखेलस्थित सेनाको शारीरिक तथा प्रशिक्षक केन्द्रको कभर्डहलमा उसुले पहिलो पदक जितेको थियो । उसुको प्रतिस्पर्धा चलिरहँदा लगनखेलबाट नजिक रहेको सातदोबाटोको तेक्वान्दो हलमा तेक्वान्दोबाट पहिलो पदक जितेको थियो । त्यसवेला तेक्वान्दोको चर्चा मात्र भइरहेको थियो । तर, हामीले उसुबाट स्वर्ण जितेपछि तेक्वान्दोको चहलपहल एकैछिनमा समाप्त भयो । व्यक्तिगत रूपमा धेरै खुसी थिएँ । देशलाई जिताएको पहिलो स्वर्ण पदक पनि हो । कभर्डहलमा भएका मान्छे सबै खुसी थिए ।

अझ राम्रो हुन सक्थ्यो
मैले १२ वर्षको उमेरमै टर्कीमा भएको जुनियर विश्व च्याम्पियनसिप खेलेको थिएँ । उसुको छानछ्वाङ विधाबाट सानैदेखि अहिलेसम्म यसै विधामा खेलिरहेको छु । समग्रमा मैले उसु खेलमा बिताएको समय १५ वर्ष भयो । यहाँसम्म प्राप्त सफलता सबै मिहिनेतका कारण हो । कहिलेकाहीँ खेल करिअरको विश्लेषण गर्दा अझ योभन्दा राम्रो नतिजा राष्ट्रलाई दिन सक्ने अवस्था थियो । सोचेजस्तो नतिजा दिलाउन नसक्नुका पछाडि हाम्रो राम्रो तयारी नहुनु हो । अहिले जति पनि खेलाडी उच्चस्तरमा पुगेका छन्, उनीहरू आफ्नै परिश्रमका कारण हुन् । राखेपले अहिले मिसन २०२६ बनाएको छ । हामी राष्ट्रिय टोलीको प्रशिक्षणमा छौँ । दिनमा तीन सय भत्ता आउँछ । यसैले तयारी चलिरहेको छ । अभ्यास गतिलो हुन सकेको छैन । अन्तर्राष्ट्रियस्तरको अभ्यास पाउँदा हामीले दक्षिण एसियामा मात्रै होइन, एसियामै तहल्का मचाउन सक्छौँ । यसमा सरकारको विशेष ध्यान जानुपर्छ । सम्बन्धित निकायबाट प्रशिक्षणमा रहेका खेलाडीले कसरी प्रशिक्षण गरिरहेका छन् ? उनीहरूको डाइट कस्तो छ ? कुन म्याटमा तयारी गरेका छन् ? यस्ता पक्षमा ध्यान दिनुपर्छ । यी सबै पक्ष पूरा हुँदा हामीले जापानमा आयोजना हुने एसियाडमा पदक जित्न सक्छौँ ।  

ad
ad
ad
ad