Skip This
एएफसीले भन्यो– अन्तर्राष्ट्रिय फुटबल खेलाउन दशरथ रंगशाला अयोग्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Sunday, 07 July, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एएफसीले भन्यो– अन्तर्राष्ट्रिय फुटबल खेलाउन दशरथ रंगशाला अयोग्य

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ एएफसीको केन्द्रीय सदस्य छन् । तर, दशरथ रंगशालालाई फिफाको मापदण्डअनुसार मेन्टेन गर्न एन्फा चुक्यो । जसकारण, युएईविरुद्ध २४ जेठमा हुने खेल आयोजना गर्ने अवसर नेपालले गुमाएको छ ।

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:३६:oo

एएफसीले औँल्याएका चार कमजोरी 

  • दुबो स्तरीय नभएको 
  • माटोको सतह नमिलेको 
  • फ्लड लाइट गुणस्तर नपुगेको
  • सुरक्षाको ग्यारेन्टी नभएको

दशरथ रंगशालाको मापदण्ड नपुगेपछि युएईविरुद्ध २४ जेठका लागि तय भएको फिफा विश्वकप २०२६ छनोटअन्तर्गतको ‘होम म्याच’ नेपालमा नहुने भएको छ । यसका लागि न्युट्रल भेन्यु खोज्न एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्राचार गरेको छ । 

‘एएफसीका प्रतिनिधिले २० र २१ वैशाखमा दशरथ रंगशालाको निरीक्षण गरेर गएका थिए । उनीहरूको प्रतिवेदन पछि दशरथ रंगशाला प्रतियोगिता गराउन योग्य नभएको पत्र एएफसीले एन्फालाई पठाएको छ ।,’ एन्फा महासचिव किरण राईले नयाँ पत्रिकासँग भने ।

एएफसीका प्रतिधिनिले मैदानको दुबो स्तरीय नभएको, माटो सतह नमिलेको, फ्लड लाइट र सुरक्षाको ग्यारेन्टी नभएको बताएका थिए । एएफसीले शनिबार (मे ११) सम्म यी कमजोरी सुधारेर प्रतियोगिता गर्न सक्ने आधार देखाउन एन्फालाई समयसीमा तोकेको थियो । रेखदेखको जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार नै सबै मापदण्ड पूरा भएको र अन्तर्राष्ट्रिय मान्यता दिन एन्फामार्फत एएफसीसँग अनुरोध गरेको थियो । तर, एएफसीले शनिबार नै एन्फालाई पत्र पठाउँदै खेल दशरथ रंगशालामा नहुने र न्युट्रल भेन्यु खोज्न पत्राचार गरेको हो । 

विश्वकप छनोटको दोस्रो चरणमा नेपालसहित युएई, यमन, बहराइन र नेपाल समूह ‘एच’मा छन् । नेपालले खेलेको चारमध्ये एक खेल मात्रै दशरथ रंगशालामा खेलेको छ । एक होम म्याच बहराइनमा खेलिँदा दुई खेल युएई र बहराइनमा नै भएका हुन् ।

पाँच महिनामै बिग्रियो मैदान 
पाँच महिनाअघि दशरथ रंगशालामै विश्वकप छनोटअन्तर्गत यमनविरुद्धको खेल आयोजना भएको थियो । तर, ८ चैतमा दशरथ रंगशालामा हुनुपर्ने बहराइनविरुद्धको ‘होम म्याच’ नेपालले आयोजना गर्न सकेन । नेपालको मैदान स्तरीय नभएका कारण उक्त खेल बहराइनमै पुग्यो । एन्फा महासचिव राईले नेपालले साउदी अरेबियालाई न्युट्रल भेन्युका रूपमा प्रयोग गर्न प्रस्ताव गर्ने बताए । ‘हामी अब साउदीसँग कुरा गर्छाैँ,’ उनले भने ।

 एन्फा र राखेपबीच द्वन्द्व
पछिल्ला दिनमा राखेपले खेलकुद विकास ऐन २०७७ दफा २८ (झ) व्यवस्थाअनुसार प्रतियोगितामा भाग लिन जाने खेलाडी, अफिसियल र पदाधिकारीको भ्रमण स्वीकृति लिन ताकेता गरेको थियो । जथाभावी पदाधिकारी भ्रमण रोक लगाएपछि एन्फा र राखेपबीच सुमधुर सम्बन्ध छैन । राखेपले मलेसिया र बहराइनमा असम्बन्धित व्यक्ति पुगेको भन्दै स्पष्टीकरण मागेको थियो । त्यसैगरी, इंग्ल्यान्ड जानबाट अध्यक्ष नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडासहित २० जनालाई रोक लगाएको थियो । 

पूर्वअध्यक्षको आरोप, एन्फा नै नेपालमा खेल गराउने योजनामा थिएन
एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले वर्तमान नेतृत्वकै कारण अन्तर्राष्ट्रिय खेल आयोजनाको अवसर गुमेको बताए । ‘अन्तर्राष्ट्रिय मान्यता गुमाउने अवस्था वर्तमान एन्फाले नै सिर्जना गरेको हो । प्रतियोगिता आयोजनाको मिति पहिले नै टुंगो लागेको थियो । सोहीअनुसार राखेपसँग सहकार्य गरेर मैदानको मापदण्ड पूरा गर्न तयार हुनुपर्ने थियो । तर, एन्फाले यसमा ध्यान नै दिएन,’ शेर्पाले भने,‘एन्फा अध्यक्ष एएफसीको सदस्य हुनुहुन्छ । उहाँले चाहे युएईको खेल नेपालमै हुने थियो । तर, उहाँ सरकार र राखेपलाई दुःख दिने र खेल दशरथ रंगशालामा नगर्ने योजनामा हुनुहुन्थ्यो ।’ विदेशमा खेल आयोजना गराउँदा पदाधिकारीलाई घुमाउन पाइने भएकाले एन्फाले नेपालमा खेल गर्न नचाहेको आरोप पनि उनले लगाए ।

ad
ad
ad
ad