Skip This
नक्कली जग्गाधनी पुर्जासमेतका कागजात बनाई १९ करोड हिनामिना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ असार २३ आइतबार १९:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली जग्गाधनी पुर्जासमेतका कागजात बनाई १९ करोड हिनामिना

नौमाथि कसुर कायम, ३० असारमा सजाय तोकिने

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार १९:४२:oo

नक्कली जग्गाधनी प्रमाणपुर्जालगायतका कागजात बनाई कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिएर हिनामिना गरेको भन्दै विशेष अदालतले सजाय सुनाएको छ। आइतबार विशेषले एक वर्षअघि दायर यस मुद्दामा फैसला गरेको हो।  

यो प्रकरणमा एक कम्पनीसहित नौ प्रतिवादीमाथि कसुर कायमको फैसला भएको छ भने दुईजनाले सफाइ पाएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २१ असार ०८० मा ११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। 

विशेषले यसमा ठहरको फैसला गर्दै ३० असारका लागि सजाय निर्धारण पेसी तोकेको छ। विशेषका सदस्यहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो। 

यस प्रकरणमा मेरलायन इन्टरप्राइजेज र यस कम्पनीका उवीन्द्रराज शाक्य दोषी ठहर भएका छन्। मुक्तिनाथ गौतम, एसकुमार महर्जन र बिल्वा भूमि वन प्रा.लि.का नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाललाई पनि मुख्य कसुरदार मानिएको छ। 

मुद्दामा रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई मतियार मान्दै सजाय निर्धारण हुने भएको छ। यस मुद्दामा अनुजमणि तिमिल्सिना र स्मृति जोशीले भने सफाइ पाएका छन्। उनीहरू आफैँ सक्कली धितो भनी झुक्यानमा परेका कारण उनीहरूले ऋण स्वीकृत गरे पनि उनीहरूलाई सफाइ दिइएको कसुर ठहर आदेशमा उल्लेख छ। 

बिल्वा कम्पनीका नाममा दर्ता रहेको १२ रोपनी एक आना जग्गा डेनियल कम्पनी प्रा.लि.का नाममा रहेको भनी किर्ते जग्गाधनी पुर्जा खडा गरिएको विभागको अनुसन्धानले देखाएको थियो। उक्त जग्गा धितो राखी कुमारी बैंक न्युरोड शाखाबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। 

यस प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट समेत फैसला भइसकेको छ। मुक्तिनाथ गौतम, यशकुमार महर्जन, कुशन प्रधानसमेतमाथि कसुर कायमको फैसला भएको छ। डेनियल कम्पनीका सञ्चालकहरू गौतम र महर्जनले आफ्नो कम्पनीका नाममा जग्गा खरिद गर्न मेरलायन इन्टरप्राइजेजका उवीन्द्रराज शाक्यलाई अख्तियारी दिएका थिए। तर, उनले बिल्वाको जग्गा बिक्री गर्न भनी आफ्नो नाममा नक्कली अख्तियारी बनाई झुटा जग्गाधनी प्रमाणपुर्जासमेत खडा गरेको भेटिएको थियो। 

उक्त नक्कली जग्गाधनी प्रमाणपुर्जाका आधारमा ऋण लिइएको थियो भने रेसमबहादुर सिलवालसमेतले बिल्वाका नाममा नक्कली बैंक खाता खोले र उक्त खातामा पैसा जम्मा गरेका थिए। रकममध्ये १५ करोड रुपैयाँ भने मेरलायन इन्टरप्राइजेजको नाममा ट्रान्सफर गरेर उक्त खाता बन्द गरिएको भेटिएको थियो। 

तर, खाता बन्द गर्नुभन्दा पहिले बाँकी रहेको रकम विभिन्न व्यक्तिलाई पठाइएको थियो। उक्त खाताबाट दुई करोड ५० लाख र मेरलायनको खाताबाट पाँच करोड रुपैयाँ रामप्रसाद अधिकारीको खातामा स्थानान्तरण भएको थियो। 

नक्कली कागजातका आधारमा खोलिएको खाताबाट नौ लाख ९० हजार रुपैयाँ शोभा शाक्यका नाममा पठाइएको थियो भने एक करोड ८ लाख रुपैयाँ ईश्वर पोखरेलको खातामा स्थानान्तरण भएको थियो। उक्त रकमको प्रयोजन खुलाउन नसकेपछि विशेषले उनीहरूलाई मतियार मानेको हो। शोभा र कुशन प्रधानले नक्कली धितो राखी ऋण लिन सहयोग गरेकाे ठहर इजलासको छ। यस प्रकरणमा अधिकारी, शाक्य, पोखरेल र प्रधान मतियार ठहर भएका हुन्।