१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

त्रिवि मैदानमा फ्लड लाइट जडान गर्न नयाँ सम्झौताको तयारीमा राखेप

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:१३:oo

राष्ट्रिय खेलकुद परिषद्ले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न एक साताभित्र नयाँ कम्पनीसँग सम्झौता गर्ने तयारी गरेको छ । अहिले टेन्डर मूल्यांकन भइरहेको राखेपले जनाएको छ । निर्माण कम्पनी छनोटका क्रममा देखिएको विवादका कारण त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान गर्ने कार्य अन्योलमा परेको हो । फ्लड लाइट जडानका लागि प्रक्रिया अगाडि बढाइए पनि ठेक्का प्रक्रियामा संलग्न निर्माण कम्पनीबीच विवाद देखिएपछि निर्माण कार्य अगाडि बढ्न सकेको थिएन ।  यसअघि ठेक्का पाएको कम्पनीलाई अर्को कम्पनीले उजुरी दिएको थियो । 

त्यसपछि उच्च अदालत पाटनमा रिट दायर भएको थियो । अदालतले पुनरावेदन समितिकै निर्णय सदर गरिदियो । त्यसपछि यो मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । राखेपले सार्वजनिक खरिद पुनरावेदन समिति र उच्च अदालतको आदेशपछि पुरानो सम्झौता खारेज गरी नयाँ प्रक्रिया अगाडि बढाएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नयाँ टेन्डरका लागि २१ दिने सूचना जारी गरेको छ । राखेपले टेन्डर मूल्यांकन गरिरहेको र एक साताभित्र सम्झौता गर्ने तयारी भइरहेको सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिएका छन् । 

‘यो समय भनेको मौन बस्ने हो । एक साताभित्र मूल्यांकन भएर सम्झौता गर्ने योजनामा छौँ,’ घिसिङले नयाँ पत्रिकासँग भने, ‘कम्पनीहरूका मापदण्ड पूरा भएका छन् वा छैनन्, टेन्डर राखेका कम्पनी के–कस्ता छन्, बुझ्ने प्रक्रियामा छौँ ।’ गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिसी प्रिमियर कपको फाइनलपछि त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्न निर्देशन दिएका थिए । त्यसपछि पहिलोपटक टेन्डर आह्वान गरिएको थियो, जसमा पाँचवटा निर्माण कम्पनीले टेन्डर भरेका थिए । राखेपले फ्लड लाइट जडान गर्न २७ करोड ४० लाख दुई हजार २२ रुपैयाँमा टेन्डर आह्वान गरेको थियो ।

मापदण्ड पूरा नगरेका कम्पनीले टेन्डर भरेपछि राखेपले फेरि टेन्डर आह्वान गरेको थियो । जसमा एमएसआइपिएल–एएससी पावर जेभी, सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभी, पशुपति रोयल जेभी र इन्फा कार्की बन्धु जेभीले टेन्डर भरेका थिए । टेन्डर भरेकामध्ये सबै प्रक्रिया र मापदण्ड पूरा गरेको जनाउँदै राखेपले एमएसआइपिएल–एएससी जेभीलाई नै फ्लड लाइट जडान गर्ने ठेक्का दियो । तर, सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभीले आफूमाथि अन्याय भएको भन्दै उजुरी दियो । यो उजुरी सार्वजनिक पुनरावलोकन समितिमा पुग्यो । समितिले छानबिन गरी सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्स जेभीकै पक्षमा निर्णय दियो ।

समितिले सूर्योदय ऊर्जा–बुद्धिराज इलेक्ट्रिक्सलाई पनि समेटेर पुनः मूल्यांकन गर्न निर्देशन दिएको थियो । समितिको निर्णय चित्त नबुझेको भन्दै एमएसआइपिएल–एएससी पावर जेभीले आफूहरूले सबै प्रक्रिया पूरा गरेर ‘फ्लड लाइट’ जडानको जिम्मेवारी पाएकाले काम गर्ने पाऊँ भनी उच्च अदालत पाटनमा रिट दर्ता गर्‍यो । अदालतले सार्वजनिक पुनरावलोकन समितिको निर्णय नै सदर गरिदियो । फ्लड लाइट जडानका सम्बन्धमा टेन्डर भरेका अघिल्ला दुई पक्षबीचको मुद्दा अहिले सर्वाेच्च अदालत पुगेको छ । राखेपले त्यो सम्झौता रद्द गर्दै नयाँ टेन्डर आह्वान गरेको हो । राखेपले नयाँ टेन्डरमाथि मूल्यांकन गरिरहेको हो । फ्लड लाइट जडानका सम्बन्धमा राखेपमा कतिवटा कम्पनीले टेन्डर भरे भन्ने खुलाइएको छैन । 

राखेपका सदस्यसचिव टंकलाल घिसिङ भन्छन्–
हामीले नयाँ प्रक्रिया अगाडि बढाएका छौँ । यस अवधिमा मौन बस्नुपर्छ । टेन्डर परेका कम्पनीको मूल्यांकन एक साताभित्र गर्छौँ । यसअघि निर्माण सम्झौता भइसकेको अवस्थामा सार्वजनिक खरिद पुनरावेदन समितिमा छानबिनका लागि निवेदन परेको थियो । समिति र उच्च अदालतको आदेशपछि टेन्डर खारेज गरी नयाँ प्रक्रिया अगाडि बढाएका हौँ । 

फेरि टेन्डर रद्द भए के हुन्छ ?
पहिलोपटक आह्वान गर्दा कुनै नपरेपछि राखेपले पुनः टेन्डर आह्वान गरेको थियो । ४५ दिनपछि खोलिएको टेन्डरमा चार कम्पनीले दाबी गरेका थिए । अदालतसम्म मुद्दा पुगेपछि राखेपले सम्झौता नै रद्द गर्‍यो । त्यसपछि रिटेन्डरका लागि २१ दिनको सूचना निकालिएको छ । यसमा पनि विवाद भए पुनः सम्झौता रद्द हुनेछ । त्यसछि फेरि सात दिनको सूचना निकालेर अर्काे टेन्डर आह्वान हुनेछ । 

 

ad
ad