नेपालका लागि चिनियाँ अटो ग्रुप चांगानको अधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले इलेक्ट्रिक एसयुभी ‘दिपल एस०७’ भित्र्याएको छ । नेपालमै पहिलोपटक कारमाथि ‘थ्री डी म्यापिङ प्रोजेक्सन’ गरी आइतबार साँझ ‘दिपल एस०७’ सार्वजनिक गरियो ।
अत्याधुनिक फिचरले सुसज्जित दिपल एस०७ ले इभीको ‘इन्टेलिजेन्ट’ र ‘लक्जरियस’मा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दाबी छ । कारमा इभी डेडिकेटेड ‘इपिए१ प्लेटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ छ । ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको कारले सिंगल चार्जमा चार सय १० किलोमिटरको रेन्ज दिनेछ । दिपल एस०७ मा नेपाल भित्रिएका अन्य इभीमा प्रयोग नगरिएका दर्जनौँ नयाँ फिचर रहेका छन् ।
कारमा गीत, फोनकल र फोटो खिच्नेलगायत कामका लागि ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातको संकेतबाटै कमान्ड लिन सकिन्छ । यसमा अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले रहेको छ, जसले ‘रियल टाइम नेभिगेसन’लगायत अन्य महत्वपूर्ण सूचना दिन्छ । यो सिस्टमले ड्राइभिङ सहज मात्र बनाउँदैन, सुरक्षित पनि बनाउँछ । क्याबिनमा रहेको १५.६ इन्चको सनफ्लावर टचस्क्रिन ‘इन्टर्याक्ट’ गर्ने यात्रुतिर आफैँ फर्किन्छ ।
गाडीमा ‘वेलकमिङ सिट’ छ, जसले चालकको उचाइअनुसार सिटको पोजिसनलाई आफैँ मिलाइदिन्छ । अगाडि बनेटमा पनि सामान राख्न मिल्ने १२५ लिटरको स्पेस छ । २० इन्चको टायरले इभीलाई आकर्षक देखाएको छ । नेपालमै पहिलोपटक कुनै पनि इभीमा इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज गरी चारवटा ड्राइभिङ मोड रहेको कम्पनीको दाबी छ ।
गाडीमा रहेको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ले थप आकर्षण बढाएको छ । गाडीमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’ गरी १४ वटा सोनी स्पिकर छन् । कारभित्रको वातावरणलाई ‘कस्टमाइज’ गर्न न्याप, क्याम्प, बेबी केयर, म्युजिक लाइट सोजस्ता ‘इन्टेलिजेन्ट सिनेरियो मोड छन् । पछाडिको सिटबाट अगाडिको सिट ‘एड्जस्ट’ गर्न मिल्ने, सनसेटलाई खोल्न र बन्द गर्न मिल्ने टचस्क्रिन पनि छ ।
कारमा इन्टरेक्टिभ एडप्टिभ क्रुज कन्ट्रोलसहितको इन्टेलिजेन्ट एडास २.५, ६ एयर ब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ड्राइवर फ्याटिग मनिटरिङ सिस्टम, सेफ डिस्टेन्स वार्निङ, ट्रान्सपेरेन्ट च्यासिससहितको ३६० क्यामरा, ड्राइभ भिडियो रेकर्डर, डिस्ट्र्याक्स वार्निङलगायत सुरक्षा फिचर छन् ।
एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवालले दिपल एस०७ एउटा इभी मात्र नभएर नेपालमा इलेक्ट्रिक मोबिलिटीको भविष्य कस्तो हुन सक्छ भन्ने दृष्टान्त भएको बताए । उनले भने, ‘हामीले नेपालमा पहिले कहिल्यै नदेखिएको र अनुभव नगरिएको इन्टेलिजेन्स र इनोभेसनले भरिएको कार ल्याएका छौँ ।’ नेपाली बजारमा दिपल एस०७ को सुरुवाती मूल्य ७२ लाख रुपैयाँ तोकिएको छ । यो कार ६ आकर्षक कलरमा उपलब्ध छ ।